जिउँन बाँकी जिन्दगी : जेबी खत्री (संस्मरण)
कपन अनलाइन
काठमाडौं, जेठ १२।
अब ओरालो लागिएछ ।जीवनसँग हिसावकिताव खोज्न थाल्यो मन । खासगरि उमेरका हिसावले ५० को हाराहारीमा पुगिएछ । हावाले झा¥यो एउटा पहेँलिएको पात मेरा अगाडि बाटोमा हिँड्दाहिंड्दै छेउको एउटा रूखको हाँगाबाट । कसोकसो पल्टिदैपल्टिदै आएर मेरा खाुट्टाको औँलामा अल्झियो त्यो पात । मैले त्यहाँ आफ्नै जीवन देखेँ । पहेँलिएर झरेको त्यो पात निक्कै चिसो थियो । मैले त्यसलाई विस्तारै निहुरिएर टिपेँ । एकछिन् सुम्सुम्याएँ । थाहै नपाई आँखाका खोँचखोँच भरिएछन् नुनिला आँसुले । विस्तारै बगेर झरे ओठका डिलसम्म आँसुका थोपा । लाग्यो,अब ३० वर्ष बाँच्न पाएपनि अरू केही गरिन्थ्यो कि ! मैले आफ्नो आयु आमाको आयु भन्दा १४ वर्ष बढाएँ र बुवाको हालको उमेर भन्दा ४ वर्ष घटाएर ८० वर्ष कायम गरेँ । मैले जम्माजम्मि ८० वर्ष बाँच्नु पर्छ । जिउँनु सधैँ आफ्नै लागि मात्र पनि होइन रहेछ । कहिले काहीँ अरूका लागि पनि बाँच्नु पर्दो रहेछ । ८० वर्ष भन्दा बढी बाँच्न सकेँ भने त्यो मेरो व्याजको जिन्दगी हुनेछ । बुवा ३४ वर्षको हुँदा म जन्मेको रहेछु भने आमा २९ वर्षकी हुँदा । आमाको आयुसम्म मात्र म बाँचे भने अब १६ वर्ष बाँच्ने रहेछु । मैले ठाउँठाउँमा भनेको छु । म मृत्युसँग डराउँने मान्छे होइन । जब मैले मृत्युलाई बुझेँ । मेरो छोराको र मेरो उमेर ४६ वर्षको फरक छ । अबको १६ वर्षपछि ऊ २० वर्षको हुनेछ । ३० वर्षपछि ऊ ३४ वर्षको । मेरो धेय कलिलो उमेरमै बाउआमाको मृत्युको कारण छोराछोरीका आँखाबाट आँसु नझरुन् । मलाई सधैँ यो कुराले पिरोलिरहन्छ ।
मैले यहाँ एउटा पुरानो घटना सम्झेँ । सायद हजूरआमाको मृत्युको समय हुनुपर्छ । हामी मृत्युलाई बुझ्ने भइसकेका रहेनछौँ । आमाले हामीलाई सम्झाउँने क्रममा एक दिन हामी सबै मरिन्छ । अगिपछि मात्र हो भन्नुहुँदा बहिनी रातभरि रोएकी थिई । ऊ रुँदारुँदै निदाएको म व्यूँझदा पनि रोइरहेकी थिई । यति बेला यो कुरा मैले उसलाई सुनाउँदा ऊ हाँस्छे । मलाई भने अब चाहिँ उसले पनि मृत्युलाई बुझिछे भन्ने कुराले खुसी लाग्छ । यसरी हो मृत्युलाई बुझ्ने भनेको जो अवस्यम्भावी छ । हजूरबा वित्नुहुँदा मलाई सम्झना छ । काकाले हत्ते गर्नु भएको । म पनि मलामी गएको थिएँ । उतिबेला बाउआमा जोरै हुनेले मलामी जान हुँदैन भन्थे । हामीले त्यसको पर्वाह गरेनौँ । काका घरदेखि घाटसम्म रोएको रोएकै पुग्नु भएको थियो । त्यति मात्र होइन । लास डढाएर घर फर्कदासम्म मुख विसाउँनु भएन । मानिसका आँखामा आँसु पनि कति धेरै हुँदा रहेछन् । यस्तो हत्ते गर्नु पनि राम्रो होइन । मर्नेले पनि वैकुण्ठमा बास पाउँदैनन् भनेर सबैले सम्झाएपछि बल्ल काकाका आँसु थामिएका थिए । उहाँको उमेरले त्यस्तो हत्ते गर्न त्यति सुहाउँदैनथ्यो । अहिले सम्झदा लाग्छ,सायद उहाँले त्यो उमेरमा पनि मृत्युलाई बुझ्नु भएको रहेनछ । यद्यपी आँखाका आँसु रोक्दा पनि मनको बाँध फुटेको पत्तो पाइँदो रहेनछ ! आमाको मृत्युको खबरले म झण्डै पागल भएको छु । २०६६ सालको कुरा हो । मैले पनि मृत्युलाई नजिकबाट बुझ्न बाँकी नै रहेछ । मलाई पनि मृत्युलाई नजिकबाट बुझ्न यतिका वर्ष लाग्यो । मलाई विश्वास छ । लेखक कहिल्यै पागल हुँदैन । ज्ञानुवाकर दाइले भन्नु भएको कुरा हो यो । म बेलाबेला सम्झन्छु । उसले पिडालाई शब्दमा व्यक्त गरिरहेको हुन्छ । मन माझ्ने सबै भन्दा ठूलो मेशिन भनेको साहित्य नै रहेछ । त्यसैले म यो मेशिनले बेलाबेला मन माझिरहन्छु । त्यस कारण पनि मैले यो ३० वर्ष आयु अरू थप्न खोजेको हुँ । यो पनि मेरो हातमा त के हुन्थ्यो । अगि नै जान पनि के बेर ! अपवादमा एक,दुई भए मात्र नत्र मर्न मन कसलाई हुन्छ होला र ! कोरोनाको डरले बेलाबेला थर्काउँछ अहिले यो मनलाई । मृत्यु त जुन बाटो भएर जसरी पनि आउँदो रहेछ ! जीवनका ५० औँ वसन्त त्यसरी नै विते जसरी बग्छ भीरालोमा पानी । उबडखाबड रहेछ बाटो । त्यहाँ चट्टान रहेछन् । रोकिनु पर्दो रहेछ एकछिन् उबडखाबडमा । भरिनु पर्दो रहेछ खाल्टाखुल्टी । ठोकिनु पर्दो रहेछ चट्टानउँदो । यस्तै लाग्यो । अब पो शुरू हुँदै रहेछन् जीवनका उकालीओराली, साँच्चो अर्थमा ठानेँ । यो पनि त जीवन नै हो ।लोभ लाग्न थाल्यो उमेरसँग । वितेका ती दिन फर्केर आउँने भए ! थाहै नपाई वितेको त्यो उमेर खोजेर अब कहाँ पाउँनु ! स्मृतिमा थन्किएर बसेको छ । म त्यही स्मृति कोट्याउँदै छु । मलाई समयको महत्व बुझ्न पनि समयनै खर्चिनु प¥यो । म जन्मेको ठाउँ पाँचथरको मौवा डाँडादेखि तल चुवाडे गाउँ । पहाडको दूर–दराज लोखुवा पारि ढुकुरे । त्यो भन्दा माथि मालबाँसे । अझ माथि थापा गाउँ । उता मादिबुङ,खैरेनी । यता तामाङ गाउँ र लिम्बू गाउँ । तल लखुवा खोला । त्यो भन्दा तल तमोर । तमोर पारी छथर । लखुवा खोला जो झरी परेर रहँदा असार,साउन र भदौ कुनै बेला त साँच्चै मनमा विरह चल्ने गरि नै सुसाउँथ्यो । तल तमोर नदी पारी तेह्रथुम र धनकुटा ।भैँसे, हंसमोरङ, याकचाना, शिरीषे हुँदै मूलघाट लेउती तरेर साँघुरी,धारापानीको उकालोओरालो झरेर सर्दू तरेपछि पुगिने धरान बजार । आउँदाजाँदा गोडालाई हैरान । पहिलो पटक आउँदा देखेको मैले घरैघरको सहर धरान बजार । उतिबेलै अहिलेको जत्रो नभएपनि ठूलै थियो, धरान । साथीहरूसँग बसेर छाप्री होटलमा सुँगुरको मासु र भात खाएको मलाई अहिले पनि सम्झना छ ।
नावाखोला तरेर टोखाको उकालो, दुर्दिम्बा, ६ नम्बर बुधबारे, जौँबारी हुँदै मधुमल्ला बुवाको पछिपछि दौडदै मधेश झरेको । त्यतिबेलै हो पहिलो पल्ट यी आँखाले देखेको मोटर गाडी पनि । छोटो, सानो, पुरानो जस्तो त्यो मोटर गाडी चढ्दाको डर । रोएर बुवाको दोराको फेर समाएको । ओर्लौँ, नचढौँ भनेर चिच्याएको, सम्झना ताजै छ । सबै भन्दा बढी बाल्यकालका मेरा मन मिल्ने साथीहरू जोसँग गोठालो जाँदाका ती दिन । जामुने खेततिर वस्तुभाउ चराउँन लाँदा हिलोको पिठो मुछेर सेलरोटी पकाई खेलेको । डण्डीबियो खेल्दा झेलगरि खेलेको । एकछिन्मा बाझेको अनि फेरि एकछिन्मा मिलेको । धरापे भीरमा भेडाबाख्रा चराएको । हिउँदमा भुटेका मकै,भटमास र खुर्पा, खुकुरी, बन्चरो डोकामा हालेर सोभारा खोला पारीको गोहोरे वनमा दाउरा खोज्न गएको । रातीनै राँको बालेर दाउरा खोज्न जाने हाम्रो लर्को निक्कै लामो हुन्थ्यो । कहिले त वनमा पुग्दा पनि उज्यालो हुँदैनथ्यो र हामी ओडारमा बसेर आगो तापेर उज्यालो पा¥थ्यौँ । उज्यालो भएपछि दाउरा खोज्न जङ्गल पस्थ्यौँ । म पनि दिदीहरूसँग डोको बोकेर दाउरा खोज्न जान्थेँ । दाउराको भारी पु¥याएर हामी सतिबयार खोजी खान्थ्यौँ । पर्म लाएर खेती लाउँथ्यौँ । दिदीहरू साथीसँग पर्म लाउँन जान्थे । आफ्ना दामलेसँग एकअर्कामा पर्म चल्थ्यो । पछि के भो चलिरहेको अर्मपर्म चल्न छोड्यो । खेतलाले काम चलाउँन थाल्यौँ । पछिपछि त त्यो पनि दाँतमा ढुङ्गा लागे झैँ भयो । सबै विदेशतिर हानिन थालेपछि गाउँमा काम गर्ने मान्छे पाइँन छोडे ।
रूखको टोड्काउँदो हात हाल्नु हुँदैन । साप बसेको हुन्छ । ठुङ्छ सापले भनेर गाली गर्नुहुन्थ्यो आमा । केको सुन्नु आमाका फोस्रा कुरा । हामी चराबचेरा खुब खोजी हिँड्थ्यौँ । सायद आमाले मेलो पाएर गाली गर्नु भएको हुन्थ्यो । लडेर मरिन्छ रूख नचढ्नु । कथङ्काल लडेर गरिखाने हातखुट्टा भाँचिए भने के गर्नु । यस्ता कुरा त एक कानले सुन्यो । अर्को कानले उडायो ग¥थ्यौँ हामी । हाम्रो रोपाइँको दिन थियो । धोवी खोलाको छेउमा एउटा ठूलो छतिवनको रूख थियो । त्यसको माथि हाँगाको फेदमा एउटा टोड्को थियो । हामीले हेर्दाहेर्दै एउटा चरो आएर त्यो टोड्का भित्र पस्यो । निस्केर गएको नदेखेपछि हामी चराचुरुङ्गीका सौखिन शिकारीलाई अरू के चाहियो । हामीले ठम्यायौँ । त्यसको गुण रहेछ त्यहाँ । रोपाइँमा हलीलाई भात लिएर पठाउँनु भएको थियो आमाले घरबाट । हली भोकाई सकेका हुँदाहुन् । हामी भने भात बोकेर सरासर खेत नगई चरा समाउँने सुरमा त्यतै अल्मलियौँ । चढ्यौँ विस्तारै रूख । म अगाडि थिएँ ।साथमा गाउँले एउटा साथी थियो । सास दवाएको चालमा माथि पुगेर हात हालेँ टोड्का भित्र । फुच्चे हात बलैले भेट्टाएँ समाउँन,चराको गुण,त्यसमाथि अण्डा रहेछन् त्यसका त्यहाँ । ओथारोमा बसेको रहेछ माउ । छुनासाथ चरो कराएर बल गर्न थाल्यो, उम्कन । निकैबेर लडाइँ प¥यो, त्यसको र मेरो हातको टोड्का भित्र । बलैले झिकेँ समाएर चरो बाहिर । मेरी आमै चराको अनुहार देख्दा मेरो त सातै गए जस्तो भयो । ठूलो थियो टाउको । सुगाको जस्तो तर खैरो नाक । ठूल्ठूला पहेँला आँखा थिए । खाउँला झैँ गरेर हेर्थे त्यसका आँखा मलाई । उसले नङ्¥याएर मेरो हात रगत पच्छे पारेको थियो । गुण भित्रै उसले मेरो हातसँग निक्कै लड्डी गरेको थियो । त्यस्तो डर लाग्दो अनुहारको चरो मेरा आँखाले त्यो भन्दा पहिले देखेकै थिएन । त्यो कुन चरा हो ? थाहा पनि थिएन । चुच्चो हेरेर सुगा होला ठान्यौँ । हामी त्यसलाई बोकेर बल्ल खेततिर झ¥यौँ । उतिखेरदेखि बोकेको चरो बेलाबेला आँखा अगाडिसम्म उठाएर हेर्दा त्यसले पनि मलाई आँखा नझिम्काई हेरि बस्थ्यो । खुसले त के हुन्थ्यो । रिसले होला नै । वाथ्थ परि बस्थ्यो । उसको मुटुले ठाउँ छोडे जस्तो डरले होला ढुकढुक गरिरहेको थियो । कहीँ नभएको चरो समाएकोमा पहलमानी देखाउँन हामी हतारोमा थियौँ । हामीले त्यसलाई टोपी भित्र लुकाएर टोपीको मुख मुठ्ठीले कसेका थियौँ । ऊ उम्कनलाई बेलाबेला कोसिस गरिरहेको थियो । सितिमिति उसले हाम्रो हातबाट उम्कन पाउँने वाला थिएन । रोपाइँमा भेला भएका सबैले के छ त्यो टोपी भित्र र त्यस्तो जतन गरि बोकेको भनेर खेर्न थाले । यो त हामीले छतिवनको टोड्का भित्रबाट झिकेको भनेर मैले टोपीको मुख अलिकति खोलेर देखाई दिएँ । उनीहरूले देखिसक्दा कतिपयले चिनी हाले । ए के नै समाएर ल्याएछन् भनेको त दिउँसो आँखा नदेख्ने लाटकोसेरो पो रहेछ । के