मदन भण्डारी कलासाहित्य प्रतिष्ठानमा डा सुब्बा

काठमाडौँ, ४ भदौ । नेकपा(एमाले)का पोलिटब्युरो सदस्य तथा साहित्यकार डा विजय सुब्बाको अध्यक्षतामा मदन भण्डारी फाउन्डेसनअन्तर्गत मदन भण्डारी कलासाहित्य प्रतिष्ठान कार्यसमितिको पुनर्गठन भएको छ ।
एमालेका अध्यक्ष एवम् प्रतिष्ठानका संरक्षक केपी शर्मा ओलीले आज यहाँ आयोजित कार्यक्रममा डा कृष्णबहादुर थापाको अध्यक्षताको कार्यसमिति भङ्ग गरी ३१ सदस्यीय नयाँ कार्यसमितिको घोषणा गर्नुभएको हो । समितिका उपाध्यक्षमा प्रा डा कृष्णबहादुर थापा, महासचिवमा देवी नेपाल, सचिवमा डा विन्दु शर्मा र कोषाध्यक्षमा यशोदा अधिकारी रहनुभएको छ ।
त्यस्तै सदस्यमा अनिल पौडेल, जगन्नाथ आचार्य, जयन्ता पोखरेल, देवीप्रसाद घिमिरे, देशभक्त खनाल, गणेश जिसी, नरनाथ लुइँटेल, नरेशसुन्दर सैँजु, फूलमान बल, भूमिका सुब्बा, शान्तकुमार राई, रुपक चौधरी, श्याम सापकोटालगायत हुनुहुन्छ । कार्यसमितिका सल्लाहकारमा भिक्टर प्रधान, महादेव अवस्थी, राजेन्द्र सुृवेदी, श्याम तमोटलगायत १५ जना रहनुभएको छ ।
सो अवसरमा एमालेका अध्यक्ष ओलीले कला, साहित्य, वाङ्मयका क्षेत्रबाट जनताको बहुदलीय जनवाद(जबज)का उद्देश्यलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले मदन भण्डारी जस्तै सोचेभन्दा बढी काम गर्न तथा देशभक्ति र राष्ट्रियताका पक्षमा एवम् साम्प्रदायिकता र विद्वेषकारी भावनाको विरोधमा रचना गर्न स्रष्टाहरुलाई आग्रह गर्नुभयो ।
एमालेका सचिव एवम् प्रतिष्ठानका सल्लाहकार प्रदीपकुमार ज्ञवालीले अहिले जबज कुनै दलविशेषको मात्र नभई सिङ्गो राष्ट्रलाई नै नेतृत्व गर्ने विचारका रुपमा आइरहेको जिकिर गर्दै लोकतन्त्रवादी एवम् प्रगतिशील स्रष्टाहरुलाई समेट्न प्रतिष्ठानसँग आग्रह गर्नुभयो ।
प्रतिष्ठानका सल्लाहकार प्रदीप नेपालले मदन भण्डारीको विचार ‘जबज’ जनताका पक्षमा छ भन्ने बुझाउनका लागि प्रतिष्ठानले काम गर्नुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानका अध्यक्ष डा सुब्बाले संस्थाले कला, साहित्य, संस्कृति, वाङ्मय आदिको सिर्जनात्मक विकास र सांस्कृतिक रुपान्तरणका साथ मदन भण्डारीको साहित्यिक–सांस्कृतिक व्यक्तित्वको खोजी गर्ने जानकारी दिनुभयो ।

तपाइँको प्रतिक्रिया ।