न पुछिएको शिशा : अंशु भट्ट (कथा)
कपन अनलाइन
काठमाण्डौ,असार २९ ।
‘आरभ… आरभ… आरभ यताबाट आरभ… उताबाट आरभ.. जती खेरै खाली आरभ, हैन यो अफिसमा जसलाई जे समस्या परेनी मेरै नाम पुकार्नु पर्ने ? सबैको समस्या मैले नै बुझिदिनु पर्ने ?’
‘तर मेरो पीडाको के ? खाली आरभ, आरभ अब त आफ्नै नामले नी टाउको दुखाउँछ भन्या, मेरो यो टाउको दुखाइ, मेरो यो पिडा कसले बुज्छ ? मेरो समस्या कसले बुझिदिने ?’
घर परिवारको खुशी र असल छोराको कर्तव्य निर्वाह गर्न खुबै मिहेनत गरेर पढेर पच्चीस वर्षमै आई टी को हेड त भइयो, गाउँ, समाज, र घर परिवार मेरो प्रगतिमा खुशी त छन्, तर यो व्यस्तताले दिईरहेको मेरो पिडा बुझ्ने आखीर को छ र ! बस एक्लै गुनगुनायो रिसायो बस्यो ।
कहिले राति आयो त कहीले बिदाको दिनमा दिनभरि सुतेर बितायो, अचेल त यता उता घुम्न जाने नी मनै मरिसक्यो, साथीभाइले कर गरेर जाउँ भन्दानी कतै जाने मन् लाग्दैन ।
हूने नहुने बहाना बनायो टारीदियो ।
यस्तै छ यो काठमाडौँको व्यस्तता । सबै ब्यस्त छन् । सबै हतारमा छन् । कुन्नि के पाउनका लागि हो दौडिरहेका छन । यो काठमाडौँ सहरमा यति समय बिताए पनि अझैं बिरानो लाग्छ । प्रायः जसो त चिने जानेका हुँदैनन् । यहाँ, आफ्नै आडका छेउका पनि बाटोमा कसो ठोकिँदा पनि बोल्नु त परैको कुरो छ हेर्दा नी नहेरी सुनको डल्लो नै टिप्न हिँडे झैँ दौडेर जान्छन् ।
राति अबेरसम्म निन्द्रा लाग्दैन मलाई । हातमा कफी लिएर बाहिर बरण्डामा उभिन्छु र चारै तिर आँखा दौडाउँछु । दिनमा भन्दा रातिमा सुन्दर लाग्छ मलाई यो काठमाडौँ सहर, जता ततै झीलिमिली बलेका बत्ती, आकाशमा अनगिन्ति सजिएका ताराहरू जस्तै लाग्छ । तिनै बत्तीहरूलाई जोरी जोरी म आफ्नो नाम लेखिदिन्छु, र काठमाडौँ सहरलाई आफ्नो नामले चित्रण गर्दै केही पलको लागि भए पनि सारा थकाइ र पिडा भुलेर रमाउने कोसिस गर्छु म, राती यसरी खुल्ला आकाश मुनि बसेर जहिल्यै ।
तर मेरो यो कोशिशलाई कसैले क्षणमै भताभुङ्ग पारिदिन्छ, मेरो कोठाको सामुन्य ठीक पारी पट्टीको घरको एउटी महिला जब जब हरेक राति म बरण्डामा आएर बसेको हुन्छु, उ चुरोटको धुवाँ उडाई रहन्छे कत्ति न पुरुषार्थ गरे जस्तै ।
उफ्फ… कस्ती अलछिना आइमाई मलाई त्यो आइमाई पटक्कै मन पर्दैन । हेर्दा पनि मान्छे जस्तो त देखिनु पर्यो नि, तर त्यो आइमाई त… कस्ती छ भनेनि काली न काली शरीरमा पनि हाड मात्रै छ जस्तो, ठिङ्ग अग्ली बाँस जस्तै, यस्तो लाग्छ कसैले बाँसलाई कपडा बेरेर उभ्याइ दिएको छ। न अनुहार राम्रो छ न त स्वर नै कसै कसैलाई बनाउँदा त लाग्छ भगवान पनि भाङ् को तालमै पो काम गर्छन् कि जस्तो ।
