चौथो वडा अध्यक्ष कप भेट्रान फुटबल : फ्रिडम फाइटरको जित,कपनले बुढानीलकण्ठलाई पाखा लगायो

चौथो वडा अध्यक्ष कप भेट्रान फुटबल : फ्रिडम फाइटरको जित,कपनले बुढानीलकण्ठलाई पाखा लगायो
कपन अनलाइन
काठमाण्डौ,पुस २।

फ्रिडम फाइटर क्लबले चौथो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा सोमबार दोहोरो जित हात पारेको छ । फ्रिडमको ‘ए’ र ‘बी’ दुवै टोलीले विजयी सुरुआत गरेका  हुन् ।
काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगितामा फ्रिडमको ‘ए’ ले वाइ वाइ युनाइटेडलाई १०–१ को भारी गोलअन्तरले पराजित गर्यो । विजयी टिमका लागि राजकुमार घिसिङले ४, ‘म्यान अफ द म्याच’ सुरज श्रेष्ठ र विजय गुरुङले समान २–२ तथा विकर्ण श्रेष्ठले १ गोल गरे । एक गोल आत्माघाती थियो । युनाइटेडका सुन्दर लिम्बूले सान्त्वना गोल गरे । फ्रिडम ‘बी’ ले सरस्वतीनगरलाई ३–० गोलले हरायो । विजेताका निलेन्द्र देवान, ‘म्यान अफ द म्याच’ राजु तामाङ र टीकाजित लिम्बूले समान १–१ गोल गरे ।
अन्य खेलमा कपन भेट्रान र बौद्ध भेट्रानले सफलता पाए । कपनले बुढानीलकण्ठलाई २–० गोलले पाखा  लगायो । दुवै गोल ‘म्यान अफ द म्याच’ पासाङ शेर्पाले गरे । बौद्धले डिल्लीबजारलाई २–१ ले पन्छायो । बौद्धका ‘म्यान अफ द म्याच’ अमिर लामा र प्रकाश श्रेष्ठले समान १–१ गोल गरे । डिल्लीबजारका बाबु बरालले १ गोल फर्काए ।
प्रतियोगिताको आयोजक वडाका अध्यक्ष विमलकुमार होडा र सोही वडाका पूर्व अध्यक्ष सानुकाजी शाक्यले एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे । प्रतियोगितामा मोफसलका ३ सहित २१ टिम सहभागी छन् । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर र फरवार्डलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

तपाइँको प्रतिक्रिया ।