“रिलायन्स घुम्ती काव्य सौरभ” सम्पन्न
रिलायन्स शैक्षिक प्रतिष्ठान अन्तर्गत वि.सं. २०६६ सालमा स्थापित रिलायन्स साहित्य समाजले नव वर्ष २०८१ को प्रारम्भबाट साहित्यिक गतिविधिलाई थप बढावा दिँदै जाने कार्यनीति अनुसार “रिलायन्स घुम्ती काव्य सौरभ”नामक साहित्यिक कार्यक्रम सञ्चालन गर्न थालेको छ । भाद्र १४ गते शुक्रबार रिलायन्स साहित्य समाजले “रिलायन्स घुम्ती काव्य सौरभ”को दोस्रो गोष्ठि बु.न.पा–१० विवेकचोक स्थित रिलायन्स पब्लिक स्कुलको सभाहलमा सम्पन्न गरेको छ ।
रिलायन्स शैक्षिक प्रतिष्ठान अन्तर्गतका पाँच विद्यालयहरु तथा रिलायन्स कलेज समेत ६ वटा शिक्षणसंस्थामा कार्यरत शिक्षक, शिक्षिका, कर्मचारी वर्ग लगायत रिलायन्सका सञ्चालक तथा व्यवस्थापकहरुको समूह भित्र त्रैमासिक रुपमा हरेक स्कुल तथा कलेजमा पालैपालो साहित्य गोष्ठि सञ्चालन गरी संस्थामा सेवारत सबै प्रतिभाहरु तथा साहित्यानुरागीहरुलाई साहित्य सृजना एवं अभिव्यक्तिका निम्ति हौसला दिँदै कृति रचना र प्रकाशनमा समेत अग्रसर गराउने समाजको उद्देश्य रहेको छ ।
यस वर्षबाट समाजको गतिविधिलाई वार्षिक कार्यक्रममा मात्र सीमित नराखी त्रैमासिक रुपमा रिलायन्स शैक्षिक प्रतिष्ठान भित्र आन्तरिक घुम्ती काव्य सौरभ कार्यक्रम सञ्चालन गर्ने कार्य योजना बनाई दोश्रोघुम्ती काव्य सौरभ सम्पन्न गरेको हो ।
भाद्र १४ गते सम्पन्न रिलायन्स घुम्ती काव्य सौरभ कार्यक्रममा रिलायन्स शैक्षिक प्रतिष्ठानमा सबै स्कुल तथा कलेजबाट करिब सयजनाभन्दा बढी साहित्यानुरागी स्रष्टा एवं दर्शक श्रोताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सभापतित्व यसै विद्यालयका सञ्चालक एवं प्रिन्सिपल वसन्तलाल लामिछानेले गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार साथै नियात्राकार प्रतीक ढकाल उपस्थितरहेका थिए । विशेष अतिथिका रुपमा नियात्राकार साथै कवि भवानी खतिवडा र शिष्टाचार अभियान नेपालका अध्यक्ष सुमन दाहाल पनि उपस्थित थिए ।
रिलायन्स इन्टरनेसनल एकेडेमीका इसिए कोअर्डिनेटर तथा काउन्सिलर श्रीधर प्रसाद पौडेलबाट सञ्चालन गरिएको कार्यक्रममा स्वागत मन्तव्य समाजका अध्यक्ष एवं रिलायन्स संस्कृति विभागका प्रमुख दामोदर निरौलाले राख्नु भएको थियो भने क्रमशः रिलायन्सका सञ्चालक अध्यक्ष एवं कलेज प्रिन्सिपल रविन्द्र जंग थापा, विशिष्ट अतिथि भवानी खतिवडाले मन्तव्यसहित कविता वाचन गरेका थिए ।
रिलायन्स इन्टरनेसनल एकेडेमीका सञ्चालक संस्थापक प्रिन्सिपल श्री खेमलाल भुसालले मन्तब्यसहित कविता वाचन राख्नु भएको थियो । सबै स्कुल कलेजका प्रतिनिधित्व गर्दै करिब १६/१७ जना कविहरुले कविता, कथा लगायतका रचना वाचन गरेका थिए ।
यो कार्यक्रम दिउँसो २ बजे देखि ५:३० सम्म निर्बाध रुपले सञ्चालन भएको थियो र विद्यालय सञ्चालक एवं स्कुलका प्रिन्सिपलले अन्त्यमा धन्यवाद ज्ञापन सहित कार्यक्रम समापन गरेका थिए ।
कार्यक्रममा मन्तव्य राख्ने सबै विशिष्ट अतिथिहरुले रिलायन्स साहित्य समाजले साहित्य सृजना र अभिव्यक्तिमा नयाँ आयाम थप्दै “रिलायन्स घुम्ती काव्य सौरभ” जस्तो रचनात्मक कार्यक्रम गरी संस्थाभित्रका सबै साहित्यिक प्रतिभाहरु प्रति न्याय गरेको र तिनीहरुलाई उचित सम्मान र अवसर दिँदै साहित्य सृजना र अभिव्यक्तिमा हौसला दिएको भन्दै भविष्यमा यस्ता खाले कार्यक्रमको थप सफलता र विस्तारको शुभकामना दिए ।
तपाइँको प्रतिक्रिया ।