पुरातत्व : रुद्र ज्ञवाली (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,साउन २७।
“म आएँ नि ?” रुग्ण घरसँग भनेंँ ।
“आउनु र नआउनुको के अर्थ रह्यो र अब ।” खिन्न आवाजमा बोल्यो घर । जवाफ सुनेर स्तब्ध भएँ म ।
घरको वरिपरी नियालेंँ । इसिजी गरिदै गरेको बिरामीजस्तै लहरै लहराले जेलिएको थियो घर ।
घरको अवस्था देखेर निशब्द भएँ म ।
“बडो अचम्मको हुँदो रहेछ प्रकृतिको नियम । मान्छेका नियमले बिगारेको कुरालाई मौका पर्नासाथ आफ्नै लयमा फर्काउँदो रहेछ प्रकृतिले । कुनै समय यस्तै झाडी फाँडेर मेरो अस्तित्व ठड्याएका थियौ तिमीहरूले । तिमीहरूले त्यागेपछि प्रकृतिले पुरानै अवस्थामा फर्काउँदै छ । एउटाको समाप्तिमा अर्काको प्रारम्भ हुँदो रहेछ ।” संतप्त भावमा
बोल्यो घर ।
“एकाबिहानै पोतारी लिएर लिपपोत गर्नेहरू हराए । दिनभर चहचहाउँदै हामी हुनुको अस्तित्व जीवित राख्ने तिमीहरू कता गयौ कता । पुरातत्व भएर बाँच्न गाह्रो रहेछ बाबु ।” घरले दुखेसो पोख्योे ।
मैले देखेँ, लिउन उप्केका भित्ता र त्यसैको कङ्कालमा लहलहाइरहेका झारपात । दुर्घटनामा परेको सवारी साधनजस्तै ढाड कुच्चिएको धुरी । दिउँसै स्याल लुक्ने झाडीमा रूपान्तरित आँगन ।
“मरेको शरीरलाई जुम्राले पनि छोड्छ भन्थे, हो रहेछ । हुँदाहुँदा बार्दलीमा घर बनाउने गौंथलीले पनि बसाई स¥यो । आँगनमा बिस्कुन पाउन छोडेपछि भँगेरा र ढुकुर पनि हराए । तिनीहरूसँगै प्राचीन परम्परा, सभ्यता र संस्कृति पनि हराउँदै गए । घरले गथासो सुनायो ।
घरको गुनासो र दुखेसो सुन्दै गर्दा मैले गाउँबाट सहरमा भएको आफ्नै पलायन, विदेशतिर भासिनमा गर्व गर्ने सन्ततिको मानसिकता र आफ्नै भविष्य सम्झें । मैले बिर्सेका र गुमाएका अरू पनि थुप्रै कुरा सम्झें र सम्झदै जाँदा मलाई लाग्यो, पुरातात्विक अस्तित्व बाँच्नु साँच्चिकै कठिन रहेछ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।