छोरीको पहिलो उपहार : अँशु भट्ट (लघुकथा)

छोरीको पहिलो उपहार : अँशु भट्ट (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,फागुन ८।

भरखरै जन्मेकी छोरीलाई नर्सको हातमा सुम्पेर, मस्त निद्रामा परेकी श्रीमतीलाई प्रेम र गर्वले निहाल्दै, एउटा ठूलो मन्द मुस्कानसहित म अस्पतालको कोठाबाट बाहिरिएँ । मुटुभित्र कताकता एउटा अनौठो उत्साह थियो—जसरी बिहानको पहिलो घामको किरणले अँध्यारोलाई चिर्दै आकाशलाई सुनैरी रँगले पोत्छ, त्यस्तै मेरा भावनाहरू पनि नयाँ रँगमा डुबिरहेका थिए ।
बाहिर निस्कँदा अस्पतालको क्यान्टिनमा मेरी दिदी चियाको चुस्की लिँदै थिइन् । रातभर प्रसूति पीडामा साथ दिएकी उनी थकित देखिन्थिन्, तर आँखामा अपार खुसी झल्किन्थ्यो । मलाई देखेर उनले स्नेहपूर्ण मुस्कान छोडिन्—
“बधाई छ ठुले ! तँ कति भाग्यमानी छस, भन त ! उमेरैमा कहलिएको कलेजको प्रोफेसर, पहिलो सन्तान छोरा, दोस्रो सन्तान छोरी । भगवान्ले पूर्ण बनाएर पठाइदिए । ‘एक छोरा, एक छोरी’—परिवारको वरदान !”
मैले हर्षले टाउको हल्लाएँ—
“हो नि दिदी ! पहिलो सन्तान छोरी भएको भए चाहिँ मनमा अनेक सोचहरू आउँथे होला, समाजले पनि थरीथरीका कुरा गथ्र्यो । तर पहिलो छोरा भएपछि अब जे भए पनि हुन्छ भन्ने ढुक्क थियो । छोरी पाएर त झनै पूर्ण भयौँ हामी ।”
दिदीको अनुहार उज्यालो भयो ।
“अरू त छोरा–छोरा, छोरी–छोरी भनेर टिठलाग्दो कुरा गर्छन्, हाम्रो त सन्तुलन मिल्यो ! तैँले देखीस कति राम्री छे बहिनी ? बाटुलो अनुहार, चम्किलो आँखाहरू, पिठो जस्तै कोमल छाला । साँच्चै राजकुमारी जस्ती छे ।”
मैले गर्वले मुस्कुराएँ—
“हाम्रो छोरीको जीवन पनि राजकुमारीकै जस्तो हुने छ । हामी दुवै जागिरे छौँ, घर–घडेरी, सम्पत्ति सबै मिलेको छ । केहिको कमी हुने छैन मेरा छोराछोरीलाई ।”
त्यतिबेला मेरी सात वर्षीया भान्जी ढुङ्गा बटुल्दै गट्टा खेलिरहेकी थिई । उसको सानो हातले माटो सुम्सुम्याइरहेको थियो । म उत्साहमा बोलीहालेँ—
“साँच्चै नै निकै सुन्दर छ मेरी छोरी, यसले राम्रो कुलघरानको सफल केटा पाउने छे । मलाई यसको बिहेको आजैबाट तानाब छैन ।”
त्यसैबेला, मेरा शब्द सुनेर दिदीको मुस्कान एकाएक मलिन भयो । उनले आफ्नी छोरीलाई एक पल हेरिन्, अनि मेरो आँखामा टोलाइन् । उनका आँखाहरूमा अनकन्टार मौनता थियो—एउटा गहिरो पीडा लुकाइएको थियो । म अनभिज्ञ थिएँ, तर त्यो मौनता मेरो अन्तरात्मासम्म टासियो । अचानक, मैले नवजात छोरीलाई सम्झेँ । यदि उसले कुनै दिन आफ्ना बाबुको पहिलो शब्दहरू सुन्न पाई भने, के गर्व गर्ने छे ? कुनै दिन उसले सोधी भने—
“बाबा, जब पहिलो पटक मलाई देख्नुभयो, के सोच्नुभयो ?”
के म त्यो दिन मेरो शिर लज्जाले झुकाएर बस्नेछु? के छोरीले आफ्ना बाबुको शब्द सुनेर आफ्नो सौन्दर्यको घमण्ड गर्ने छे, या आफ्नो अस्तित्व विवाह र ‘राम्रै केटा’ मा मात्र भेट्ने छे?
मेरो सात वर्षीया भान्जीले कुनै दिन थाहा पाई भने कि म पनि समाजकै जस्तो सोच राख्ने एउटा पात्र हुँ, के ऊ मलाई उस्तै नजरले हेरिरहने छे ? के उसले पनि जिन्दगीभर कुरुपताको विष पिउनुपर्ने त हैन ?
मैले आँखाले भान्जीलाई खोजे—ऊ खेलमै मग्न थिई, उसको कपडामा माटो र धुलो मिसिएको थियो, तर मुस्कानमा सारा आकाश अटाउने उज्यालोपन थियो । ऊ धर्ती छोइरहेकी थिई, आफ्नै सँसार बनाइरहेकी थिई । म छाँगाबाट खसेझैँ भएँ ।
मैले थाहा पाएँ—म भित्र कतै समाजको पुरानो सोच ज्यूँदो थियो । एउटा बाबुको रूपमा मैले आफ्नी छोरीलाई पहिलो उपहार सौन्दर्यको परिभाषा दिन खोजेछु, अस्तित्व होइन ।
त्यही क्षण, मैले निर्णय गरे—मेरो छोरीको पहिलो उपहार उसको सौन्दर्य वा विवाहको आश्वासन होइन, उसको स्वतन्त्रता हुनेछ। जब ऊ ठूली हुनेछे, ऊ आफैँले आफ्ना सपना कोर्नेछे, आफ्नै आकाश रँगाउनेछे ।
म उठे, मोबाइल निकाले, अनि अस्पतालको कोठातर्फ पाइला चाले—छोरीसँग पहिलो पल भेट्न । तर, यसपालि मेरो सोचाई र शब्दहरू नयाँ हुनेछन् ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।