रिलायन्स साहित्य समाजद्वारा साहित्यकार भुवनहरि सिग्देल र युवाकवि मनोज भण्डारी सम्मानित

रिलायन्स साहित्य समाजद्वारा साहित्यकार भुवनहरि सिग्देल  र युवाकवि  मनोज भण्डारी सम्मानित
कपन अनलाइन
काठमाण्डौ ,मंसिर २९।

रिलायन्स एजुकेसन नेटवर्क बु.न.पा.–१०, कपन काठमाडौँ अन्तर्गत वि.सं. २०६६ मा स्थापित रिलायन्स साहित्य समाजले यस वर्षको रिलायन्स साहित्य स्रष्टा सम्मान साहित्यकार  भुवनहरि सिग्देल र रिलायन्स  युवा प्रतिभा सम्मान युवाकवि  मनोज भण्डारीलाई प्रदान गरेको छ ।

रिलायन्स साहित्य समाजद्वारा हरेक वर्ष लक्ष्मी जयन्तीको सन्दर्भ पारेर “राष्ट्रव्यापी अन्तर माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता तथा कवि गोष्ठी एवं स्रष्टा सम्मान कार्यक्रम” आयोजना गर्दै आएकोमा यस वर्ष  स्रष्टा सम्मान कार्यक्रम अन्तर्गत नेपाली भाषा साहित्यका मूर्धन्य व्यक्तित्व एक सिद्धहस्त कवि तथा आख्यानकारका रुपमा सुपरिचित  भुवनहरि सिग्देलज्यूलाई रिलायन्स साहित्य स्रष्टा सम्मान तथा एक प्रखर र मेधावी युवा कविका रुपमा सुपरिचित मनोज भण्डारीज्यूलाई रिलायन्स युवा प्रतिभा सम्मान अर्पण गरेको हो  ।

वरिष्ठ साहित्यकार प्रा.डा.  माधव प्रसाद पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा  भुवनहरि सिग्देलज्यूलाई रू. २५,००५।– राशिको रिया साहित्य स्रष्टा सम्मान पुरस्कार प्रदान गरिएको थियो भने  युवा कवि  मनोज भण्डारीज्यूलाई रू. ११,००५।– राशिको रिलायन्स युवा प्रतिभा सम्मान अर्पण गरिएको थियो ।

रिलायन्स शैक्षिक प्रतिष्ठानका अध्यक्ष रविन्द्र जंग थापा र संचालक सदस्य राजुकुमार सिवाकोटी, रिलायन्स साहित्य समाजका अध्यक्ष तथा रिलायन्स शैक्षिक प्रतिष्ठानका र संचालक सदस्य दामोदर निरौला लगायत नेटवर्क अन्तर्गतका विद्यालयहरुका प्रधानाध्यापक, संयोजक, शिक्षक, विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमको सभापतित्व रिलायन्स शैक्षिक प्रतिष्ठानका संचालक सदस्य तथा रिलायन्स इन्टरनेसनल एकेडेमीका प्रधानाध्यापक  खेमलाल भुसालले  गरेका थिए।

रिलायन्स इन्टरनेसनल एकेडेमीको सभा हलमा  सम्पन्न उक्त कार्यक्रममा कवि कलानिधि दाहाल, कवि बलराम दाहाल, कवि त्रिलोचन आचार्य, कपन–बानेश्वर साप्ताहिक पत्रिकाका सम्पादक  निबन्ध आचार्य शिष्टाचार अभियानका अभियन्ता मुकुन्दराज ढकाल, रिता बुढाथोकी, बिन्दा गौतम, संजिता पौडेल, कालिका श्रेष्ठ, टिका दाहाल, सिता कार्की, पवित्रा पोखरेल, फम्पा श्रेष्ठ लगायत स्थानीय बुद्धिजीविहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन रिलायन्स साहित्य समाजका सचिव श्रीधरप्रसाद पौडेलले गरेका थिए ।

वि.सं. २०६९ मा स्थापित यो पुरस्कार तथा सम्मानबाट विभिन्न  व्यक्तित्वहरु सम्मानित भैसकेका छन   । काठमाडौँ उत्तर पूर्वी क्षेत्रका वरिष्ठ कवि, लेखक, साहित्यकार र समालोचक लगायत साहित्यका अनुरागीहरूको उल्लेख्य उपस्थिति रहेको यस समारोहमा कलानिधि दाहाल,  त्रिलोचन आचार्य, पवित्रा पोखरेल, रोशन गर्तौला लगायत कविहरूले आफ्नो रचना वाचन गरेका थिए।

समारोहमा कवि बलराम दाहालले सम्मानित स्रष्टा  भुवनहरि सिग्देलको व्यक्तित्व, नेपाली साहित्यमा उहाँको योगदानबारे चर्चा गर्नुका साथै   साथै कवि बलराम दाहालले युवा कवि  मनोज भण्डारीको बारेमा बोल्दै युवा भएपनि खारिएको साहित्य सिर्जनामा कवि भण्डारीको रचना हुने गरेको बताउँदै युवा कवि मनोज भण्डारीको साहित्य जीवनबारे चर्चा गगरेका थिए ।

साहित्यकार  भुवनहरि सिग्देलज्यूले सम्मानपश्चात् कार्यक्रममा बोल्दै रिलायन्स इन्टरनेसनल एकेडेमी र रिया साहित्य समाजले प्रदान गरेको सम्मानले साहित्य क्षेत्रमा अझ अघि बढ्न हौसला मिलेको भन्दै विद्यालयले दिएको सम्मानप्रति कृतज्ञता प्रकट गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.  माधव प्रसाद पोखरेलले लक्ष्मीप्रसाद देवकोटाका कृतिहरूलाई लिएर वर्सेनी सम्पन्न हुँदै आएको वक्तृत्वकलाले विद्यार्थी वर्गमा देवकोटा साहित्यप्रति रुचि जगाउने र साहित्य अध्ययनमा उनीहरूको सहभागिता बढ्ने विश्वास व्यक्त गर्दै   विद्यालयहरूको यसप्रकारको रचनात्मक साहित्यिक कार्यक्रमले साहित्यकारहरूलाई भाषा साहित्यको उत्थानमा अग्रसर हुन प्रोत्साहन मिल्ने बताएका थिए  ।

रिलायन्स साहित्य समाजद्वारा आयोजित ‘पन्ध्रौँ देवकोटा स्मृति अन्तर माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता’मा राष्ट्रका २३ विद्यालयहरूको सहभागितामा पहिलो चरणको वक्तृत्वकला प्रतियोगिता मङ्सिर २१ गते शुक्रबार सञ्चालन गरी उत्कृष्ट ५ वक्ताहरू छानिएका थिए र २२ गते सम्पन्न भव्य कवि गोष्ठी तथा स्रष्टा सम्मान समारोहबिच ५ प्रतियोगीहरूबिच अन्तिम प्रतिश्पर्धा गराइएको थियो ।

प्रतियोगितामा टाइम लाइन स्कुल, जोरपाटीकी छात्रा प्रसिद्धिका रुपाखेती प्रथम, महेश संस्कृत गुरुकुलम्, देवघाटका छात्र प्रतिक बडाल द्वितीय, नेपाल वेद विद्याश्रमका छात्र सदस्य गौतम तृतीय, एवम् रिपुमर्दनी सैनिक महाविद्यालयका छात्रा मेलिशा कार्की  र जुगल नव गुरुकुलका छात्रा सन्ध्या गौतमले प्रोत्साहन पुरस्कार प्राप्त गर्न सफल भएका छन् । विजेता विद्यार्थीहरूलाई आकर्षक ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कारद्वारा पुरस्कृत गरियो ।

तपाइँको प्रतिक्रिया ।