बुष्टिङ्ग बुढानीलकण्ठ याने, बुढानीलकण्ठलाई बढावा दिऊँ : महेन्द्र चालिसे

बुष्टिङ्ग बुढानीलकण्ठ याने, बुढानीलकण्ठलाई बढावा दिऊँ : महेन्द्र चालिसे

कपन अनलाइन

काठमाण्डौ ,माघ १९।

सायद डेढ – दुई महिना अघि हुनुपर्छ, विहानै फेसबुक खोल्छु । त्यस्मा एउटा सूचना थियो जुन सुचना कपन बानेश्वर साहित्यिक साप्ताहिकका सम्पादक निवन्ध आचार्यको थियो । सूचनामा लेखिएको थियो “यही २०८१ पौष १३ गते शनिवार बुष्टिङ्ग बुढानीलकण्ठको आयोजनामा बुढानीलकण्ठबाट स्रष्टाहरुले २–३ घण्टा पैदल हिंडेर घुम्ति कवि गोष्ठी आयोजना हुँदैछ ।”
के हो यो बुष्टिङ्ग बुढानीलकण्ठ ? बुष्टिङ्गको अर्थ क्याम्व्रिज एड्भान्सड् लर्नर डिक्सनरी अनुसार त केही चिज वस्तुलाई सुधार गर्नु, अथवा बढाउनु हुन्छ क्यार । त्यसैले सायद यस कार्यक्रम अनुसार बुढानीलकण्ठ क्षेत्रको प्रवर्धन  गर्ने, बढावा दिने उद्देश्यले र अझ भन्ने हो भने यसको व्यापक प्रचार प्रसार गर्ने उदेश्य राखेर “ बुष्टिङ्ग बुढानीलकण्ठ, स्रष्टाहरुसँग पदयात्रा” अभियान चलाएको हुनुपर्छ ।
बुष्टिङ्ग बुढानीलकण्ठ, स्रष्टाहरुसँग पदयात्राले कार्यक्रम आयोजना गर्ने भनेकैदिन अर्थात् २०८१ पुष १३ गते मेरो नयाँ नियात्रा सँग्रह लेकबेंसीका सुगन्ध पुस्तकको लोकार्पण मण्डनदेउपुर स्थित जोगीटार माझी गाउँमा जहाँ बसेर यशस्वी साधक रमेश विकलले आफ्नो कालजयी उपन्यास “अविरल वग्दछ इन्द्रावती” लेख्नु भएको र सोही स्थानमा अविरल वग्दछ इन्द्रावती टेली सिरियलको छायाङ्कन समेत भएको थियो, गर्ने कार्यक्रम तय भएर लगभग यातायात, खाना र जाने साहित्यकारहरुको नाम समेत तय भैसकेको थियो । त्यस्तोमा आफ्नै छिमेकको नगरपालिकाका र आफुु सम्बद्ध साहित्यिक संस्था घुम्ति कवि गोष्ठीले कार्यक्रम गर्न लागेको सूचना पाएपछि केही अन्यौल त महसुस भयो, किनकि जुधाएर कार्यक्रम गर्दा सहभागी साहित्यकारहरुलाई कता जाने भन्ने दोमन पक्कै हुन्छ नै ।
सूचना पढ्नासाथ निवन्ध आचार्यलाई फोन गरेर मेरो कार्यक्रम छ त्यस्मा तपाईंहरुको पनि नाम राखिएको छ, यस्को संयोजन रचना पत्रिकाका सम्पादक प्रतिक घिमिरेले गरिरहेछन् तर कार्यक्रम जुध्यो के गर्ने ? भनें ।
“ल दाइ फसाद प¥यो नी, माझि गाउँ त हामि पनि जानुपर्छ नि । दाजुले पहिला लग्नु हुँदा पनि कोरोनाको कारण जान पाइएन । दाइले एकपल्ट बुष्टिङ्ग बुढानीलकण्ठका संयोजक हाम्रो पुण्यराज पुडासैनीसँग यो कुरा राख्नोस न, अनि उहाँले हाम्रो कार्यक्रम रोकेर अर्को मितिमा गर्नुहुन्छ नि । दाइको कार्यक्रमसँग जुधाउने त कुरै भएन नी ।” यति भनेर निवन्धजीले पुण्यराजजीको फोन नंवर दिनुभयो र मैले पुण्यराजजीसँग फोन सम्पर्क गरें र आप्mनो कार्यक्रमको बारेमा कुरा राखें । पुण्यजीसँग मेरो प्रत्यक्ष सम्पर्क थिएन उही यसो, साहित्यको