खल्तीभित्रको राजीनामा : कात्यायन (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ,असार २९ ।
थुतुनोमा कागजहरू च्याप्दै मुसोहरू दूलोभित्र आए । कागजहरू सर्लक्क एकातिर थन्काए ।
उफ्रे, नाचे र गाए ।
रमाए ।
भलाकुसारी गरे ।
खानपिन गरे ।
डकारे ।
थकित भएर आ–आफ्नो छेउ–किनारमा लम्पसार परे ।
छुचुन्द्रोहरू पर कुनामा बसेर हेर्दै थिए मुसोहरूको कृयाकलापहरू ।
उनीहरू अचम्भित भए ।
पहिले–पहिले चोथोमा ल्याएका कागजपत्रहरू धुजा–धुजा पारेर यत्रतत्र छरपस्ट पार्थे मुसोहरू ।
तर, केहीदिनदेखि मुसोहरूको थुतुनोहरूमा ताला लागे झैँ थियो । न त मुख खुल्थ्यो, न त दाँतहरू चलबलाउँथ्यो, न त कागजहरूको दूर्गती नै हुन्थ्यो ।
मुखिया छुचुन्द्रोले साथीहरूलाई भन्यो, ‘जाओ न जाओ ! आज बन्धुहरूले सग्लो राखेका कागजहरू के का रहेछन्, हेर !’
केही छुचुन्द्रोहरू गएर, मस्त उँघेका मुसोहरूका चोथाले चोथोले च्यापेर ल्याएर, थन्काएका कागजहरू निकालेर चिच्याउँदै सुनाए, ‘हामी कठपुतली, नासिन लागेको सरकारलाई अन्तिमपलसम्म साथ दिने छौँ !’
तपाइँको प्रतिक्रिया ।