सौँराहट : कुमुदप्रसाद शर्मा (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,साउन २७।
“माथि माथिसम्म पुग्नुहुन्छ, के के देखिन्छ दाइ, त्यहाँबाट ?” बागमती किनारमा भरखरै अवतरण गरेको गिद्धसँग टाटेले सोध्यो ।
“त्यति माथिबाट नदेखिने कुरा केही हुन्छ र ! जे पनि देख्छु नि ।” गिद्दले गर्वकासाथ भन्यो ।
“उसोभए हाम्रो देशको दक्षिणतिरको सीमाना पनि देख्नुभएको होला हगि ? टाटेले शालीनतापूर्वक सोध्यो ।”
“के भनूँ खै ! तँ कुरा बुझ्दैनस् ।” गिद्धले कुरा चपायो ।
“सीमा पारीबाट दिनहुँ नेपाल भित्रिने लाबालस्कर त पक्कै याद गर्नुभएको होला नि दाइ ?” टाटेले उत्सुकता देखायो ।
“अहँ, हेर ! त्यस्तो कुरा त धरातलमा बस्दा मात्र थाहा हुन्छ । धेरै माथि पुगेपछि त कहाँ देख्नु ! देखे पनि एकदमै धमिलो ।” गिद्धले भन्यो ।
“भनेपछि विभिन्न बाहानामा दिनहुँ नेपाल छाडेर अन्य मुलुक जान हिँडेका युवाहरू त झन् के देख्नुहोला र खै !” टाटेले उदेक मान्दै भन्यो ।
गिद्धले हाँसेर टार्यो ।
“त्यसोभए के चाहिँ देख्नुहुन्छ त दाइ, माथिबाट ?” टाटेले सोध्यो ।
गिद्धले उसलाई नजिकै बोलायो र कानमा सुटुक्क भन्यो, “हेर् न, टाटे ! देख्न त सबचिज छर्लङ्गै देखिन्छ । तर के गर्नु ! धरातल छाडेपछि ञयोझ बाहेक अरू केही कुराको पनि याद रहँदैन ।” उसले सिनो लुछ्दै भन्यो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।