मेरा साथिहरू ‘मेरो छेउको केटी त क्या दामी छ मनै घायल हुन्छ भन्दै सुनाउँछन् ।’
तर आफ्नो भने
मेरे सामने वाली खिड्की मे
अमावस का अन्धेरा रहता है
न सुरत अच्छी न बोल में जादू
चुरोट फुकता रहता है
भन्दै गाना गाउँदै, मुड खराब गर्दै बस्यो ।
अचेल त साथिहरूले पनि भन्न थाले ‘वा रे तेरो भाग्य आँखा चार गर्नु पर्ने उमेरमा कुरुपतालाई टटोली बस्नु परेको छ है, देख्दै डर लाग्छ यार मलाई त, लाग्छ भैंसी पनि त्यसको सामु सुन्दर देखिन्छ होला’ भनेर ।
मलाई आज पनि याद छ आज भन्दा करिब दुई बर्ष पहिले होला जब मैले पहीले पहीले त्यो महिलालाई बरन्डामा देख्थे नी भूत भनेर डराएर कति पटक त रातिमा निन्द्रै पर्दैनथ्यो । यो संसारमा यति सम्म कुरुप पनि हुँदा रहेछन् कोही मान्छे अचम्म लाग्छ ।
रूप रंग र आवरण मात्र कुरुप होर क्यारेक्टर पनि त्यस्तै दिनहुँ रक्सी खाएर टिल्ल हुन्छे । एक हातमा चुरोट अनि अर्कोमा बियर लिएर सधैँ मध्य रातिसम्म बरन्डामै बस्छे ।
प्राय कोही न कोही केटा मान्छे आएकै हुन्छन यसको कोठामा अ साँच्ची फ्ल्याट नै पो लिएकी छे क्यारे यसले त ।
त्यसलाई देखेसी झन यति मूड खराब हुन्छ नी कहिले त लाग्छ त्यसको बियरको बोतलले टाउकोमा हानेर मारिदिउ, त्यसलाई त नी देख्दा मात्रै पनि एलर्जी हुन्छ मलाई त । उफ….
दिनहरू यसरी नै बित्दै थिए, अफिसमा सबैले यो काम, त्यो काम, यसो गर्दिनु, उसो गर्दिनु भनेर टाउको दुःखाइ राख्थे, यता कोठामा पनि त्यस्तै साथिहरू घुम्न गएका बेला, एक्लै बरन्डामा बसेर यसो रिल्याक्स हुन्छु भन्यो त्यो अल्छिनी लाई देख्यो की झन मूड खराब हुने उफ…
कोरोनाले पनि ठूलै महामारीको रुप लियो । सोचेको थिए नेपालसम्म त नआई पुग्ला, तर आजबाट त पुरै लकडाउन पो लाग्यो त । स्कूल, कलेज, सरकारी कार्यालय, गाडी सबै बन्द भईसके तर हाम्रो यो प्राइभेट कम्पनी यो महामारीमा पनि ‘वर्क फ्रम होम’ भनेर तनाव दिन्छ ।
रुममा बसेर काम गर्दानी खालि त्यही अलछिनाको फ्ल्याट देखिन्छ । अब यो लकडाउन भरी त्यो अलछिनाको अनुहार हेरेर कसरी दिन बिताउ ? बाहिर निस्कन पुलिसले दिँदैन, सँगै कोठामा बस्ने सबै साथीहरू पनि गाउँघरतिर लागि हाले । तनाव छ नी यार । उफ्….
