क्रमभङ्ग : मित्र ‘उराठी’ गौतम (लघुकथा)

क्रमभङ्ग :   मित्र ‘उराठी’ गौतम (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ,बैशाख २२।

‘ओहो ! निसास्सिएँ म त । यो संसारमा एकैछिन टिक्न पनि गाह्रो भयो । कहाँ जाउँ प्रभु ?’ मोवाइल फोनमा सामाजिक सञ्जाल नियालिरहेको भानुले अनायासै विरक्ति पोख्यो ।

‘हैन् के भन्छ यो ? के भएर निसास्सिइस् ?’ छात्रावासको छतमा हावा खान जुटेका समूहको झपेन्द्रले फ्याट्ट सोध्यो ।
‘हेर त यो संसार कति दुःखी छ ? हरेक दिन बलात्कार, हत्या, लुटपाट, वेइमानीका घटना घटिरहेका छन् । विभिन्न स्वार्थले भयानक युद्ध निम्तिएका छन् । दैवी प्रकोप र दुर्घटनाले आक्रान्त छ मान्छे । रोग, भोक, शोक सहेर पनि बाँच्न चाहान्छ । बाँच्नका लागि कति संघर्ष गर्छ मान्छे ? यो सब देखेर मलाई त असैह्य पीडा भयो।’ बडो अनौठो पाराले गम्भिर भाव व्यक्त ग¥यो भानुले ।
“के साइको जस्तो कुरा गर्छ यार ! संसार यसै गरि त चलिराछ । सबैले यस्तै भोग्ने त हो बाँचुञ्जेल । पूर्खादेखि भोग्दै आएको निरन्तर चलिरहन्छ सृष्टि रहुन्जेल । जन्म, संघर्ष अनि मृत्यु ।’ हर्षनाथले हल्का उल्याउने पारामा भन्यो ।
सबै साथीहरु गलल्ल हाँसे ।
यस्तै गफगाफमा मस्त रहेका उनीहरु एकैछिन पछि आआफ्नो कोठातिर लागे।
‘जन्म पछि मृत्यु निश्चित छ भने केका लागि यत्रो संघर्ष ? जन्मनु, दुःख भोग्नु, तँछाड मछाड गर्नु, रोगी हुनु, बुढ्यौली सहनु अनि मर्नु छ भने किन जन्मनु ? पूर्खादेखि यही क्रम चलेको छ । सृष्टि रहुञ्जेल यही भोग्नु पर्छ भने क्रमभङ्ग किन नगर्ने ? आफू त दुःख भोग्यौँ भोग्यौँ सन्ततिलाई पनि किन यो जञ्जालमा फसाउने ? तसर्थ जन्माउने क्रम नै भङ्ग गर्नु दुःखको निवारण हो । मैले यो क्रमभङ्ग गर्न चाहान्छु । यो जञ्जाल भोगेर त्यो सुदूरको मृत्यु कुर्न चाहान्न । म आजै त्यो गन्तव्य हासिल गर्छु ।’
अर्को बिहान भानुको टेवलमा यस्तो लेखेको पाना भेटियो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।