प्रश्नहरुको अन्त्येष्टि : गोपी रुपाखेती (कविता )
कपन अनलाइन
काठमाडौं, जेठ १२।
मेरो एउटा प्रश्न थियो
तिमीले जवाफ दिनुभन्दा
उल्टै मभित्र थुप्रै अरु प्रश्नहरु जन्माईदियौ
प्रश्नहरु तिमीसँग थिए
तिमीले जवाफ अन्तै खोज्नु भन्यौ
कहाँ खोज्ने जवाफ ?
फेरि अर्काे प्रश्न तेर्सियो
जवाफहीन प्रश्नहरुको संगालो बोकेर
म यत्रतत्र भौंतारिई रहें
छैन कोहि पनि छैन जवाफ दिने ।
मैले मन्द वायु खोजेको थिएँ
तर आँधी र हुरी चल्यो
मैले रिमझिम वर्षा खोजेको थिएँ
मुसलधारे वर्षा चल्यो
मैले अलिकति न्यानो मात्र खोजेको थिएँ
तर खडेरी चल्यो अनि लू चल्यो
भोक मेट्न एक गाँस खोजेको थिएँ
तर भोज चल्यो अनि मोज चल्यो
मैले त पीडाले पुरिएको मुहारमा
अलिकति मुस्कान खोजेको थिएँ
तर यहाँ त छुट्टै अट्टहास चल्यो ।
प्रश्नहरु ओईलाउँदै गए
जवाफहरु डाँडापारी भए
मन पाक्दै गयो
भरोसा थाक्दै गयो
दरिलो विश्वास गल्यो
सुरिलो आभास ढल्यो
हुँदा हुँदा एउटा प्रश्नबाट सुरु भएको
मेरा अनगिन्ती प्रश्नहरुको
अब त सामुहिक अन्त्येष्टि चल्यो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक