ठुलो ठालु आलु :अरुणबहादुर खत्री नदी  (पुस्तक चर्चा)

ठुलो ठालु आलु :अरुणबहादुर खत्री नदी  (पुस्तक चर्चा)

कपन अनलाइन

काठमाण्डौ,असार २९ ।

कवि विजयराज न्यौपानेको ठुलो ठालु आलु नामक बाल लघुकाव्य सङ्ग्रह सातौ बाल कृतिको रुपमा २०७८ सालमा प्रकाशित भएको छ । उनको पहिलो बाल कृति सुनटिकी र जूनटिकी नामक बालकवितासङ्ग्रह २०५० सालमा निस्केको थियो । बाल र लघुकाव्य यी दुई शब्द मिलेर बाल लघुकाव्य शब्द बन्छ । नेपाली बालसाहित्यका क्षेत्रमा निरन्तर रुपमा कलम चलाइरहने स्रष्टाका रुपमा विजयराज न्यौपानेको बेग्लै छवि र पहिचान रहेको छ । उनले आफ्नो लामो शिक्षणसेवाका क्रममा बाल– बालिकासँग घुलमिल हुने सुवर्ण अवसर प्राप्त गरे । त्यो सुवर्ण अवसरलाई उनले बालसाहित्य लेखनका क्रममा प्रयोग गरे ।
गोलभिडा भन्छे सीधै, राती राम्री मै पो
सबैसित मिल्छु पनि, मझैं राम्री छ को ?
कोही भन्छन् तरकारी कोही साग सब्जी भान्छामा प्रयोग हुने तरकारीलाई कविता बनाएर लेखेका छन् । सबै तरकारीका आ–आफ्नै विशेषता छन् र मानव स्वास्थ्यका लागि ती सबैको कुनै न कुनै रुपमा उपयोगिता छ । यसै तथ्यलाई कवि विजयराजले यस काव्य कृतिमा प्रयोग गरेका छन् । कर्कलाले पात हल्लाई रुमाल हल्लाएझैं साग मुला पनि हल्ले भाका मिलाएझंै कविले लेखेका छन् । ठुलो ठालु आलु हाम्रो भान्छामा दैनिक रुपमा प्रयोग हुने विभिन्न तरकारीहरु बीचको संवादलाई कविताको रुपमा कविले प्रस्तुत गरेका छन् । सजिलो भाषाशैलीको यो काव्यकृतिको रमाइलो प्रस्तुतिले खेतबारीमा फल्ने तरकारीको रुपरङ्गको सूचना त दिन्छ नै साथै मरमसलाको उपयोग र प्राप्त हुने स्वादको प्रसङ्गले जिब्रो रसाइदिन्छ । कविले तरकारीलाई सफासँग पखालेर काट चट्ट चट्ट घिउ तेल लगाएर वैर अनि झट्ट कवितामा भनेका छन् ।
टुसा आए लेकबाट, बेसीबाट तामा
तने बोडी तन्के त्यही, लामकीराझैं लामा
कवि विजयराजको काव्यले आलु, सिमी, बोडी, परबरहरुलाई मानवी कृति गरी संवाद बोल्न लगाइएको सन्दर्भ रमाइलो त छदैछ साथै म ठुलो ठालुु, राम्रो उपयोगी छु जस्ता आफैले आफ्नो प्रशंसा गर्ने मान्छेको कमसल स्वभावलाई व्यङ्ग्य गरेको छ । वास्तवमा यसरी दैनिक रुपमा व्यवहारमा आउने तरकारीहरुको बारेमा जानकारी सहित साहित्यिक पठनप्रति आकर्षित गर्ने स्रष्टा विजयराजको सिर्जनशील क्षमता प्रशंसनीय छ । यो उनको सफलता नै हो । यस बालकाव्य सङ्ग्रहभित्रका बालकविताका श्लोकहरु स्कूलमा पढ्न जाने भाइबहिनीहरुका निम्ति सन्देशमूलक छन् । अन्त्यमा कवि न्यौपानेका यस्तै सार्थक अन्य बाल कविताका सङ्ग्रह थपिदै जाउन् भन्ने कामना गरिन्छ ।
पुस्तकः ठुलो ठालु आलु
लेखकः विजयराज न्यौपाने
प्रकाशकः अक्षरधाम नेपाल
संस्करणः पहिलो २०७८
पृष्ठः २०
मूल्यः रु.१४५।–
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।