गुणतन्त्र र अर्थशास्त्र : शम्भु प्रकृति
कपन अनलाइन
काठमाण्डौ ,फागुन १०।
गुणतन्त्रको शाब्दिक अर्थ गुणहरुको शासन हो । यसलाई प्रष्टरुपमा भन्नुपर्दा बिज्ञ, प्राज्ञ, विशेषज्ञ, बुद्धिजीवी र विद्वानहरुको शासन हो । ज्ञानको आधारमा ज्ञानीहरुले गर्ने शासनब्यवस्था नै गुणतन्त्र हो, जुन अबको शताब्दीहरुमा सम्भव हुने कुरा हो । मानव सभ्यताको बिकास सङ्गै जब शिक्षाप्रणालीको प्रादुर्भाव भयो बिशेषगरि पूर्वीय दर्शनको आधारमा वैदिक सनातनी धारामा गुरुकुल शिक्षा र प्राचीन बिश्वबिद्धालयहरुको थालनी भयो, प्रकृतिको पूर्णरुपमा साक्षात्कार तथा अनुसरण गर्ने वेदकालीन शिक्षाको आत्मसातले ब्यक्तिको स्वाभाविक प्रकृति र गुणलाई कदर गरेर प्रथम गुणतान्त्रिक समाजलाई जन्म दियोभने त्यसैको आधारमा राज्री तथा शासन सन्चालन गर्ने पद्धतिको शुरुवात भयो ।
कालन्तरमा गुणतन्त्रलाई बेवास्ता गर्दै सत्ता र शक्तिलाई केन्द्रमा राख्ने राज्य तथा शासकहरु पैदा भैदिदा ज्ञान, प्रज्ञा, बिज्ञता र गुणहरुको महिमा ओझेलमा पर्न गए तर गुणतन्त्र मरेन । वैदिक सनातनी हिन्दु बर्णब्यवस्था अनुसार मनुष्यको चार बर्ण ब्राह्मण, क्षेत्री, बैश्री र शुद्रको अवधारणा नै गुण वा प्रकृतिको आधारमा उनिहरुको स्वभाव बमोजिम कर्म बिभाजन गरिएको थियो जुन भगवान कृष्णले अर्जुनलाई गीता प्रवचनमा पनि व्यक्त गर्नुभएको हो । यही गुण अनुसार आ–आफ्नो काम गर्नु र त्यसमा क्षेत्रीयहरुले शासन गर्नु भन्ने निर्देश भएको हो । भगवान कृष्णको शब्दमा गुण, स्वभाव र प्रकृति भन्नू नै बास्तबमा धर्म हो । उहाँको भनाइमा आफ्नो गुणधर्म अनुसार प्रत्येक मनुष्यले निस्काम कर्म गर्नुपर्छ, जसको फल आफै आउँछ ।
गुणतन्त्रको बिकासमा भगवान कृष्णको योगदान ठुलो छ किनभने चारै बर्णका मनुष्य आफ्नो कर्ममा प्रबृत भएपछि वास्तविक गुणतन्त्रको सृजना हुनजान्छ ,जसमा शासकहरु पुर्णरुपमा गुणवान् हुन्छन् । ब्रम्हज्ञानी ब्राह्मणहरु वा ज्ञानी–बिज्ञानी, विद्वत्सभाको सल्लाह–परामर्शबाट, बैश्यहरुको सहभागितामा धनार्जन सहित शुद्रहरुको श्रमले सिञ्चित राज्य वा शासन नै गुणतन्त्रद्वारा ओतप्रोत हुन्छ । यस्तो शासन चलाउने राजा वा शासक नै धार्मिक हुन्, जसको कारण धर्म, अर्थ, काम, मोक्ष प्रत्येक मनुष्यको लागि सर्वसुलभ हुन्छ । पुर्बिय दर्शन अखण्ड र समग्र दर्शन भएकोले सम्पुर्ण मनुष्यताका लागि यो ग्राह्य छ पुर्णताका लागि । मनुष्यको प्रथम ग्रन्थ वेद हो भने ‘वेद’ शब्द ‘विद’ धातुले बनेको हो, जसको अर्थ ज्ञान हो । यसैबाट विद्वान बन्यो भने बिद्या, बुद्धि, बुद्धत्व समेत बनेको छ । वेद नै गुणतन्त्रको प्रमुख श्रोत हो भने पछि वेदान्त, उपनिषद्, गीता आदिबाट ओतप्रोत भएको देखिन्छ ।
वर्णव्यवस्थाकै आधारमा मनुष्यताको विभाजन भएपनि खप्तड स्वामीका अनुसार आजको रक्त समूह एबिओ प्रणाली जस्तै प्राचीन वर्णव्यवस्था अनुसार ऋषिमुनिहरुले वर्णाश्रम धर्मको शुरुआत गरेका हुन जुन गुणतन्त्र अनुकुल छ । कृष्णको शब्दमा मुखको काम गर्ने ब्राह्मण, बाहुबल वा पाखुराको काम गर्ने क्षेत्री, गोडाको काम गर्ने बैश्य र पाउको सेवा गर्ने शुद्र हुन् । यसलाई अझै परिस्कृत रुपमा भन्ने ज्ञानको खेती गर्ने ब्राह्मण, शक्तिको खेती गर्ने क्षत्री, धनको खेती गर्ने बैश्य र श्रमको खेती गर्ने श्रुद्रहरु हुन्, जो सबै महान छन् आफ्ना धर्म र गुण अनुसार । कोही कसैभन्दा उत्कृष्ट र निकृष्ट छैनन् । ब्रम्हाद्वारा श्रीजित सबैजना संयुक्त छन् देश–समाज र जगतका लागि । वैदिक साम्यवाद भनेको पनि यहि हो राज्य र समाज नै सबैथोक हो मनुष्यताका लागि साझा गन्तव्य ।
भगवान शिवको अर्ध–नारिश्वर स्वरुपले प्रकृति–पुरुषको संयुक्त मेल भएर नै ब्रम्ह तथा ब्रह्माण्ड निरन्तर अघि बढ्ने परम सत्यलाई इङ्गित गर्दछ । बुद्धको समयमा जातपात र बर्णब्यवस्थाको विरुद्धमा शासकहरुको जिम्मेवारी गरिव तथा श्रमजीवीहरुको सेवामा आफुलाई समर्पित गर्नुपर्ने अवधारणा उनको साम्यवादी दर्शनमा झलक पाइन्छ भने वैदिक सनातनीहरुको अष्टाङ्ग योग बौद्ध दर्शनमा अष्ट मार्गको रुपमा रहेको देखिन्छ गुणवत्ता, प्रज्ञा र गुणतन्त्रको पालनको लागि ।
ओशोको शब्दमा जातीयता ठुलो रोग हो भने बर्णब्यवस्था भने मनुष्यको गुण अनुसार सुक्ष्म बिभाजन हो । उनका अनुसार मनुष्यको देह शुद्र, मन बैश्य, आत्मा क्षेत्रीय र परमात्मा ब्राह्मण हुन् । त्यसैले सम्पुर्ण मनुष्य बराबर र मौलिक रुपमा अनुपम, विलक्षण र अतुलनीय छन् । कोही उत्कृष्ट, निक्रिष्ट र बराबर छैनन् । यसलाई चिनेर व्यवहार गर्नाले गुणतन्त्र पैदा हुन्छ शिक्षाको माध्यमबाट ।
आजको दुनियाँमा जन्मिएका विश्वविद्यालयबाट पैदा हुने विज्ञहरुको बुद्धि, विवेक, ज्ञान र प्रतिभाका आधारमा उनीहरूको गुणको शासन नै गुणतन्त्रको रुपमा पाउन सकिन्छ किनभने राजतन्त्र, लोकतन्त्र, गणतन्त्र, पूंजीवाद, समाजबाद, साम्यवाद लगायतका सबै शासनब्यवस्थाहरु असफल भैसकेको अवस्था छ । त्यसो हुनाले शिक्षामा आमूल क्रान्ति गरेर गुणतन्त्रलाई स्थापित गरेमा मात्र सुफलताले गर्दा समृद्धि, विकास र सुशासन स्थापना हुनसक्छ ।
अर्थशास्त्रको क्षेत्रमा गुणतन्त्रले मात्र सहि परिणाम र क्रान्तिलाई सुनिश्चित गर्न सक्छ । उत्पादनका सम्पुर्ण साधनहरुलाई पुर्ण सक्रिय गराएर राज्य संचालन गर्नको लागि । ज्ञान, धन, शक्ति र श्रमको सम्मिश्रणबाट राज्य द्रुतगतिमा समृद्ध हुन सक्छ । यसको लागि विज्ञ र बुद्धिजीवी– विशेषज्ञहरुको प्राज्ञ–विद्वत सभाले चुनेका ब्यक्तिलाई सरकार वा मन्त्रीमण्डलको निर्माण गर्न दिनुपर्छ । जस्तै अर्थशास्त्रीहरुको मतले अर्थमन्त्री, शिक्षाशास्त्रीहरुको चुनावबाट शिक्षामन्त्री आदि । कम्तीमा स्नातक गरेकाहरुले मात्र मताधिकार पाउनुपर्छ भने जनताहरुले सांसद चुन्ने हो भने सांसदहरुले विज्ञहरु चुन्नुपर्छ । उनीहरु मन्त्री बन्नु हँुदैन र सरकार तथा मन्त्रीमण्डल पुरै गुणतन्त्रमा आधारित हुनुपर्छ विज्ञहरुको शासन । विज्ञहरु र थिङ्क ट्याङ्कको उपस्तिथिले मात्र शासन ब्यवस्था सफल हुने कुराको प्रत्याभूत गर्न सकिन्छ किनभने मानव संसाधनलाई गुणतन्त्रले मात्र पूर्णरुपमा सम्हाल्न सक्छ दक्ष जनशक्ति र श्रमशक्तिको रुपमा मानवीय पूंजीको रुपमा । त्यसैले अर्थशास्त्रको घनिष्ठ सम्बन्ध गुणतन्त्रसङ्ग रहेको पाइन्छ । मुलरुपमा शिक्षा र विज्ञताको कदर गर्ने मुलुकहरु नै गुणतन्त्रको नजिक भएर मनुष्यतालाई स्थान दिएर सर्वश्रेष्ठ भएका छन् । गुणतन्त्रयुक्त पुर्ण शिक्षाबाट अर्थशास्त्र साच्चिकै अर्थपूर्णरुपमा जन्मछ गुणतन्त्रले गर्दा भित्री र बाहिरी दुबै प्रकारको समृद्धिबाट जीवन र जगतलाई जगाउन सक्षम हुन्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक