ताजा तरबुजा : प्रा.डा.कपिल लामिछाने (लघुकथा)
कपन अनलाइन
काठमाडौं,चैत १०।
काठमाडौं,चैत १०।
‘लौ आयो ताजा तरबुजा ।’
साथीहरूसँग गफिँदै थिएँ । ठेलावालाको आबाजले मेरो ध्यान तान्यो ।
ठेलामाथि तरबुजा भरिभराउ थिए ।दुई चारवटा काटेर दुई फ्याक पारिएका थिए । मुख रसायो ।
ऊ ग्राहक खोज्नमा भन्दा छिटो छिटो बाटो काट्ने ध्याउन्नमा देखियो ।
‘गर्मीले गर्दा होला ।’ मैले सोचेँ ।
मैले टोपी मिलाउँदै भनेँ, ‘एइ ! के हो ?’
उसले भन्यो, ‘ताजा ताजा तरबुजा हजुर !’
उसले एक फ्याकबाट दुई चाना काटेर मेरो हातमा थमाइदियो र पैसा नपर्खी ठेला ठेल्न थाल्यो ।
‘ए ! कति हो यसको ? ला ।’ मैले भनेँ ।
उसले परैबाट मुसुक्क हाँसेर भन्यो, ‘पर्दैन हजुर । त्यत्तिको पनि के लिनु, हजुरसँग?’
‘हामी पनि खान्थ्यौँ नि । यस्तो गर्मी छ ।’ साथीहरूले भने ।
मैले भनेँ, ‘ए ! रोक । यता ले । एउटा सिङ्गै किन्छु ।’ मैले कड्केर भनेँ ।
उसले सुनेको नसुन्यै गरी ठेला कुदायो ।
मैले सिठी बजाएँ र दौडेँ । ठेलानेर पुग्दा ऊ देखिएन । ठेला त्यहीँ थियो ।
बोलाएँ । बोलेन । यताउति हेरेँ ।
देखिएन ।
ठेला चौकीमा ल्याएँ । तरबुजा काट्न लगाएँ । एक, दुई, तीन । जति सग्ला तरबुजा काट्यो, भित्र त सुनका बिस्कुट भरी भरी ।
म अकस्मात् चिच्याएँ, ‘पक्डी त्यल्लाई !’
सहकार्य : कपन बानेश्वर साहित्यिक
तपाइँको प्रतिक्रिया ।