तिमी गर्छेउ भने मसँग सहयात्रा : डिल्लीराज के.सी.(कविता)

तिमी गर्छेउ भने मसँग सहयात्रा : डिल्लीराज के.सी.(कविता)

कपन अनलाइन

काठमाण्डौ,चैत १७।

तिमी गर्छेउ भने मसँग सहयात्रा
गन्तव्य पुग्ने पाटोमा ठडिएका काँडाहरु पन्छाईदिउला
पन्छाईदिउँला तिम्रो आँचल खोस्ने ऐंजेरुहरु
जीवनको दौड धुपले थाकेर लखतरान पर्दा,
बनिदिउला विश्राम गर्ने वर पिपलको चौतारी
राखिदिउला अञ्जुलीमा घैलाको चिसो पानी
त्यतिबेला फेर्ने छ्यौ तिमी आनन्दको श्वास,
गर्ने छ्यौ पीडा बिर्सिएको प्रत्याभूति

तिमी गर्छेउ भने मसँग सहयात्रा
म बनिदिउला तिमी चढ्ने सफलताको सोपानको सिडि
तिमी चढ्ने सफलताको रुखको अखता
बस ! पाईला चाल्ने अदम्य हिम्मत राख्नु तिमी

तिमी गर्छेउ भने मसँग सहयात्रा
सफरमा लाग्ने पट्यार मेट्न सुनाईदिउला
हाँसोका बन्दुक पट्किने चुट्किलाहरु
सुनाईदिउला वाह ! गजल,
सुनाई दिउला सुन्दर कविता र गीतहरु

तिमी गर्छेउ भने मसँग सहयात्रा
ऐना जस्तै चिल्लो सिला बनिदिउला कुनै देउरालीमा
जहाँ देख्नु तिमी आफ्नै प्रतिबिम्ब
अध्ययन गर्नु आफ्नै अनुहार
मिलाउनु रेसमी कपालका धर्साहरु
अनुहारको धुलोले भ्रमित बनेर
मलाई पोछिरहनु केही समय
म महसुस गर्न सकु कोमल हातका पौजाको स्पर्श

तिमी गर्छेउ भने मसँग सहयात्रा
सँगै चुमौला सफलताको शिखर
फहराउला खुशीको ध्वजा
नाचौंला उमङ्गको नाच ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।