परोपकारी : डा. कुसुमाकर शर्मा गौतम ( लघुकथा)
कपन अनलाइन
काठमाडौं,चैत १०।
काठमाडौं,चैत १०।
‘आफूले केही गर्न सक्दैनौ । तर कसरी खुसी देखिन्छौ बाजे ?’ खरक सिंहले माटाको घैँटोबाट पानी सारेर कान्छा अर्जेललाई दिँदै प्रश्न ग¥यो ।
एक लोटा पानी घटघट पिएपछि कान्छा अर्जेल बोले ‘दुःख त हाम्रा साथी हुन् खरकसिंह । अनि तिनैलाई मनमा किन लिनु ? कसैलाई केही चाहिएको बेलामा माग्नेको नियत र नियति नहेरी निस्वार्थ भावले आफूसँग भएको कुरा दिएको कुरा सम्झ्यो भने मनमा आनन्द आउँछ । त्यसैले खुशी बनाउँछ ।’
‘तिमिसित के थ्यो होला र अरूलाई दिने ? आफै त यस्तो वृद्धाश्रममा छौ मसित ।’ खरकसिंहले जिस्काउने पारामा बोल्यो ।
‘धन, सम्पति दान गर्नु मात्रै दिनु हैन । स्कुल, कलेजमा ज्ञान दान गरेँ । जाँचमा मेरो उत्तरपुस्तिका नक्कल गरेर धेरै पास भए ।’
‘अरू के गर्यौ त ?’ खरकसिंहले अझै प्रश्न थप्यो ।
‘जति दिए पनि नपुग्ने रहेछ मान्छेलाई । मेरो दाजु लालची थियो । मेरो सम्पत्तिमा आँखा गाड्यो । ठगेर, लुटेर लैजाला भनेर मेरो सम्पत्ति उसलाई दिएँ । बुङ्गा भएपछि यी यहीँ बाँचेको छु सरकारी वृद्ध भत्तामा ।’ कान्छा अर्जेलले एक सास मै कुरा खोले ।
‘तिम्रो दाजु पापी रैछ ।तिमिसँग फेरि केही माग्न आयो भने दाजुलाई के दिन्छौ त ?’
कान्छा अर्जेलले मुसुकुराउँदै भने, ‘अहिले मसँग भएको मेरो उमेर ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक
तपाइँको प्रतिक्रिया ।