भोकको पर्वाह : हेमराज अधिकारी (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,माघ १८।
सीतारामले अचम्मित हुँदै आफ्नो आँखाको भुलभुलाउनु हटाउन फेरि एकपटक आँखा मिचे । आँखा अगाडि देखिएको दृश्यले उनलाई झन् अविश्वासको भावले घेरेको थियो । जंगलको बीचको चौरमा बाघले मृगलाई आँसु झार्दै चाटिरहेको थियो ।
थोरै तलपट्टि भालू र बाख्रा एकअर्कासँग शान्तिको सास फेर्दै बसेका थिए । हात्ती, उँट, सिंह, जरायो, बदेंल एकै झाडीबाट सामूहिक रूपमा निस्किए । ती सबै एकै ठाउँमा बसेका थिए, कोही कसैसँग डराएको थिएन ।
सीतारामलाई जन्तुको डर थिएन, न त जन्तुलाई सीतारामको । उनको संकेतमा गाउँलेहरू भेला भए । वनको यस्तो अनौठो दृश्यले सबैलाई छक्क पार्यो । मानिसहरूले एकअर्कासँग कुरा गर्दै अन्दाज लगाए, केहीले सत्य युग फर्किएको भने, अरूले यो सपनाको कुरा भने ।
गम्भीर मुद्रामा सीतारामले सबैलाई सम्बोधन गरेको विषयले नयाँ तहल्का मच्चायो ।
“वनको डढेलो लाग्दा प्राण बचाउने संकट हुन्छ, त्यतिबेला कसैलाई भोकको पर्वाह हुँदैन ।”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक