संवेदनशील परिवेश : विजयराज न्यौपाने (कविता)

संवेदनशील परिवेश : विजयराज न्यौपाने (कविता)

कपन अनलाइन

काठमाण्डौ,असार १५।

छ ताप बढ्दोसरि आज खाडी
सुख्खा खडेरी कहिले छ बाढी
प्रभाव ठूलो जलवायुमा छ
प्रभाव उस्तै मन आयुमा छ ।१।

लाग्दा डडेलो वन नै सखाप
निर्धो चरीको, पशुको विलाप
को सुन्छ सम्वेदनशील बन्दै
कहाँ छ खै मानवता नभन्दै ?।२।

फुस्रो छ धर्ती हरियो हरायो
सम्साँझमै बाघ यतै करायो
मिल्दैन आहार नमिल्छ वास
ब्रह्माण्डमै आज छ त्रास त्रास ।३।

नशुध्द हावा नछ स्वच्छ पानी
खाऊँ नअर्गानिक के छ खानी
तथापि खै चेत कता–कता हो?
विवेक खै मूल्य मनुष्यताको ?।४।

उड्दा अनेकौ दिनरात यान
छन् युध्द छेड्दा कति नै विमान
इमान रित्तै अभिमान टन्न
के बेर धर्ती अब ध्वस्त बन्न ।५।

पहाडमा डोजरको अतास
मधेश बाढी पहिरो हतास
विनासकारी अहिले विकास
निम्त्याउँदो धन्य उहि विनाश ।६।

हिमाल भन्दो हिम छैन घेरो
श्रीपेच सेतो हरिदो छ मेरो
काला कठै ! पत्थर बन्न थालेँ
उजाड संसार म देख्न लागेँ ।७।

अचेत हो या त सचेत विश्व
विश्वासिलो खै छ कहाँ भविष्य?
कस्तो धरा सन्तति निम्ति छोड्छौँ
दायित्व कैले अब बोध गर्छौँ ?।८।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।