छर्दै नयाँ रोशनी : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ,चैत १७।
आयो फेरि डुली डुली जल घडा छल्काउँदै बादल
पाखा फाँट हुँदै गए चहकिला झल्काउँदै गाजल
थाले उठ्न रमाउँदै वन बुटा उल्लास नौलो बुनी
आएको छ वसन्त भन्छ जगले छर्दै नयाँ रोशनी ।
फूल्छन् फूल गरेर चुल्बुल अहा ! माया कसैको मिली
झर्छन् श्वेत कला भरेर खहरे छाया कसैको मिली
मुस्काईकन हेर्दछन् हिमचुली हाँसो कसैको चुनी
आयो चैत्र वसन्तसाथ दिलको छर्दै नयाँ रोशनी ।
चोखा पल्लव पालुवा चहचही नाच्दै उठे हल्हल
पंक्षी चिर्विर गर्दछन् छ कि त्यहाँ वार्ता तथा छल्फल ?
हावा सर्सर दौडिँदा गगनले पायो नयाँ जीवनी
चम्यो सन्त वसन्तको चहकिलो छर्दै नयाँ रोशनी ।
वर्षाको भय छैन छैन पहिरो आतङ्कको मञ्चन
आनन्दीपन भर्दछन् नद नदी बग्दै सफा कञ्चन
कोदालो र हलो झिके कृषकले वैशाख प्यारो चुनी
पोको यो ऋतुराज खोल्छ सुखको छर्दै नयाँ रोशनी ।
बन्दी घाम थिए कहाँ र कसले जालो हटायो सब ?
बन्दी फूल थिए कता र कसले पालो कटायो सब ?
नाङ्गै बोट थिए तिरस्कृत त्यसो गर्ने थियो को खुनी ?
आयो मुक्त गरी वसन्त जगमा छर्दै नयाँ रोशनी ।
माटाको अब चाहना छ फलले संसार भर्नेतिर
बाटाको पनि छैन मुस्किल डुलौँ छन् स्वच्छ पाखाभिर
हाँस्दै लाल गुराँस भर्दछ जहाँ यो यामको मोहनी
बाह्रै मास डुलोस् वसन्त यसरी छर्दै नयाँ रोशनी ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक