हसिना गइन् कता ? त्रिलोचन आचार्य (कविता )

हसिना गइन् कता ? त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,साउन २७।

१. कैल्यै नटेकीकन सत्यको पथ
यो देश हाँक्दै म बढँउँला रथ
मेरै छ कब्जा जग यो जता तता –
भन्ने नियालुन् हसिना गइन् कता ?
२. ओडेर सत्ता म जुनी बिताउँला
आफन्तलाई सुनमा सुताउँला
आवाज उठ्ने छ कहाँ महान् म ता –
भन्ने नियालुन् हसिना गइन् कता ?
३. ताकेर कुर्सी जहिल्यै ढुकी–ढुकी
षड्यन्त्र गर्दै रहने लुकी–लुकी
ढाँटेर के भो सुकिलो सधैँ म ता –
भन्ने नियालुन् हसिना गइन् कता ?
४. को बोक्छ राँको जनता उठाउँदै
चाट्छन् झरेको रस ती रमाउँदै
बिक्नेछ मेरो मनतन्त्र सर्वदा –
भन्ने नियालुन् हसिना गइन् कता ?
५. पोखेर जैल्यै पसिना रुनेहरू
कामै नपाएर विदेशिनेहरू
खप्छन् सहन्छन् ननिका कथा व्यथा –
भन्ने नियालुन् हसिना गइन् कता ?
६. चिल्ला सवारी म चढे, सबै चढे
यो बङ्गलामा म बसे, सबै बसे
हाँस्छन् म हाँसे दुनियाँ जता तता –
भन्ने नियालुन् हसिना गइन् कता ?
७. ढाँटे नि के छन् दुनियाँ दिँदै मत
बिर्सी सके ती जिउका ठुला खत
मेरै प्रशंसा छ हुँदै जता तता –
भन्ने नियालुन् हसिना गइन् कता ?
८. फालेर राजा म पुगेँ उचाइमा
निर्धक्क रम्ने म भएँ रजाइँमा
कोही नल्याउन् परका कुरा यता –
भन्ने नियालुन् हसिना गइन् कता ?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।