म के गरूँ : सन्तोष कुमार पोखरेल (कविता )

म के गरूँ  : सन्तोष कुमार पोखरेल (कविता )

कपन अनलाइन

काठमाण्डौ,चैत १७।

प्रेम, बिहान ओच्छ्यानबाट उठ्दा सकिन्छे
र फेरि रात परेपछि उदाउँछे ।
उ तिलस्मी अाँखा लिएर मोहिनी लाउँछे
घरि झुल्किन्छे, सुन्दरताले लट्ठ पार्छे
अनि नेपथ्यमा हराउँछे ।
हराउने उ घरिघरी याद भने आउँछे ।

यो केटाकेटीको खेल हो, खेलको अन्तर,
देखेर साधुहरू हाँस्छन्
अनि प्रकृति लजाएर मुख छोप्छे
आफ्ना कोमल अङ्ग लुकाएर
एउटी तरुनीले आफ्ना अङ्गहरू छोपेझै
निरन्तर ।

म देख्छुँ नारी प्रकृति हो
अनि प्रकृति नारीसदृश छे ।
मैले सौन्दर्यका कविता कोर्दा प्रकृति अगाडि आउँछे
उ मुसुक्क मुस्कुराउँछे
अनि छिनभरी हराउँछे ।
फेरि देखापर्छे, कविको मन हर्छे
उ मोहिनी हो, उ सक्षात सृष्टि हो
मेरा सृजनाको व्योमल वृष्टि हो ।

मैले प्रेमका कविता नलेख्ने जमर्को गरेको
सौन्दर्यका कविताले मेरा पानाहरू चैँ भरेको,
यो कुरोको याद फेरिफेरी दिलाउँछे ।
नारी मेरो मानसमा एकफेरा फेरि उदाउँछे ।
मैले सौन्दर्यबाट आइमाई र आइमाईबाट सौन्दर्यलाई
छुट्ट्याउन प्रयाश गरेको हूँ
सफल हुनसकिरहेको छुइँन ।
म रनभुल्ल छु ।

यी मेरा अहिलेसम्मका कथा हुन्
यिनै मेरा मनका व्यथा हुन् ।
म के गरूँ ?

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।