इम्पेरियल वर्ल्ड स्कुलमा दोस्रो काठमाडौँ साहित्य महोत्सव सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,माघ १८।
बुढानीलकण्ठ नगरपालिका वडा नं ७ हात्तिगौडामा रहेको इम्पेरियल वर्ल्ड स्कुलमा दोस्रो काठमाडौँ साहित्य महोत्सव सम्पन्न भएको छ ।
माघ १७ र १८ गते दुई दिन आयोजना गरिएको महोत्सवको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीरहेका थिए । कार्यक्रममा बोल्दै उनले नगरपालिकामा रमाइलो शुक्रवार कार्यक्रम अगाडी बढाएको र विद्यार्थीलाई आफ्नो खुट्टामा आफै उभ्याउनका लागि यस्ता कार्यक्रमले सहयोग पुग्ने बताएका थिए ।
महोत्सवको पहिलो दिन साहित्य र कलाको माध्यमबाट बालबालिकाको सृजनशील भविष्यको निर्माण सम्बन्धी प्यानल छलफलको आयोजना गरिएको थियो । छलफलका प्यानलिस्टमा शिक्षाविद् प्रा।डा विद्यानाथ कोइराला, बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामा, चलचित्र निर्देशक तथा लेखक प्रकाश सायमी र टिभी निर्देशक तथा निर्माता अमन प्रताप अधिकारी रहेका थिए ।
सो अवसरमा स्कुलका प्रधानाध्यापक जुनीता शाही कार्कीले विद्यार्थीहरूलाई नेपाली र अङ्ग्रेजी दुवै भाषामा कथा, गीत, कविता लेखन, नाटकमा अभिनय तथा चित्र बनाउने कलाको विकासमा निखारता ल्याउन सहज होस भन्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताइन । उनले यस विद्यालयका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरी सक्षम नागरिक बनाउन सहयोग होस भनेर हरेक वर्ष काठमाडौँ साहित्य महोत्सवको आयोजना गर्दै आएको जानकारी दिइन।
साहित्य महोत्सवमा कला, भाषा, कथा कविता लेखन, नाटक, मिडिया तथा सामाजिक सञ्जालले पारेको प्रभाव लगायतका विभिन्न क्षेत्रका २५ जना विज्ञहरूले विद्यार्थीसँग सम्बन्धित विषयमा विशेष अन्तरक्रिया तथा वर्कसप गरिने र विद्यार्थीहरूले बनाएका विभिन्न चित्रहरूको प्रदर्शनी रहेको इम्पेरियल वर्ल्ड स्कुलले जनाएको छ ।
उक्त अवसरमा विद्यालयका बालबालिकाहरूले नै लेखेको नेपाली भाषाको कविता सङ्ग्रह पल्लव र अङ्ग्रेजी भाषाको इकोज अफ द वन्डरफुल माइण्ड नामक पुस्तकको विमोचन गरिएको थियो । साथै नेपाली कला संस्कृति झल्किने सामाग्रीहरू, गणित विषयमा प्रयोग गरिने विधिहरूका सामाग्रीहरूका साथै विद्यार्थीहरूले बनाएका विभिन्न चित्रहरू प्रदर्शनमा राखिएको थियो ।