‘म असिन पसिन् हुँदै कोठामा आई पुगे, आज त्यो अलछिनासित तरकारी पसलमा जम्काभेट भयो, हिजो अस्ति आफ्नो कोठाको बरण्डाबाट देखेको उसको आकृति त के कुरुप थियो र आज प्रत्यक्ष देख्दा त आम्मै झण्डै सात्तो नै गयो मेरो ।
काली पनि के विधि काली हो पूरै हाँडी जस्ती, त्यसैमा अनुहार भरी घिनलाग्दा दाग धब्बा, ओँठ पनि फुटेका, खैरा आँखाका नानी, त्यसै ठूला आँखा अझै ठूला पार्दै मलाई हेरेर हाँसी, मलाई त यस्तो लाग्यो कि मेरो अगाडि साक्षात् कोही राक्षसनी छ, र मलाई हेर्दै हाँस्दै छ ।
त्यो अलछिनालाई देखेपछि त म यसरी तर्सिएकी हातमा समातेको टमाटर मात्रै बोकेर, अरु तरकारी तिर हेर्दै न हेरी त्यहाँ बाट कुलेलाम ठोके, अरु बेला त कस्तो कस्तो प्रस्तिथिमा पनि मर्दको छोरो भन्दै छाती पिटेर अगाडि बढ्ने म तर आज त्यो कुरुपलाई देखेर नराम्रो संग तर्सिए । पसलेहरूलाई पनि यो नआई दिए हुन्थ्यो, चाँडै गइदिए हुन्थ्यो जस्तो लाग्छ होला ।
फ्रिजबाट एउटा कोक निकाली रित्यायपछि पो याद आयो । टमाटर त ल्याए तर पैसा त दिनै पो भुलेछु । म फेरि तरकारी पसल पुगे । त्यहाँको तरकारी पसल अंकलले मलाई हेरेर मुसुक्क हाँस्दै भन्नु भो ।
‘के भयो बाबु डराउनु भो कि क्याहो विश्वसुन्दरी देखेर ।’ म केही बोल्न सकिनँ हल्का मुस्कुराएर उहाँको कुरामा समर्थन जनाए दिएँ ।
‘मेरा छोराछोरी त त्यो बाटो हिँड्न नी डराउँछन् डराएर ।’ छेउकै अर्को पसले अन्टीले घिरौंला सुम्सुम्याउँदै बोलिन ।
‘छिटो छिटो गइदिए हुन्थ्यो जस्तो लाग्छ, प्राय ग्राहक पनि डराएर भाग्छन् त्यसलाई देखेर, के गर्ने नआउनुस भन्न पनि गाह्रो ।’ अंकलले पुनः सुस्तरी बोले ।
‘मान्छे कुरुप भएपनि, बानी राम्रो छ, व्यवहार राम्रो छ भन्न लायकको पनि छैन त्यो अलछिना त दिनहुँ त्यसलाई केटामान्छे भेट्न आईरहनछन रे कतिसम्म बिग्रेकी होली त्यो आइमाई ।’ भन्दै पसले अंकलकी श्रीमती चिया लिएर बाहिर आइन् ।
हामीहरू धेरै बेर यस्तै कुराहरू गरी रह्यौँ त्यही तरकारी पसल निरै उभिएर ।
आज जम्काभेट भएर होला एकदमै नजिकबाट त्यसलाई देखें, हिजो अस्ति भन्दा नी धेरै कुरुप लाग्यो त्यो आइमाई ।
म कोठामा आई पुगेर पनि त्यसैको कुरुपतामा हराईरहेको थिएँ । साँझमा कोठाको झ्याल खोलेर त्यसको फ्ल्याटतिर चिहाएर हेरे खाना खाइवरी बियरको बोतल र चुरोटको बट्टासमेत लिई बरण्डामा आइपुगेकी रहिछे त्यो अलछिना सधैँझैँ ।
मैले जोडले आफ्नो टाउको पिटे, आभास भयो कि म पुरैरात त्यो कुरुपताको महासागरको अनन्त गहिराईमा हराई रहेको रहेछु। मलाई आज निन्द्रा नै न परी बिहान पो भएछ ।
बिहानको त्यस्तै चार या पाँच बजेको हुँदो हो, गर्मीमा पसिनाको गन्ध आइरहेको थियो म नुहाउन बाथरूम छिरे। बिहानको यस्तो समयको अनुभव सायद मैले आज भन्दा पहिले गरेको थिइनँ, त्यो सितलता, त्यो शान्त वातावरण, चराचुरुंगी मीठो आवाज गुन्जिरहेको, अनिदो भए पनि शरीरमा छुट्टै स्फूर्ति थियो ।
म नुहाएर कफी हाथमा लिएर बाहिर बरण्डामा उभिएर कफीको चुस्की लिन थाले । सायद टोलका पनि कोही उठेका थिएनन् । यतिकैमा मेरा आँखा विस्तारै चोक तिर नियाल्न पुगे, चोकमा चार पाँचवटा कुकुरहरू एकै ठाउँमा झुण्ड बनाएर सडकमा पोखिएको केही खाँदै थिए खुशीले पुच्छर हल्लाउँदै ।
