शहिदको रङ्ग : भोलानाथ सुबेदी (कविता )

शहिदको रङ्ग : भोलानाथ सुबेदी (कविता )
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक ३ ।

मध्य रातमा
भित्ताहरूमा कसैले
रातो अक्षर लेखेर हिड्यो
क्रान्तिको अक्षर
चेतनाको अक्षर
जागरणको अक्षर
एक हुल मान्छेहरु
हातमा मसाल बोकेर
गौँडाहरू छिचोल्दै थिए
एकाएक राताम्य देखियो सडक
रातो अक्षर लेख्ने हात
शहिद भयो ।
स्वतन्त्रता
उसैको जीवनको उपहार
कर्फ्युले नछेकेको बुलन्द आवाज
भेद र विभेदका विरुद्ध जुर्मुराएका
राता मान्छेहरू
तिनै मान्छेहरूका हातमा थिए
निरङ्कुशता भत्काउन
उचालिएका राता झण्डाहरु
गगनभेदी नाराले
शासक क्रुद्ध बन्यो
राताम्य भयो सडक
रातो झन्डा बोक्ने हात
शहिद भयो ।
जतिबेला
मान्छेहरूमा आवाज थिएन
चेतना थियो सचेतना थिएन
फूलहरूमा रङ्ग थिएन
सुगन्धको नाम थिएन
जब भित्ताको क्रान्तिकारी अक्षर
जुर्मुराएर सडकमा आयो
शासकको संकीर्णताको
महल भत्कियो
मान्छेहरूको आवाजमा सुर थपियो
सचेतनाको बिगुल बज्यो
फूलमा रङ्ग भरियो
सुगन्ध थपियो
रातो रङ्ग इन्द्रेणीमा थपियो
वीरताको रङ्ग
शहिदको रङ्ग बनेर ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।