माध्यमबाट मात्र सम्पर्क थियो उहाँ कपन अनलाइनसँग सम्बन्धित हुनुहुन्छ र जहाँ बेला बेलामा मेरा लेखहरु पोष्ट गरिदिनुहुन्छ । मेरो कार्यक्रम सुन्नासाथ उहाँले सहर्ष आफ्नो तय भैसकेको कार्यक्रम स्थगन गरेर मेरो पुस्तक लोकार्पणलाई सहयोग गर्नुभयो र २०८१ माघ १२ गतेको “बुष्टिङ्ग बुढानीलकण्ठ स्रष्टाहरुसँग पदयात्रा” कार्यक्रम त्यही पुष १३ गते स्थगित भएको कार्यक्रम हो ।
पुण्यजीसँग कुरा भएपछि मैले तुरुन्तै निवन्धजीलाई खवर गरें र पुण्यजीसँगको वार्तालाप सुनाएं त्यसपछि निवन्धजीले एउटा प्रस्ताव राख्नुभयो– दाइ, त्यसदिन घुम्तिको १४५ औं श्रृंखला, बुष्टिङ्ग बुढानीलकण्ठले आयोजना गर्ने थियो, त्यो कार्यक्रम सरेपछि अव दाइको कार्यक्रममै घुम्तिलाई आधाघण्टा फोरम दिनुपर्ला । श्रृङ्खला टुटाउन भएन त । त्यस्को लागि दाइले घुम्तिका पनि केही साथीहरुलाई वोलाइदिनुपर्ला । अध्यक्ष वाहिर हुनुहुन्छ, त्यसैले रामकुरमा पण्डित त्रिलोचन आचार्य, परशुराम पराशर र कृष्ण सुवेदीलाई चाहिं नछुटाइ दिनुहोला, मलाई त दाइले लगिहाल्नुहुन्छ । अनि सिट पुगेमा पुण्यराजजीलाई पनि भन्नु हुन्छ कि ? निवन्धजीको सल्लाह अनुसारको नाउँमा परशुराम पराशर त्यस अघि नै श्रष्टा पदयात्रामा माझीगाउँ गै सक्नुभएकोले उहाँको नाउँ राखेको थिइन, अरुको नाउँ त राखिसकिएको थियो । पछि शारदा पराजुलीले म पनि जानुपर्छ भन्नुभएकोले नाम समावेश गरिएको थियो तर जानिवेलामा निवन्धजीको सिफारिशका कोही पनि जानु भएन । घुम्तिको प्रतिनिधित्व गरेर सिँगै निबन्धजी जानुभएको थियो र अरु श्रष्टा त १००यौं जाना भैहाल्नुहुन्थ्यो । निबन्धजीले घुम्तिको १४५औं श्रृंङ्खला अविरल वग्दछ इन्द्रावती उपन्यासमा उल्लेख भएको” माझीहरुको पित्रो उतारने चौतारी” मा घुम्तिकवि गोष्ठी संचालन गर्नुभयो ।
५ वर्ष अघि बुष्टिङ्ग बुढानीलकण्ठ, बुढानीलकण्ठ नगरपाालिकाका केही युवाहरु त्यसमा पनि प्रमुख युवा द्वय पुण्यराज पुडासैनी र आशिष गुरागाईंले सुरु गरेको अभियानलाई रविन अधिकारी लगायत अन्य साथीहरुले काँध दिएर आफ्नै ब्यक्तिगत प्रयासमा बिभिन्न समुहहरुको पदयात्रा गराई रहेको श्रृङ्खलामा यो ५औं श्रृङ्खला साहित्यकारहरुसँग राखिएको थियो । निश्चय नै साहित्यकारहरुले बुष्टिङ्ग बुढानीलकण्ठको उद्देश्यलाई आत्मसात गरी आफ्नो बुताले भ्याएसम्म आफ्नो रचना मार्फत बुढानीलकण्ठ क्षेत्र लगायत यस अभियानलाई प्रबर्धन गर्नेछन् भन्ने आस त यो अभियानले पक्कै राखेको हुनुपर्छ र राख्नुपनि पर्छ ।
म साहित्यको विद्यार्थी भए पनि खासै कविता लेख्ने गर्दिन र लेख्दिन पनि । जव यो कार्यक्रम माघ १२ गते गर्ने, घुम्ति कवि गोष्ठि पनि हुन्छ, कविता पढ्ने चाहना हुनेले नाम लेखाउनु भन्ने आसयको स्टाटस निवन्धजीको फेसबुक वालमा हेरेपछि मैले तुरुन्तै एउटा कमेन्ट गरिहालें “कविता नभन्ने र नलेख्ने चाहिं जान नपाउन ? भनेर । अनि निवन्धजीले त्यस्को जवाफमा “त्यसो भए त म नै जान पाउन्न नी त दाइ ।” त्यसपछि पुषको ३० गते निवन्धजीको एउटा मेसेज आउँछ “बुढानीलकण्ठ जानेमा दाइको नाम पनि राखें है” भनेर मैले हुन्छ, तर मसँग भाउजु लगायत अरु ४–५ जना आउन खोज्छन् । त्यसैले नाम दर्ता शुल्क लिने गरौं, संस्थालाई पनि केही फण्ड सँकलन हुन्छ र आउनेलाई पनि हिनत्वबोध (जो सुनाउने र लेख्ने गर्दैनन) हुँदैननी” भनें । तर निवन्धजीले प्रवेश शुल्क चाहिं नलिने दाइ, दाइसँग आउने ४–५ जना ल्याउनु भए हुन्छ, उहाँहरुको नाम र फोटो पठाइ दिनोस्न भन्नुभयो र आरुबारीबाट हामि ७ जनाले त्यस दिनको बुष्टिङ्ग बुढानीलकण्ठले आयोजना गरेको श्रष्टाहरुसँग पैदल यात्रा ग¥यौं ।
विहान साढे सात वजे मन्दिर परिसरमा जम्मा भएका स्रष्टाहरुलाई बुढानीलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा जो आपैंm पनि कवयत्री हुन्ले स्वगत गरेर सुरु भएको पदयात्रा स्वामी चन्द्रेशको समाधी स्थल उनैंले स्थापना गरेको विद्याश्रम र खप्तडबाबाको समाधी अवलोकन गरेर त्यहाँबाट पानी मुहान, शिवपुरी निकुञ्ज भित्र भित्रै विष्णुद्वार जाने बाटो हुँदै विभिन्न समुह समुहमा बाटोभरि प्राकृतिक दृष्यहरुको मनमोहक तस्विर आफ्ना मनमा सजाउँदै र मोवाइलको क्यामरामा वन्द गर्दै बाटोमा गीतहरु गाउँदै नाच्दै बुढानीलकण्ठ वडा नं. ५ डाँडागाउँ स्थित दोर्जे लामा जो बुष्टिङ्ग बुढानीलकण्ठको प्रमोटरहरु मध्येकै एक हुन् को होमस्टेमा विहानको खाना खाएर उनकै घरको आँगनमा श्रष्टाहरुले कविता वाचन गरेर घुम्ति कवि गोष्ठिको १४६ औं श्रृङ्खला पूर्ण गरे । उक्त श्रष्टाहरुसँगको पदयात्रामा ६५ जना श्रष्टाहरु शिवपुरी निकुञ्ज प्रवेश गरेर पैदलनै कार्यक्रम स्थलसम्म पुगेका थिए भने, ३–४ जना मन्दिरबाट गाडिमा गए र १२–१३ जना सायद राजनितीकर्मी र अरु आयोजक तर्फबाट पछि–पछि पनि आउँदै गरेर कुल ८२ जनाको सहभागिता थियो ।
दोर्जे लामाजीको होमस्टेमा मिठो खाना खाएपछि सुरु भएको घुम्ति गोष्ठीमा सायद ५१–५२ जनाले (यकिन संख्या मलाई थाहा भएन किनकि कार्य व्यस्तताको कारण पौने ४ वजे म लगायत मसँग जाने साथीहरु कार्यक्रम छोडेर त्यहाँबाट हिंड्यौं) कविता पाठ गरेका थिए ।
बुढानीलकण्ठ, धार्मिक र पर्यटकीय हिसावले यो क्षेत्र त निकै प्रख्यात छ । काठमाण्डौं उपत्यकाको उत्तर तर्फ शिवपुरी डांडाको फेदीमा रहेको यो मन्दिरमा हरिवोधिनी एकादशीको दिन ठूलो मेला लाग्ने गर्छ । अनि अर्को रमाइलो कुरा त बुढानिलकण्ठको मुर्ति कस्ले र कैले वनाएको भन्ने पनि थाहा छैन भन्छन् । अनि राजाको पालामा अर्थात् राजाले शासन गरेको वेलामा कुनै पनि राजा यो मन्दिर भित्र पसेर दर्शन गर्दैनथे।

बुढापाकाहरुलाई बुढानिलकण्ठको मूर्तिका बारेमा सोध्योभने उनीहरु बिभिन्न किंवदन्तीहरु सुनाउछन् । जस अनुसार एउटा किसानले आफ्नो खेत खन्दा माटो सँगै रगत देखा प¥यो रे । त्यसपछि त्यो ठाउँमा खन्दा एउटा ठुलो मू्र्ति निक्लियो रे त्यो मूर्तिको औंला तासिएर रगत आएको हो रे ।

त्यसैगरी देवमाला वंशावलीमा राजा ऋषभदेवले बुढानिलकण्ठको स्थापना गरेको कुरा उल्लेख छ तर उनले खेतमा खन्दा भेटिएको त्यही मूर्तिलाई स्थापना गरेको हो वा नयां मुर्ति बनाउन लगाए त्यो चाहिं प्रष्ट छैन ।

त्यसैगरी द्वापरयुगमा सूर्यकेतु नामका राजा शिवपुरी क्षेत्रमा राज्य गर्थे रे उनी हरेक दिन नारायण भगवानको दर्शन गर्न जान्थे रे । जब उनी बुढो र कमजोर भए, एकदिन उनले भगवानसँग प्रार्थना गर्दै अव भगवानको दर्शन गर्न आउन नसक्ने बताएपछि भगवान खुसी भएर तिमी आउनू पर्दैन म तिम्रै क्षेत्रमा स्थापित हुन आउँछु भनेर राजालाई पठाए रे । त्यसपछि भगवान विष्णुले विश्वकर्मालाई वोलाएर हाल बुढानिलकण्ठमा रहेको मुर्ति वनाउन लगाएर त्यहाँ स्थापित भए रे ।

राजा भोलिपल्ट त्यहाँ दर्शन गर्न जाँदा राजालाई त्यो मूर्ति चित्त नबुझेकोलmे भगवानसँग विवाद भयो रे । त्यसपछि ल, भैगो तिमिलाई चित्त नबूझेको भए, तिमी जाउ र आयन्दा तिम्रा सन्तान दर सन्तानले यहाँ प्रवेश गरेर दर्शन नगर्नु गरेमा तिमिहरुको अनिष्ठ हुनेछ भनेर श्राप दिएकोले राजाका खलकले त्यहाँ प्रवेश गर्ने गरेका छैनन् रे ।

त्यसैगरी पहिला पहिला यो बुढानिलकण्ठक क्षेत्र स्वास्थ्यकोलागि पनि निकै चर्चित थियो । यो क्षेत्रको हावापानी टिबि रोगकोलागि सारै स्वस्थ्यबर्धक मानिन्थ्यो त्यसैले यहा नेपालकै पहिलो टिबि अस्पताल खोलिएको थियो ।

कार्यक्रम चलिरहेको थियो, आगन्तुकहरुको आउने क्रम चलिरहेको थियो, त्यो देख्दा कार्यक्रम ४ वजे सक्ने भनेपनि ५ नाघ्ने जस्तो अनुमान गरें । त्यसैले त्यहाँबाट छोटो बाटो फर्कंदा कति समय हिंड्नुपर्ला भनेर स्थानीयहरुसँग सोधपुछ गर्दा बढीमा आधाघण्टा भन्ने जवाफ पाएपछि पौने चारतिर निबन्धजीलाई भनेर हामी त्यहाँबाट पैदल हिंड्यौं । के को आधा घण्टाले मान्थ्यो हामिलाई मन्दिर आइपुग्न ठ्याम्मै डेढ घण्टा लाग्यो । थकाइले लखतरान भएर मन्दिर आइपुगियो– बुष्टिङ्ग बुढानीलकण्ठको आयोजनामा सम्पन्न स्रष्टाहरुसँगको पदयात्रामा सहभागी भएर । देश विदेश धेरै घुमियो हिंडियो तर यो कार्यक्रममा सहभागी हुँदाको अनुभव र मिठो थकान सायदै यसअघि अनुभव गरियो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।
Close