गर्नु यो ? छोड्देओ विचरालाई किन समाएको ? भनेर हामीलाई खुइल्याए । बुवाले पनि छोड्देओ । हातमा कोर लाग्छ । यस्ता चराचुरुङ्गी पनि कहीँ समाउँनु हुन्छ ! भन्नुभयो । त्यसका नङ्ग्रा कस्ता डर लाग्दा थिए । टोपी उसका नङ्ग्राले मैले भन्दा बलियो गरि खुम्च्याएर समाएको थियो । सबैले यति भनिसक्दा नसक्दै मेरो हातबाट त्यो चरो फुत्केर उडिसकेको थियो । खोलापारिको बाँसघारीतिर बेग मारेर उड्यो । हामी हेरेकोहेरेकै भयौँ । हाम्रो अनुहार कालोनिलो भयो । त्यत्रोबेरको हाम्रो मेहनत र पहलमानता एकैछिन्मा समाप्त भयो । लाटकोसेरो मेरो हातबाट उम्केर गएपछि सबै जना हाम्रो अनुहारमा हेरेर हाँस्न थाले । हामी झोल घोप्ट्याए जस्तो अनुहार पारेर लाटकोसेरो उडेतिर हेर्न थाल्यौँ । हामीलाई लात हानेर उडेको लाटकोसेरोले उम्केको माछो ठूलो भनेजस्तो फेरि हामीतिर फर्केर हेर्ने कुरै भएन । ख्याल खाएनौ अब त्यही टोपी समाएर बस चरो गइगयो भन्दै हाम्रो अमिलिएको मनलाई घोच्न थाले । हामी चुपचाप आफूले सक्ने काम भित्ताको झार उखेल्न थाल्यौँ । रोपाइँको दिन चाम्रे भात हुन्थ्यो खाजा । हामी कति खेर खाजा खाने बेला हुन्छ र आमाले पकाएर पठाएको पहेँलो चाम्रे भात खान पाइँन्छ भनेर पर्खि बस्थ्यौँ । हिलो छेपिएर हाम्रो अनुहार चिनिनसक्नु कट्कट् हुन्थ्यो । आहा ! त्यो बेलाको रमाइलो विर्सिनसक्नु नभए यति बेलाको सम्झनामा के आउँथ्यो ! त्यो बेलाका साथी–सङ्गी,मेलापात । सकेको काम मन लागे ग¥यो नलागे कर थिएन । अहिलेको जस्तो जीवनको भारी कहाँ हुन्थ्यो र ती कलिला बालसुलभ हाम्रा काँधमा । बाल्यकालका ती दिन सारै लोभ लाग्दा छन् । सबै भन्दा लोभ लाग्दा दिन त हामी घर माथिको दाउराको खल्यो मुनि बेहुली लुकाई खेल्थ्यौँ । घरका पेटीउँदो कमिलाले आफू भन्दा ठूलो शिकार धुरिएर बोकी हिँडेको हेरि बस्थ्यौँ । तिनलाई मन पर्ने शिकार खोजेर तिनका अगाडि राखिदिन्थ्यौँ । एकछिन्मा ती कमिलाहरू शिकार बोक्न ताँती लागेर आउँथे । हामी खुब रमाइलोसँग हे¥थ्यौँ । हामीले हेर्दाहेर्दै तिनीहरू शिकार आफ्नो घर भित्र ओसार्थे । हामी तिनको मेहनत र बलसँग खुब रोमाञ्चित र आश्चर्यचकित हुन्थ्यौँ । विमार देखाएर स्कुल नगई साथीसँग खेल्न गएको अहिले सम्झन्छु । त्यो बुवाआमाका लागि नभएर आफ्नै लागि थियो ।
म निम्न मध्यम वर्गीय परिवारमा जन्मे,हुर्केको मान्छे । पहाडको दुर–दराजमा घर थियो ।१९९० सालको महा–भूकम्पपछि बनेको हाम्रो २ तले रातो माटोले पोतेको घर थियो । वारिपारि अरूका चुनले पोतेका उज्याला घर देख्दा म बुवाआमालाई हाम्रो घर पनि चुनले पोतौँ । राम्रो देखिन्छ । किन नपोत्ने ? भनेर पिरोल्थेँ । बुवा हामीलाई चुन फाप्दैन । चुनले पोत्नु हुँदैन भन्नुहुन्थ्यो । त्यस्तै भएपनि हामी दशैँमा फूलपाती आउँनु भन्दा अगि नै रातै माटोले भएपनि घर पोतेर चिटिक्क पा¥थ्यौँ । मैले जान्दादेखि हामीलाई एक छाक खान र एकसरो लाउँनको दुःख थिएन । हामी ठाउँ अनुसार चाडपर्व राम्रैसँग मनाउँथ्यौँ । त्यतिबेला प्रायःदशैँमा मात्र वर्षमा एक पटक नयाँ लुगा लाउँन पाइँन्थ्यो । दशैँ आएपछि राम्रा लुगा लाउँन पाइँन्छ । मिठो,मसिनो खान पाइँन्छ भनेर हामी दशैँ आउँनु भन्दा पहिलेदेखि नै खुसीले कत्ति उफ्रन्थ्यौँ । ती दिन सम्झदा लाग्छ जीवन त पहिल्यै विताइएछ । समयले जीवनको बिट मार्दै ल्याएपछि मन पनि अतीतको सम्झनामा विरक्तिदै जाँदो रहेछ । अहिले सम्झदा साँच्चै सुनौला दिन रहेछन् ती जीवनका । फर्किन मिल्ने भए जीवनको यात्रामा फर्केर उहीँ पुग्न हुन्थ्यो । कहिले काहीँ त यस्तो पनि लाग्छ । उमेरले ओरालो लाग्दै गएपछि जीवन आफैँमा रित्तदै जाँदो रहेछ । मलाई विगतका दिनले बेलाबेला घच्घच्याइरहन्छन् । जो सबै स्मृतिमा खात लागेर बसे । हामी स्कुल छोडेर काफल,ऐसेलु खान जान्थ्यौँ । कत्ति पटक स्कुल नपुगि बिच बाटोबाटै फर्केका पनि छौँ । बाल्यकालका ती साथीहरूसँग भेट हुन पनि अब त टाढाको कुरा जस्तै भयो । सबै भन्दा बढी त तिनै साथीसङ्गी र त्यही ठाउँको याद आउँछ जोसँग सँगसँगै खेल्यौँ,सँगसँगै हुर्कियौँ,सँगसँगै बढ्यौँ र सँगसँगै पढ्यौँ । त्यतिबेला यतिकै पुग्छ होला झैँ लाग्थ्यो । अनि लाग्थ्यो,यी सबै जीवनका स्थायी कुरा हुन् । जीवनमा कुनै कुरा पनि स्थायी रहेनछ । ती दिन गए । यी दिन आए । जिउँन बाँकी अबको जिन्दगी पनि त्यस्तै रोमाञ्चक,आनन्ददायी र स्मरणयोग्य भइदिए जीवन कस्तो हुन्थ्यो ! म यतिबेला लक डाउनको पालना गरिरहेको छु । कोरोनाले मन थर्काइरहेको छ । सङ्क्रमितहरू बढेकाबढेकै छन् । कोरोनाकै कारण विश्वमा ७००००० भन्दा बढी मानिसको मृत्यु भइसक्यो । अझै कतिले ज्यान गुमाउँने हुन् । आज ३२ साउन २०७७ गाउँ शिल गरिएको छ । लक डाउन गरिएको त ५ महिना हुन लाग्यो । यसरी गाउँ शिल गरिएको पनि यो दोस्रो पटक हो । अब त आफ्नै घर पनि जेल जस्तै लाग्न थालेको छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक