नासो : इन्दिरा देवकोटा (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,माघ १८।
“खाना त खासै राम्रो थिएन ।संस्कार र व्यवहार गर्न पनि नजानेका गतिला परिवार रहेनछन् ।” बेहुली भित्र्याएपछि कसैले भन्यो ।
बिबाहको खर्च, जन्ती सम्मान, सम्धी भेट, दाइजो आदिको चर्चा पनि चलिरहेको थियो । जÞिन्दगीको नयॉ अध्याय सुरु गर्न कम्मर कसेकी बेहुली भित्रबाट सबै सुनिरहेकी थिइन् ।
उनी सोच्दै थिइन्, “नयॉ ठाउँ, नयॉ परिवार ! यसै म पीडामा छु त्यसमाथि यस्ता अपाच्य कुरा ! आखिर कसले दिएर कसलाई पुग्छ र ? भन्ने कुरा पनि नबुझ्ने रहेछन् ।”
नारी आवाज सुनियो, ‘जे जसो भएपनि सबै दङ्ग पर्ने गरेर गहना त हाम्रोबाट टन्न थिए है !’
अर्को नारी आवाजले भन्दै थियो, “आमाको बाला र मेरो छड्के तिलरी भोलि बिहान माग्नु पर्ला ।”
सहन नसकेपछि बेहुली सुक्क सुक्क रुन थालिन् । आफैलाई प्रश्न गरिन्, “आफ्नो नभएपछि मानिस किन अरूको मागेर दुनियॉलाई देखाउने काम गर्छ ?”
रात छिप्पिदै थियो । बाहिर पारिवारिक बैठक सकिएको थिएन ।
बुहारीले हातका बाला र गलाबाट छड्के तिलहरी निकालेपछि घुम्टी ओडिन् र सरासर बैठक चलिरहेको ठाउँमा पुगिन्।
सबै मुखा मुख गर्न थाले ।
“जाऊ, आराम गर । किन यता आएकी ?” सासूको ठाडो आदेश आयो ।
उनले गहनाको पोको दिँदै भनिन्, “हजुरको नासो मबाट हराउँला कि भनेर बुझाउन आएँ ।”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक