आशा : त्रिलोचन आचार्य (कविता )

आशा :  त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,माघ १४।

निराशा कुरेको भयो वर्ष धेरै
सधैँ हात रित्तो जुटायो अँधेरै
न उत्साह जाग्यो न आशा जगायो
गले हात गोडा र छाती जलायो ।१।

न बाँझो खनी खेतबारी सजाएँ
न ता बाँसुरी तालमा नाच्न पाएँ
गरी काम राम्रो न पाएँ कमाई
भयो व्यर्थ झैँ जिन्दगानी मलाई ।२।

सधैँ घाम उठ्दा सुतेकै म हुन्थेँ
हुँदा पूर्णिमा त्यो नहेरी म रुन्थेँ
गरेँ भाग्य यस्तो भनी झन् विलाप
भयो त्रासकासाथ मुद्दा मिलाप ।३।

भयो मात्र खाल्डो विनाराजमार्ग
भयो मात्र सास्ती कतै छैन गर्व
सबै पूmल बास्नाविना खै सुवास ?
निराशा उठी गर्न खोज्थ्यो हतास ।४।

विमारी बढी औषधीले झरेन
अनेकौँ गरेँ खै समस्या टरेन
थिची नित्य छाती गलामै समायो
विनाआत्मउर्जा सबै गड्बडायो ।५।

चनाखो बनी हिँड्नु नै चेतना हो
र वाधासँगै भिड्नु नै श्रेष्ठता हो
नबुझ्दा नबुझ्दै याम सारा गएछ
सबै शक्ति भर्ने त आशा रहेछ ।६।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।