विडम्बना : सानुराजा श्रेष्ठ ‘अञ्जान’

विडम्बना : सानुराजा श्रेष्ठ ‘अञ्जान’
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक ३ ।

समयक्रमले भन्यो –
पूर्वपश्चिम पुलैपुलले ढाकिदिन्छु
यो देशलाई स्वीटजरल्याण्ड बनाइदिन्छु
तुइन सम्पूर्ण विस्थापित गर्छु
तर –
पुल बगायो बाढीले
र तुइन छिन्यो
तीनजनाको प्राण आहुतिसँगै
कतै सिमाना नजीकको तुइन पनि
मान्छेसँगै काटिदियो छिमेकी दुर्वासाले ।

आज गाउँ चौतारामा
केवल हावा मात्र सुसाउने गर्छ
समृद्धिको सपना देखाउनेहरूले
समृद्ध देशतिर दरा पाखुरीहरूलाई
निकासी गरेपछि –
हुर्हुरी लु चल्ने देशमा
बेल्चा हान्न पठाएपछि
वनमाराले वनपहरा ढाकेको छ
उर्वर माटो बञ्जर बनेको छ ।

सपना देखाउनेहरूले
सपनामै भौंतारिन बाध्य पारे
आफू समृद्धिको लिस्नो चढेर
विकसित देशतिर गइसकेपछि
समृद्ध उतैको देश बनेको छ
विडम्बना !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।