नयाँ साहित्यिक अभियान ‘आफू विरुद्ध आफै’ सुरु

नयाँ साहित्यिक अभियान ‘आफू विरुद्ध आफै’ सुरु

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २।

नेपाली साहित्यमा ‘आफू विरुद्ध आफै’ अभियान सुरु भएको छ । साहित्यिक क्षेत्रमा क्रियाशील स्रष्टाहरूले राजधानीमा एक कार्यक्रमबिच आषाढ ३२ गते यो अभियानको सुरुवात गरेका छन् ।

यो अभियानले तीन वटा उद्देश्य तय गरेको छ । समकालीन लेखनका दिशा र प्रवृत्तिगत वैशिष्ट्यबारे विमर्श गर्ने, लेखनको विषय वस्तु र शिल्प विन्यासमा नवीनताको खोजी गर्ने तथा आफ्नै लेखनको सीमा र शक्तिबारे आत्म समीक्षा गर्ने गरी अभियान सुरु भएको हो ।

सिर्जनात्मक अभियान बारे यसका  अभियन्ता  साहित्यकार आर एम डङ्गोलले  लक्ष्य र उद्देश्यबारे प्रकाश पारे । ‘यो अभियान कसैप्रति लक्षित छैन, आफ्नै लेखनप्रति लेखकहरू जिम्मेवार हुनपर्छ भन्ने उद्देश्य हो’, कवि डङ्गोलले  भने।

यो अभियानको संयोजकमा साहित्यकार नवराज रिजाल सचिवमा साहित्यकार होमशंकर बास्तोला रहेका छन् । अन्य सदस्यहरूमा आर एम डङ्गोल, छविरमण सिलवाल, दीपक विहीन, बोधराज पौडेल र प्रतिरोध कार्की रहेका छन् । कार्यक्रममा कवि एवम् सहित्यिक पत्रकार होमशंकर बास्तोलाले अभियानको उद्देश्य, लक्ष्य र गन्तव्यबारे जानकारी गराउँदै समसामयिक र समकालीन नेपाली साहित्यिक लेखनमा  लेखकहरू स्वयम जिम्मेवार हुनु पर्ने धारणा राखेका थिए  ।

साथै अभियानको पहिलो दिन कवि प्रतिरोध कार्कीको ‘घामको पहाड’ कवितासङ्ग्रहमाथि प्रमुख वक्ताको रूपमा साहित्यकार आर एम डङ्गोलले समीक्षा गरेका थिए । उनले सङ्ग्रहभित्र रहेका  कवितामाथि टिप्पणी गर्दै लेखकलाई भरपुर लेखकीय सुझाव दिएका थिए । त्यसै गरी समीक्षक बोधराज पौडेल, होमशंकर बास्तोला, छविरमण सिलवाल,  नवराज रिजाल, दीपक विहीनले  कृतिमाथि टिप्पणी गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।