कुकुर, गाईका बाच्छा, पशुपन्छी सबैको बिजोक थियो यो गर्मीमा, झन लकडाउन ले गर्दा मान्छेहरू दानापानी पनि राखिदिदैनन्थे, बिचरा ति वेजुवान जनवारको हालत खराब थियो ।
हुन त यो लकडाउनले गर्दा धेरै मानिसहरूको पनि त हरीबिजोक नै थियो, बिचरा दिनभरि ज्याला गरेर मात्रै बेलुका रोटी पक्नेहरूको अवस्था कति दुःखदायक थियो, मेरो पनि त त्यस्तै नै थियो हरेक सामानको मूल्य चारगुणा बढेको थियो, कम्पनीमा काम पनि चलिरहेको थिएन । अब त छाक टार्न पनि सकस हुँदै थियो ।
आजको यो बिहानी मेरो शुभ बिहानी थियो, डुल्न मन् लाग्यो, सधैँ भिडाम्य हुने यो राजधानी सहर लकडाउनमा सुनसान थियो, फेरि यो बिहानको समय । बाहिर कोही थिएन । त्यो चिसो हावाले मेरो गाला सुम्सुम्याउँदै अगाडी बढ्यो, त्यही हावालाई पछ्याउँदै, त्यही हावासँगै मलाई पनि बरालिन मन लाग्यो ।
कयौँ मान्छेहरू रूपभन्दा पनि मनबाट धेरै सुन्दर हुन्छन्, यस्तो कोरोनाको महामारीमा पनि, अझ यो लकडाउन को यस्तो बखतमा पनि समाजसेवा गर्न छाड्दैनन् । हाथको हाथेलिमा आफ्नो ज्यान राखेर ति भोका प्यासा गरिब दुःखी र सडकमा छट्पटीदै यताउता भौंतारिएका यी बेजुवान् जनावर र पशुपन्छीलाई पेटभरि खुवाइरहेका हुन्छन ।
अझ मलमपट्टी, औषधि र मास्क पनि निःशुल्क वितरण गरिरहेका छन् ।
मलाई पनि त अस्ति भर्खरै केही मास्क र औषधि दिएका थिए । ठूलठूला अस्पताल, मेडिकलहरूमा सिटामोलको पनि सटेज हुँदा, औषधिको मूल्य बढ्दा, यिनै समाजसेवीहरूका कारण त कतिलाई राहत मिलेको छ, कति खुशी हुन पाएका छन्, कतिले आशीर्वाद दिँदैछन् होला यिनीहरूलाई ।
आजपनि यति सबेरै हेरन यी कुकुरहरू, चराचुरुंगीहरूका लागि ठाउँठाउँमा दानापानी राखिदिई सकेका रहेछन । आखिर यस्तो सुन्दर मन भएका मानिसहरू कस्ता देखिन्छन् होला ?
अनेकानेक तर्कसँगै मेरो मन् ती सुन्दर मन् भएका समाजसेवीहरूको तस्बिर कोर्दै ब्यस्त थियो ।
हिँड्दा हिँड्दै म अलि पर शान्ति चोक नजिकै आई पुगे, त्यहाँ एउटी माहिला बुर्खा लगाएकी ति सडकका कुकुरहरूलाई खाना बाँड्दै थिईन् । साएद मुस्लिम हुन पर्छ । तर नेपालमा यसरी बर्खा लगाएर हिँड्ने प्राय कमै हुन्छन ।
एउटा काग खानाको दाउ पार्दै पोलको बिजुलीको तारमा बसेको थियो । खाना भएको ठाउँमा विस्तारै आउन खोज्थ्यो, कुकुर झम्टिन पुग्थ्यो र डराएर फेरि तार मै गएर बस्थ्यो। एकै छिनमा ती महिलाले अलि पर आएर त्यो कागलाई पनि पानी र भातको डल्लो राखिदिइन् । एकैछिनमा खै कताबाट धेरै कागहरू आए, केही परेवाहरू पनि आए ।
‘अरे ती महिला कता गइन् अघी भर्खरसम्म त यिनैका खुशीमा रमाई रहेकी थिइन् ।
ती बेजुवान जनावरको खुशीमा म यतिसम्म मग्न भएछु की उनी कतिखेर त्यहाँबाट गई सकेकी हुन् पत्तो नै पाइन ।
‘को थिइन् उनी ?कस्ती देखिन्छिन् होला ? अरूको खुशीमा खुशी हुने उनी ‘फ्लोरेन्स नाइटिङ्गेल’ जस्तै सुन्दर हुनिन् की कस्ती होलिन् फेरि किन बुर्खाले आफ्नो अनुहार छोपेकी होलिन ? यस्ता समाजसेवीको मनोविज्ञान÷संगत कस्तो हुन्छ होला ?
यस्ता हजारौं प्रश्नहरू मनभित्र तीव्रगतिमा उम्रदै थिएँ,
म तिनै प्रश्नहरूसँगै कोठामा आई पुगेँ । ढोका खोलेर बेडमा उत्तानो परेर पल्टिए, मनभरी तिनै प्रश्नहरू खेली रहेका थिए, म एकटकले कोठाको दलिन हेर्दै कुनबेला भुसुक्कै निदाए छु पत्तै पाइन ।
आज धेरै दिनपछिको निन्द्रा पूरा गरे झैँ लाग्यो, ती महिलाको व्यक्तित्व यति प्रभावशाली लाग्यो की उनको बारेमा सोच्दा सोच्दा आफैले पनि केही पाए जस्तै अनुभूति हुन थाल्यो ।
म आज पनि रातिमा निदाइन बिहान चार बजे नै बरण्डामा आएर बसे, र ती महिलाको आगमनको प्रतिक्षामा चोकतिरै आँखा दौडाई रहे । करिब बिहानको पाँच बज्नै लागेको हुँदो हो रातिको अनिदोले होला म कुर्सीमा नै झुप्प झुप्प उंग्न थालेछु । त्यतिकैमा चोक तिरबाट आएको कुकुरको आवाजले म जस्किए, उनी आइसकेकी रहिछिन् ।
कालो कुर्थामा कालै बर्खा लगाएकी उनी, ती सडकका कुकुर र अन्य पशुपन्छीहरूका लागि अलि अलि दूरी बनाउँदै दाना पानी राख्दै अगाडि बढ्दै गइन्। म पनि उनैलाई पछ्याउँदै गए । यता उता सबैतिर ती वेजुबान जनावरलाई खाना बाँड्दै आखिरमा उनी रत्नपार्क पुगिन् ।
बिहानको करिब आठ बज्नै लागेको थियो । त्यहाँ करिब बीस जना जति अरू समाजसेवीहरू थिए । कोहि खाना पकाउँदै थिएँ, कोही भोकले छटपटाई रहेका गरिब दुखिया सडक बालबालिकाहरूलाई खाना खुवाई रहेका थिए, ती महिला पनि गएर त्यही रूपमा समावेश भइन् र खाना पकाउनेहरू सँगै खाना पकाउन थालिन् ।, म अलि परबाट चियाएर हेरिरहेँ ।
खानामा दाल भात र गेडागुडीको तरकारी बनाईएको थियो। सादा खाना भए पनि सबैले मीठो मानी मानी खाँदै थिए । मलाई पनि त्यहाँ गएर ती समाजसेविहरू सँगै केही सहयोग गरौँ की भन्ने त लागिरहेको थियो तर कोरोनाको डरले उनीहरूबीच जाने आँट गर्नै सकिन । म अलि पर बाटै हेरी रहेको थिए, ती सबै समाजसेवीहरू हर्षले गदगद हुँदै गरिब दुखियाहरूलाई पेटभरि खुवाइरहेका थिए । निकै खुशी देखिन्थे ।
तर म सोचमग्न थिए तिनीहरूलाई देखेर, कोहि यति सकारात्मक र निःस्वार्थ सेवक कसरी हुन सक्छ । किनकी तिनीहरू लाई देख्दा त लाग्दै थियो कि यो कोरोना महामारीले पनि उनीहरूलाई खासै फरक पर्दैन । कोरोनाको डर कसैमा पनि देखिँदैन थियो ।
सबै समाजसेविहरू बडो रोमाञ्चका साथ खुशी हुँदै सेवा गरी रहेका थिए, ती भोका गरिब गरुवाहरूलाई, र धेरै जसोले आफूले सामाजिक कार्य गरेको थोरै स्वार्थ पनि पूरा गर्दै थिए, ती आफूले गरिरहेका सेवाहरू आफ्ना मोबाइल क्यामेराहरूमा कैद गरेर, र देखाउन चाहन्थे दुनियाँलाई आफ्ना विभिन्न सामाजिक सञ्जालमा पोस्ट गरेर। की मैले यसरी सामाजिक कार्य गरे भनेर।, तर ती बुरखा वालिलाई भने कुनै कुराको मतलब थिएन, बस ती भोकाएकाहरूका लागि खाना बनाउन तल्लीन थिइन् ।
मलाई हेर्ने मन थियो यस्तो सफा मन भएका मान्छेको अनुहार कस्तो हुन्छ होला, कतै उनी पनि आफू चिनिन बूर्खा खोल्छिन की, भन्ने लागेर म निकै बेर त्यहीं गल्ली छेउमा उभिएर उतै तेरसाई रहे आफ्ना नजरहरू तर अहँ तेस्तो भएन, उनी त निःस्वार्थ सेवामा मात्रै लागि रहिन्, सबैलाई खाना खुवाउँदै गइन्, साथमा केही कपडा हरू पनि ल्याएकी रहिछिन् सबैलाई बाढीदिइन्, तर उनीले बुर्खा खोल्नु त परको कुरा कसैसँग एउटा फोटो पनि खिचाईनन् । हेर्दा स्पष्ट बुझिन्थ्यो उनिनै त्यस समुहकी मुख्य हुन तर उनमा कुनै स्वार्थ वा घमण्ड देखिएन ।
केही बेरपछि अलि पर तिरबाट पुलिस आउँदै गरेको देखें, म लुते कुकुर जस्तै लुरुक्क गल्लीतिर छिरे, र त्यतैबाट हुँदै कोठामा आए । कोठामा पुगे पछि एउटा केटी साथी जो सामजिक कार्यहरूमा निकै नै रुचि राख्ने गर्थिन् । उनैलाई फोन लगाए र हिजो र आज बिहान आफूले देखेको सबै वृत्तान्त उनलाई सुनाएँ । यसै क्रममा मलाई थाहा भयो कि उनलाई अहिले कोरोना पोजिटिभ देखिएको रहेछ । अस्ति मात्रै टेस्ट रिपोर्ट आएको रहेछ । नत्र उनी पनि ती बुर्खावालिको समुहमा गएर आफुले सकेको सहयोग गर्दी रहिछिन् गरीब दुःखी हरूलाई ।
उनी भन्दै थिइन्– ती बुर्खा वालिको अनुहार त कहीले देखेकी छैन तर त्यसरी त्यहाँ ती गरिबहरूलाई खुवाउने खाना र त्यो समूहले गर्ने सबै सामाजिक कार्यमा लाग्ने खर्च प्राय तिनै बुर्खावालीले आफ्नो कमाईबाट दिने रहिछिन् र उनी एक २९÷३० वर्षकी बिजनेस वुमन भएको र आफ्नो व्यवसायबाट नाफा भएको ८०% दुःखी गरीब, बेसाहारा, बृद्ध आश्रम, बाल आश्रम, र सडक बालबालिका लागि शिक्षा हेतु दान गर्दि रहिछिन् भन्ने कुरा पनि गरिन् ।
उनीमा कत्ति पनि घमण्ड छैन, अझ थाहा छ उनी त एक हिन्दू हुन, यसरी समाजिक कार्यहरू गर्दा मान्छेहरूले ‘तपाई त महान’ भन्दै पछि लाग्छन भनेर नै आफूले बुर्खा लाउने गरेकी हुन रे । उनि भन्ने गर्छिन की उनको यो कार्य कसले थाहा न पाओस्, उनी सबैलाई भन्ने पनि गर्छिन असहायको सेवा गर्नु नै मानव धर्म हो तर त्यसको लागि कहिले घमण्ड गर्नू हुँदैन र कुनै स्वार्थ पनि राख्नु हुँदैन ।
साथी ती महिलाको बारेमा बोल्दै गइन् । म चुपचाप सुनी रहे, तिनै बुर्खा वालीको सुन्दर मनमा मोहीत हुँदै गए । म ती बुर्खावालीको चर्चामा यसरी हराएछु की साथीले फोन राखेको समेत पत्तो नै पाइन ।
यसरी नै दिनहरू बित्दै गए। लगभग पन्ध्र दिन पछि उनै साथीको फोन आयो। कोरोना सञ्चो भएछ उनलाई र उनी रत्नपार्क ती बुर्खावालीको समूहमा जान पनि थाली सकेकी रहिछिन् । उनी भन्दै थिइन् आज ती बुर्खा वालिसँग कुरा भयो, ‘आफु सहि हुन केवल आफूले गल्ति नगरे पुग्छ, समाजको प्रमाणको आबस्यकता पर्दैन, बस तिमी गलत नगर, गलत नियत नराख तिमीमा जुरुरतमन्द लाई सहयोग गर्ने ईच्छा हुनु पर्छ, तिमी कस्तो छौ कसरी गर्छौ त्यसले केहि फरक पर्दैन, बस तिमीमा सेवा गर्ने ईच्छा र बेसाहारा को सहारा बन्ने चहाना हुनुपर्छ भगवान सदा तिम्रो पक्षमा हुनेछन्, जब भगवान तिम्रो पक्षमा छन् भने त्यो भन्दा ठूलो प्राप्ति अरु केही हुनै सक्तैन ।’
साथि एकछिन रोकिईन र फेरि भनिन्, बुर्खा वाली कमाल की छन् कति गहिरा कुरा गर्छिन् । कुरा मात्रै होइन व्यवहारमा पनि देखाउँछिन् । अँ साँची अघि सेल्फि खिच्दै गर्दा ती बुर्खा वालिका अनुहार थोरै खिचिएको छ म पठाई दिन्छु हेर है भन्दै उनीले फोन कट गरिन् ।
केही बेरमै मोबाइलमा म्यासेन्जरको घण्टी बज्यो । मैले हत्तपत्त खोलेर हेरे । खोल्नसाथ ती बुर्खावालिका फोटोमा नजर गाडियो, म फोटो हेरेरै बेहोस जस्तै भए । बेहोस नै भए भन्दा घडीको सुईसम्म चलेको सुन्दै छु होसमा छु भन्दा मेरो मन् मस्तिष्क चल्न छोडेर एकटकले त्यो बुर्खावालिको फोटोमा अडिएको छ । बस म त्यो फोटो मात्रै हेरिरहेँ दिमाख पूरै खाली छ । म अवाक छु । शून्य छु ।स्थिर छु ।
त्यतिकैमा गाडीको हर्न बज्यो म निन्द्राबाट बिउँझिए जस्तै झल्याँस्स भए । रातिको करिब आठ बाजी सकेको थियो, यसो सामनेवाला फ्लाट तिर हेरे पाँच, छ जना अधबैँसे पुरुष र एउटी लगभग पच्चिस छब्बिस वर्षकी युवती सामनेवालि महिलाको फ्लाटको बरण्डामा आए । ती सामुनेवालि महिला तीनै थिइन् जसको फोटोमा म अघिसम्म हराई रहेको थिए । जसको चर्चा मैले साथिसँग बुर्खावालीको रूपमा गर्दै थिए र ती महिला तिनै थिइन् जसलाई मैले आजसम्म अलछिना, राक्षसनि, कुरुप, अरु के के भनेर नाक थुन्ने गर्थे आँखा पन्छ्याउने गर्थे ।
आफ्नै झ्यालको शिशालाई राम्ररी हेरेँ, पूरै धुलाम्मे देखें, साएद नीकै समयदेखि नपुछिएको थियो । मज्जाले पुछे । आफ्नो चस्मा खोलेर त्यसको शिशा पनि पुछे, र हेरे पारी बरन्डातिर र देखें त्यहाँ एक सुन्दरताले भरिपूर्ण नारी जो सबै दुःखी गरिब बेसाहारा अनाथहरूको एक मात्रै आफ्नो थिइन्, सहारा थिइन् । अनि बल्ल बुझें मैले मेरो झ्यालको शिशा नपुछिएकोले उनलाई मैले कुरुप देखेको रहेछु, मैलो उनीमा होइन मैलो मेरो झ्यालको शिशामा लागेको थियो । मैलो मेरो मनमा लागेको थियो कुरुप त मेरो सोच पो रहेछ । यदि मनको आँखाले हेरेको भए पक्कै उनको सुन्दरता देख्ने थिए ।
मैले किताबको कभर हेरेर नै किताबलाई जज गरेछु, किताबलाई बुझ्न र किताबको सार पत्ता लाउन त पूरा किताब पो पढ्नु पर्ने रहेछ । जो गल्ती मैले अहिलेसम्म गर्दै आए अब कदाचित दोहोरिने छैन । आज म अहिल्यै यो वाचा आफैसँग गर्छु र सबैलाई येस्तै सम्झाउने छु कि झट्ट देखेर मात्रै कसैलाई जजमेन्ट नगरौं ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक