प्रेम रोग : आचार्य प्रभा ( लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,फागुन ८।
दिँउसो ३ बजेतिर श्रीमानले गुलाबको फूलको बुक्के र हिराको औँठी उपहार दिँदै गालामा मिठो म्वाई थमाएर भने । –“बुढी धेरै धेरै माया । ह्याप्पी भ्यालेण्टाइन्स डे । सरि आज तिमीलाई समय दिन सकिनँ । बिनोद बिरामी भएर हस्पिटल जानु परेकोले । म भर्सक छिट्टै फर्कन्छु । केही खाने कुराहरु पनि म बाहिरबाटै ल्याउँछु, सँगै बसेर खाउँला । अहिले म लागँेँ ।”
यति भनेर ऊ चिटिक्क परेर निस्क्यो । देख्दा यस्तो लाग्थ्यो ऊ हस्तिपटलतिर गएको नभई कुनै बृहत पार्टी, भोजमा गएको हो ।
रातको २ बजेसम्म पर्खिँदा पनि श्रीमानको अत्तोपत्तो नभएपछी उसले बिनोदको मोबाईलमा फोन गरी । केहीबेरसम्म फोन उठ्न ढिला भए पनि फोन उठ्यो । उसले आफ्नो श्रीमानको बारेमा सोधी र हस्पिटल जानुको पूर्ण विवरण बताएपछी बिनोदलाई पनि नमिठो झट्का लाग्यो तर उस्ले आफ्नो तर्फको केही भनेन । उस्ले फोन राख्दियो र सोँच्न थाल्यो । आखिर उस्की श्रीमतीले पनि उस्तै कुरा भनेर साँझको ७ बजेतिर निस्किएकी थिई ।
ढोका ढक्ढक्याएको आवाजले बिनोद ढोका खोल्न आउँदा आफ्नी श्रीमती र मित्रजी (बिनोद )नशामा ध्रुत थिए । बिनोदले उनीहरुलाई कुनै प्रतिकृया नदेखाई मित्रकी श्रीमतीलाई आउन भनेर फोन गरे । उनी आत्तिएर के भयो त्यस्तो ? मलाई किन बोलाए ? भनेर बिहानीपख त्यहाँ आउँदा आफ्नो श्रीमान र बिनोदकी श्रीमतीको दुरावस्था देखेर अचम्भित सीमा बनिन् । उनीहरु मुक दर्शक बने । उन्ले यति मात्र भनिन् । – “हस्पिटल कहिलेदेखी भट्टी भयो ? बिनोदजीलाई रोग लागेको होईन रहेछ । प्रेम रोग त तँपाईलाई लागेको रहेछ । त्यसैले हस्पिटल जान आवश्यक परेछ ।” यति भनेर उनी फरक्क फर्किन् ।
बिनोदले ती दुई मायालु जोडीलाई आशिर्वाद दिँदै भने – “यो नयाँ जोडीको जीवन आजीवन निश्छल, निष्कलँकसँग बितोस् । अब यहाँहरु जान सक्नु हुन्छ । म यो सुखद जोडीको बाधक बन्न चाहन्नँ ।”
तबमात्र ती मायालु जोडीको होस् खुल्यो । तबसम्म ढिलो भई सकेको थियो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
