राष्ट्रपतिबाट २२९ जनालाई नेपाल विद्याभूषण पदक प्रदान

काठमाडौँ, २२ भदौ । राष्ट्रपति डा रामवरण यादवले ३६औँ राष्ट्रिय दिवस २०७२ को उपलक्ष्यमा आज बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा २२९ जना छात्रछात्रालाई नेपाल विद्याभूषण प्रदान गर्नुभएको छ ।

राष्ट्रपति यादवले १४१ जनालाई ‘क’ श्रेणी, ७४ जनालाई ‘ख’ श्रेणी र १४ जनालाई ‘ग’ श्रेणीको नेपाल विद्याभूषण पदक प्रदान गर्नुभएको हो ।

विद्यावारिधीको उपाधि प्राप्त गर्नेलाई ‘क’ श्रेणी, विश्वविद्यालयद्वारा सञ्चालित स्नातकोत्तर तहको विभिन्न सङ्कायको परीक्षामा सर्वोकृष्ट नजिता प्राप्त गर्नेलाई ‘ख’ श्रेणी र स्नातक तहमा सर्वोकृष्ट नजिता हासिल गर्नेलाई ‘ग’ श्रेणीको नेपाल विद्याभूषण पदक प्रदान गरिन्छ ।

समारोहमा राष्ट्रपति यादवले स्नातकतहतर्फको २०७१ सालको नेपाल छात्रा विद्यापदक ३१ जना र प्रमाणपत्र तहतर्फको नेपाल छात्रा विद्यापदक आठ जना छात्रालाई प्रदान गर्नुभयो ।

यस वर्षको शिक्षा दिवसको नारा ‘दिगो विकासका लागि गुणस्तरीय शिक्षा, सबैका लागि सुरक्षित शिक्षण संस्था’ रहेको छ ।

समारोहमा उपराष्ट्रपति परमानन्द झा, शिक्षामन्त्री चित्रलेखा यादवलगायत नेपाल सरकारका विशिष्ट अधिकृतहरु सहभागी हुनुहुन्थ्यो ।

तपाइँको प्रतिक्रिया ।