आमा : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,मंसिर २९।
१. छ प्रेम माया जननी त्यहाँ छिन्
छ दिव्य छाया जननी त्यहाँ छिन्
छ स्वच्छ छाती जननी त्यहाँ छिन्
छ शान्ति चोखो जननी त्यहाँ छिन्
२. आमाविनाको न त हुन्छ सृष्टि
आमाविनाको न त खुल्छ दृष्टि
आमाविनाको न त हुन्छ वस्ती
निर्धक्क लेखौँ उनको प्रशस्ति
३. बर्षन्छ वर्षा रचना कसैको
फैलन्छ राम्रो सपना कसैको
फल्दैछ बाली पसिना कसैको
आमा उनै हुन् उपमा सबैको
४. हिँड्दैछ खोला धुनमा उनैको
हाँस्दैछ धर्ती गुनमा उनैको
बोल्दैछ बेला लयमा उनैको
नारा लगाऊँ जयमा उनैको
५. आँखा उनैका परसम्म हेर्ने
भाका उनैका मनसम्म पुग्ने
कापी उनै हुन् र उनै किताब
राख्ने उनै जीवनको हिसाब
६. हिँड्ने उनै हुन् जननी धरामा
चढ्ने उनै सिर्जन श्रृङ्खलामा
को गर्व गर्ला जग यो भरेर
संसार ढाक्यो जसले मरेर
७. आमा नआई जग सिर्जिएन
आमा नबाँचे दुनियाँ हुँदैन
आमा जहाँ छन् छ त्यहाँ उज्यालो
खोलाविना बाँच्छ कहाँ भँगालो
८. नौलो बिहानी उनकै कला हो
आवाज मीठो उनकै गला हो
आमा रमाए छ सधैँ उचाई
ढोगेर आमा गर काम भाइ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।