विशाल नेपाल र अर्थशास्त्र : शम्भु प्रकृति

विशाल नेपाल र अर्थशास्त्र : शम्भु प्रकृति

कपन अनलाइन

काठमाण्डौ ,माघ ५।

पौष २७ गते (११ जनवरी) पृथ्वीनारायण शाह या भनौँ आधुनिक नेपालका राष्टनिर्माताको ३०३ औँ जन्मजयन्ती र राष्टिय एकता दिवस हो।यस दिनमा कसैले चाहेपनि नचाहे पनि उनलाई सम्झना गर्नैपर्छ आ–आफ्नो दुनो सोझ्याउन वा भनौँ डम्फु बजाउन । साँचो मनले पृथ्वीनारायण शाहलाई सम्झने र उनको आधुनिक नेपालको इतिहासमा भएको योगदानलाई कदर गरेर उनको दिव्य आलोक वा उपदेशमा हिड्नेहरूको संख्यामा कमी देखिन्छ । त्यसको एउटा प्रमाण नेपालबाट राजसंस्थाको बिदाइलाई लिन सकिन्छ जुन नेपाली जनताले चाहेका थिएनन् र २०६२÷६३ को आन्दोलनको त्यो जनमत पनि थिएन । पृथ्वीनारायण शाह र उनको योगदानलाई सरासर धुमिल पार्ने कार्य नै तथाकथित आयातित गणतन्त्रबाट भयो । दरवार हत्याकाण्ड र त्यसपछि राजसंस्थाको अन्त्य नेपाली जनमतलाई झुक्याएर तथाकथित संविधानसभाको आडमा गणतन्त्रको घोषणा गर्नु नेपाल र नेपालीको स्वाभिमानलाई सदाको लागि गिराउने कार्य थियो । हाम्रो सनातन अस्तित्वलाई नामेट पार्ने कदम । नेपालको सनातन इतिहासमा पृथ्वीनारायणको एकीकरण निकै ठुलो युग परिवर्तनको घटना थियो । वैदिक कालमा नै नेपाल नाम भएको मुलुकको अस्तित्व थियो जुन ज्ञान, ध्यान, तपस्या र साधनाको केन्द्र थियो । वैदिक तथा पूर्वीय आर्यदर्शनको मान्यता अनुसार नेपाललाई सत्य युगमा सत्यवती, त्रेता युगमा मुक्तिसोपान, द्वापर युगमा तपोवन र कलियुगमा नेपाल भनिएको हो । कलियुग भन्नाले महाभारत काल लगत्तैको समय हो । भन्नाले नेपाल नाम कम्तीमा ५००० बर्षभन्दा बढी पुरानो छ ।
नेपाल एकीकरणलाई पृथ्वीनारायण शाहले अघि नबढाएका भए आधुनिक समयमा हाम्रो अस्तित्व रहने थिएन भने हामी अङ्ग्रेजÞहरूको गुलाम हुन्थ्यौ । यसमा कसैको दुईमत हुन सक्दैन । वैदिक कालमा सिङ्गो हिमालय क्षेत्र नै नेपाल थियो भने खश्मिर वा कश्मिर नेपालमै पर्दथ्यो । अफगानिस्तानदेखि बर्मासम्म नै यो फैलिएको थियो । चाणक्यको समयमा आसामदेखी कश्मिरसम्म नेपालको सिमाना थियो ।त्यसपछी पनि लगभग त्यही नै आकार नेपालको थियो भने मध्यकालीन समय वा बार्हौ शताब्दीमा प्राचीनकालको विशाल नेपाल त्रिशक्तिमा टुक्रियो, जसमा नागराजको खशमल्ल राज्य, सिम्रौनगढ र केन्द्रीय नेपाल वा काठमाडौँ उपत्यका र आसपासका राज्य गरेर । नागराजको राज्य जुम्लाको सिंजा उपत्यकालाई राजधानी बनाएको दोश्रो खश साम्राज्य थियो कुमाउ–गढबाल,मानसरोवर र तिब्बतको गुगे प्रदेशसहित । यसैगरी सिम्रौनगढ प्राचीन मिथिलाक्षेत्रलाई सम्झौउने हिन्दु अधिराज्य थियो । नान्यदेवद्वारा स्थापना गरिएको । बिचको काठमाडौं उपत्यका वा नेपाल अधिराज्य निकै समृद्ध थियो। खस मल्लराज्यबाट अनेकौँ पटक र बङ्गालका मुसलमानी सुल्तान समसुद्दिन इलियासको पनि यहाँ आक्रमण र लूटमार चल्यो ।
जब खशमल्ल राज्य टुक्रिएर कर्णाली क्षेत्रमा बाइसे राज्यहरू र गण्डकी क्षेत्रमा चौबीसै राज्यहरू खडा भए त्यसैको आसपासमा सिम्रौनगढ तथा काठमाडौं उपत्यका र वरपरको नेपाल टुक्रिएर ३६४ बर्षको अवधिमा अद अठारौं शताब्दिको शुरुमा पृथ्वीनारायण शाहको जन्मभएको बेलासम्म पुर्वको सेन राज्य ३, बाइसे, चौबीसै, उपत्यकाको ३ मल्ल राज्री गरि ५२ भन्दा बढी ६३ वटा पहाडी, हिमाली तथा तराईका भुभागहरूसहितका साना राज्यहरू अस्तित्वमा थिए ।त्यसमध्ये चौबिसे राज्यमा पर्ने गोर्खाको पृथक अस्तित्व थियो, जहाँ १२ हजार घरधुरी थिए । मुस्किलले छ महिना खान पुग्ने जमिन र राज्यको आम्दानी सारै कम थियो । त्यस स्थितिबाट पार पाउन पृथ्वीनारायणका पिता नरभुपाल शाह र बडा जिजुबाजे पृथ्वीपति शाहकै पालादेखि पूर्वतर्फ सिमा बिस्तार गरेर नुवाकोट कब्जा गरि काठमाडौँ उपत्यका वा नेपालका मल्ल राजाहरूजस्तै भोटसँग व्यापार गरेर समृद्ध हुने अभिलाषाले प्रयास नगरिएको होइन तर विस्तृत योजना र सङ्गठनको अभावले गर्दा तिनले पूर्णता नपाएर हारको सामना गर्नुपर्यो । झन त्यसमाथी छिमेकी राज्य लमजुङको बारम्बारको आक्रमणले गर्दा आफ्नो अस्मिता बचाएर स्वाभिमानलाई कायम राख्नु अर्को चुनौती थियो । पृथ्वीनारायण शाहले भक्तपुर राज्यका युबराजसँग मितेरी साइनो लगाएपछि र पछि काठमाडौंका राजा जयप्रकाश मल्लसङ्ग मितेरी लगाउँदा नै सबै कुरा बुझेर आफू गोर्खाको राजा भएपछी नुवाकोट माथिको पहिलो आक्रमणको असफलता र बनारसको तिर्थयात्राको दौरानमा अनेकिकृत भारतको यथार्थ स्थिति बुझेर त्यहीँबाट हतियारको जोरजाम गरेर फर्केपछि दोश्रोपल्ट नुवाकोटमा बि.स.१८०१ मा योजनाबद्ध आक्रमण गरि बिजय प्राप्त गरे र नेपालको प्राचीन वैभव र बिशालतालाई चिनेर गुरु गोरखनाथको आशीर्वादले एकीकरणको शुभारम्भ गरे वास्तविक हिन्दु अधिराज्री वा असली हिन्दुस्तानको रुपमा पहाडी राज्यहरू एकीकृत गर्दै अङ्ग्रेजहरूलाई रोक्ने उद्यश्यले जसमा उनी सफल हुँदै गए । तीस बर्षसम्म लडाइँ र अनवरत संघर्ष गरेर बर्तमान नेपालको सिमाना आफ्नो जिवनकालमा पुर्वमा टिस्टा नदिदेखि पश्चिम्मा चेपे नदि र उत्तरमा हिमालयदेखि दक्षिणमा तराईको विस्तृत भुभाग पर्दथ्यो, जसमा तिब्बतको केरुङ, कुति र खासा क्षेत्र नेपालकै थियो ।
पृथ्वीनारायणपछि उनकी बुहारी राजेन्द्र लक्ष्मीले केही र कान्छो छोरा बहादुर शाहले त कुमाउँ–गढबाल सम्म सिमाना पु¥याएर आफ्ना बाबुले भन्दा बढी राज्यहरू एकीकृत गरे बाह्र ठकुराइ र अठार ठकुराइ सम्म पुगेर । बहादुर शाहले तिब्बत–चीनसँग लडाइँ नगरेको भए केरुङ–कुति–खासा क्षेत्र नेपालकै रहन्थ्यो । भिमसेन थापाको समयमा नेपालको पुर्वी सिमाना दार्जिलिङ–सिक्किमपारी भुटान सम्म र टिस्टापारी वबी ब्रम्हपुत्रको जलपाइगुडी–कुचबिहारसम्म दक्षिणमा बङ्गालको क्षेत्र र गङ्गाको मैदान र बिस्तृत तराईसम्म तथा पश्चिममा सतलज पारी किल्ला काङ्गडा भन्दा अगाडि रावी नदिसम्म फैलिएको थियो । यसरी आधुनिक नेपाल १०० वटाजति राज्यहरू एकीकृत भै बनेका हुन् भने सो भन्दा अगाडि पुगेका भए नेपालीहरूले कश्मिर कब्जा गर्थे जुन प्राचीन नेपालकै झल्को दिने घटना हुन्थ्यो ।
नेपाल–अंग्रेजÞबिच चलेको डेढ बर्षको युद्ध, जसमा नेपालले ५ वटामध्ये ३ वटा मोर्चामा जितेको थियो र नेपाल–अङ्ग्रेज दुबैको बराबरीको अवस्थामा थियो त्यसलाई कुल्चिएर सुगौली नामक एकतर्फी, नक्कली र फर्जी सन्धी गराएर हाम्रो ठुलो भुभाग गुमाएर वर्तमान मेची–महाकाली सम्मको सिमाना जबर्जस्ती कायम हुन पुग्यो जसमा जङ्ग बहादुरद्वारा फिर्ता ल्याइएको नयाँ मुलुक (बाके, बर्दिया, कैलाली, कंचनपुर) पनि पर्दछ । अंग्रेजÞसङ्ग ठुलो मित्रता साधिएको र प्रथम–दितीय बिश्व युद्धहरूमा उनीहरूलाई नेपालीहरूले लगाएको गुन, बगाएको रगतपसिना र अनवरत प्रदर्शन गरेको मित्रताले गर्दा सन् १९२३ मा नेपालसङ्ग शान्ती र मैत्री सन्धी र भारत छोडेर जाने बेला १९५० को सन्धी लगायत अन्य कतिपय भारत स्वतन्त्र हुनुअघावै सन्धिहरू गरेर सुगौली सन्धिमा गुमेका नेपालका इलाकाहरू नेपाललाई फिर्ता गर्ने आशयको नेपालका राणा शासकहरू जुद्द शमशेर, पद्म शमशेर र मोहन शमशेर सम्म प्रस्ताव गरेका हुन्, जसलाई राणा शासकहरूले नेपालमा आफू टिक्न नसक्ने, भोलीको स्वतन्त्र भारतमा रहेको आफ्ना अपार सम्पती र आफ्नै शरणस्थल गुम्ने, विशाल नेपाललाई सम्हाल्न नसक्नेजस्ता कारणहरू देखाएर इन्कार गरे । त्यसपछी भारत स्वतन्त्र हुने बित्तिकै हाम्रा सम्पुर्ण नेताहरू गान्धी–नेहरूको षड्यन्त्रमा परेर आफ्नो गुमेका भुभागहरू दावी गर्न नसकी, हाम्रो राजपरिवार नै दिल्लीमा शरण लिन पुगेर झन्डै नेपालनै भारतलाई सुम्पिएका थिए । तै नेहरूको अक्षमता, उदारता, नेपाललाई बिस्तारै गाभ्ने नीति र युबराज महेन्द्रको इन्कारी र त्यसबेलाको नेपाली सेनाको संख्या ४२ हजार रहनु, बिद्रोही मुक्ती सेनाले गर्दा बर्तमान नेपाल भारतमा गाभिनबाट बच्यो र राणाशासनबाट देशले मुक्ति पायो । यदि राजा महेन्द्रले संविधानसभाको मुद्दालाई नतुहाइदिएका भए नेपाल भारतमा गाभिन बेर थिएन किनभने सात साल अगाडि प्रमुख दल नेपाली काङ्ग्रेसकै एजेन्डा नेपाललाई भारतमा गाभ्नेकि स्वतन्त्र राख्ने भन्ने थियो ।
भारतीय संविधानले नै पनि नेपालको सुगौली सन्धी अगाडिको भुभागलाई आफ्नो भुभागमा गाभ्न सकेको छैन बर्तमान कश्मिरलाई धारा ३७० लगाएर गाभेजस्तो र गोर्खाल्यान्डको मुद्दा भारतमा जोडतोडले उठिरहेको छ । भारतले आफ्नो सामरिक, सुरक्षा, आर्थिक कारणहरूले गर्दा विशाल नेपालको भुमी अन्तर्राष्ट्रिय कानुनलाई मिचेर आफुमा विलय गरिराखेको छ भने नेपाली शासकहरू र नेताहरूले दावी गर्न नसक्नु र अन्तर्राष्ट्रियकरण पनि गर्न नसक्नुले गर्दा हाम्रो गुमेको ठूलो भूभाग भारतले उपनिवेश बनाएको देखिन्छ । यसलाई पुष्ठि गर्ने आधारहरू योगी नरहरीनाथले नेपालको सर्बोच्च अदालतमा दायर गरेको रिट, फणिन्द्र नेपालको गतिविधि र डा. सुरेन्द्र ढकालको गतिविधिहरूलाई लिन सकिन्छ । भारतले नेपालको बर्तमान अस्तित्व समेत पुर्णरुपमा स्विकार गर्न नसकेको हुनाले विशाल नेपाल त झन परको कुरा हो । तैपनि नेपालीहरूको हृदयमा यो गाँसिएको छ । यो हाम्रो इतिहास हो जसलाई हामीहरूले मर्नदिनु हुन्न । यसपालीको ३०३ औं पृथ्वी जयन्तीमा अभियन्ता फणिन्द्र नेपालले नेपाली इतिहासलाई स्मरण गराउन पृथ्वीनारायणको सालिकमा माल्यार्पणसङ्गै विशाल नेपालको नक्शा सिंहदरवार अगाडि प्रदर्शन गर्दा नेपाल प्रहरीले त्यसलाई हटाएर उहाँलाई गलत्याउने काम गर्नु पृथ्वीनारायण शाह र उनको एकीकरणलाई नै धुमिल पार्ने कार्य हो, जसलाई सचेत नेपाली कसैले पनि माफ गर्न सक्दैनन् ।
वर्तमान नेपाल नै भएपनी श्रोत र साधनमा यो मुलुक कति धनी छ भने विशाल नेपाल भयो भने त झन के के हुन्थ्यो होला ।अहिले नै छिमेकीहरूको पेलान र अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको चलखेल र टकराबले गर्दा यो एउटा खेलमैदान बनेको छ । हालै राजा ज्ञानेन्द्रको सम्बोधनले पनि नेपालको वास्तविक अवस्थालाई उजागर गरेको छ ।अर्थशास्त्रको उदगमस्थल नेपाललाई आर्थिक रूपमा बिकसित तुल्याउन र छिमेकीहरू तथा अन्य अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको दबदबाबाट नेपाललाई जोगाउन, यसलाई आर्थिक बिकासतर्फ अगाडि बढाउने अर्थशास्त्रलाई जोड दिनुपर्छ । यसको लागि नेपाललाई सम्पुर्ण क्षेत्रमा बिज्ञहरूको शासन हुने गुणतन्त्रमा लैजानु पर्छ भने हिन्दु–बौद्ध–किराँत सभ्यताको सङ्गम स्थल यो मुलुकलाई पुनः शान्तिक्षेत्र बनाउनुपर्छ । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र सबै असफल भैसकेका हुनाले अब गुणतन्त्रमा जानुपर्ने बेला आएको छ । संविधानमा नै आमूल परिवर्तन गरि मुलुकको अस्मिता जोगाउन, यसको सुरक्षा र बिकासलाई प्रत्याभूत गर्न राजसंस्था सहितको गणतन्त्र र गुणतन्त्रमा गएमात्र सफलताको प्राप्ती हुने देखिन्छ । नत्रभने धार्मिक–सांस्कृतिक राजसंस्था राखेर गणतन्त्रलाई गुणतन्त्रमा रुपान्तरित गरेर राष्टपति, प्रधानमन्त्री जनताबाट प्रत्यक्ष चुनेर मन्त्रीहरूलाई विशेषज्ञ वा विज्ञहरूमध्ये चुनेर शासन गर्ने व्यवस्था, सांसदहरू मन्त्री बन्न नपाउने, स्वतन्त्र न्यायपालिका, स्वतन्त्र प्रेस तथा संवैधानिक अङ्गहरू भएको, संघीयताबिहिन विकेन्द्रीकरण भएको, पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन राष्ट नेपाल बनाउनुपर्छ । यसबाट नेपाल साच्चै शान्ति, समृद्धी र प्रगतितर्फ अभिमुख भै भविष्यमा विशाल नेपाल बन्नेछ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।
Close