गजल: विष्णुप्रसाद आचार्य ‘अतृप्त’
कपन अनलाइन
काठमाण्डौ,चैत १७।
मान्छेसँगै डराएर कहिलेसम्म भाग्छ मान्छे ?
फराकिलो सडक छाडी कति छेउ लाग्छ मान्छे ?
आफ्नो खुसी जतनसँग अरु निम्ति साँचीसाँची
घ्याम्पोभित्र केरासरि कतिन्जेल पाक्छ मान्छे ?
आफू मान्छे, अरु मान्छे,मान्छे फरक देखीदेखी
कतिन्जेल सबैलाई ‘बन्धु’ भनी डाक्छ मान्छे ?
आफ्नै मुटु टुक्रा पारी चिलगिद्धलाई लुछाएर
दानवीर कर्ण बन्दै कति दया माग्छ मान्छे ?
चामल सरी पिठो सरी भाइभाइमा चल्छ भन्दै
आफैँ हार्ने बाजीमात्र कतिन्जेल थाप्छ मान्छे ?
मान्छेलाई उखेलेर त्यही डोबमा पीपल सारी
छायामुनि मूर्ति पुज्दै कति देउता भाक्छ मान्छे ?
शिरदेखि पाउसम्म फोहोरको दुर्गन्धित मूर्ति भई
कतिन्जेल हिलो छ्याप्दै चोर औँला ताक्छ मान्छे ?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।