प्यारी तिमी : त्रिलोचन आचार्य (कविता )

प्यारी तिमी : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक ३ ।
१. देखेँ झलक्क हँसिली रमाउँदी
आँखा घुमाइकन झन् चियाउँदी
लाग्दैछ झट्ट बिजुली कि तार हौ
प्यारी तिमी हृदयकी सितार हौ
२. बाटो कटेछ कसरी मिनेटमै
बाठो बनेछु पहिलो छनौटमै
के भार भन्नु भरिली अपार हौ
प्यारी तिमी हृदयकी सितार हौ
३. कालो छ केश कसिलो कलात्मक
रातो मुहार जहिल्यै सफाचट
आधार छन् र भनियो उदार छ्यौ
प्यारी तिमी हृदयकी सितार हौ
४. के लेख्नु अक्षर त्यसै हराउँछन्
हट्छन् पछाडि उपमा डराउँछन्
मेरा निमित्त त स्वयं हजार हौ
प्यारी तिमी हृदयकी सितार हौ
५. लेखी कथा र कविता सकिन्न भो
हेरौँ बसेर रमिता सकिन्न भो
हौ हौ तिमी समयकी करार हौ
प्यारी तिमी हृदयकी सितार हौ
६. हौ दिव्य त्यो कुसुम हौ सुगन्ध हौ
हौ प्रेमपुञ्ज त्यसकै प्रबन्ध हौ
वा ताल सल्ल रसिलो किनार हौ
प्यारी तिमी हृदयकी सितार हौ
७. आगो कहाँ छ ? तर ताप लाख छ
खै के छ भित्र ? नहुँदा विलाप छ
सानो त हैन नि स्वयं मिनार हौ
प्यारी तिमी हृदयकी सितार हौ
८. माया गरी मन भरी छ गुन्गुन
हेरी ममा किन ग¥यौ नि छुन्मुन
यो धार छोड रचना विचार हौ
प्यारी तिमी हृदयकी सितार हौ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।