के श्रीकृष्ण श्रेष्ठले डा.राजन भट्टराईको “ग्रिन सिग्नल”मा नगर अध्यक्ष दावी गर्ने तयारी गरेका हुन् ?

के श्रीकृष्ण श्रेष्ठले डा.राजन भट्टराईको “ग्रिन सिग्नल”मा नगर अध्यक्ष दावी गर्ने तयारी गरेका हुन् ?

कपन अनलाइन
काठमाडौं,चैत ९।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको दोश्रो अधिवेसन नजिकिदै गर्दा राजनीतिक बजारमा विभिन्न हल्ला र चर्चाहरु व्यापक बनेका छन।अधिवेसन आउन एक हप्ताको समय बाँकी रहेको समयमा नगरपालिकाका हरेक चिया पसल र छलफलहरुमा नेतृत्वका वारेमा आँकलन र अनुमानहरु हुन् थालेका छन।

नेकपा एमाले बुढानिलकण्ठका अध्यक्ष प्रदिप डंगोलले अध्यक्षमा दोहिरिनका लागि छलफल र परामर्श शुरु गरेसंगै अन्य उम्मेदवार बन्न सक्ने पात्र र नेताहरुको वारेमा पनि चर्चा परिचर्चा हुन् थालेको छ।

अझ अधिवेसनको गर्मि बढिरहेको समयमा नगर कमिटीका हालका सचिव श्रीकृष्ण श्रेष्ठले नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईको ग्रिन सिग्नलमा अध्यक्ष दावी गर्न लागेको बजार हल्लाले राजनीतिक माहोल निकै तताएको छ।

चार पटक सम्म काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमाले पराजित बन्दा नेतृत्व गरेका केहि नेताहरुको अदृश्य समर्थन र डा.भट्टराईको ग्रिन सिग्नलमा सचिव श्रेष्ठले अध्यक्षमा दावी गर्ने भन्दै अहिले व्यापक रुपमा चर्चा चलाइए पछि कार्यकर्ताहरुमा पनि संसय र असमन्जस्यता देखिएको छ।

हालसम्म श्रेष्ठ र डा. भट्टराईले यस वारेमा कुनै पनि  ठोस प्रतिक्रिया नदिए पनि चार पटक पार्टी पराजित हुँदा पनि लाजै नमानी नेतृत्वमा बसेका केहि नेताहरु भने डा. भट्टराईको नाममा आफ्नो राजनीतिक स्वार्थको रोटी सेक्ने प्रयासमा रहनुलाई कार्यकर्ता पंक्तिले भने खासै नरुचाएको एक नगर कमिटी सदस्यले बताएका छन।

विगतमा पनि डा. भट्टराईको मौनता र सादगीपनलाई भजाएर क्षेत्रको राजनीतिलाई दुषित बनाउने प्रयास गरिएको बताउदै ति सदस्यले यस पटक पनि श्रीकृष्ण श्रेष्ठलाई मोहोरा बनाउदै क्षेत्र नं ४ र ५ विचको विवाद झिक्न खोजेको अनुमान गर्न सकिने धारणा राखेका छन।

आउने हरेक निर्वाचनमा शशक्त दावेदारका रुपमा रहेका श्री कृष्ण श्रेष्ठलाई अगाडी सारेर उनको व्यवस्थापन गर्ने प्रयास गरिएको हो कि उनलाई पाखा लगाउने प्रयासमा नेताहरु लागेका हुन् ? भन्ने प्रश्न पेचिलो बनेको बेला डा. भट्टराईको नाम आउनुलाई निकै चासोका साथ हेरिएको छ।

काठमाण्डौ क्षेत्र नं ४ मा रहेका ३२ वटै बुथमा नेकपा एमाले पछाडी पर्दा समेत नैतिकता देखाउदै कुनै पनि जिम्मेवारी वा हारको वारेमा चु सम्म नबोलेका कतिपय नेताहरु हम तो डुबे सनम तुमको भी ले डुबेंगे भने झैँ निर्वाचन क्षेत्रीय मुद्दालाई उचालेर आउने स्थानीय र प्रदेस निर्वाचनलाई समेत पार्टीलाई रसातल तर्फ लान अग्रसर हुनु खेद जनक भएको भन्दै नगर कमिटीका एक पदाधिकारीले यस्तो मुद्दा र प्रयासलाई खारेज गर्नुपर्ने बताउछन।

संकटमा शम्भु प्रसाद भट्टराई  

हाल नगर कमिटी सचिव रहेका श्रीकृष्ण श्रेष्ठले अध्यक्षमा दावी गर्ने तयारी गरेको बजार हल्ला संगै उपाध्यक्ष शम्भु प्रसाद भट्टराई संकटमा परेको चर्चा एमाले वृतमा चलेको छ। बुढानिलकण्ठमा हाल चलेको हल्ला जस्तै डा. भट्टराईले श्रेष्ठलाई ग्रिन सिग्नल दिएको खण्डमा शम्भु भट्टराई स्वत नगर कमिटीबाट विदा लिनुपर्ने वा प्रदिप डंगोलसंगै उपाध्यक्षको उम्मेदवार बन्नुपर्ने अवस्था सिर्जना हुने आंकलन गरिएको छ।

दुई पटक वडा अध्यक्ष निर्वाचित भएर सुशासन तथा क्षमता विकास समितिको संयोजक हुदै आगामी निर्वाचनमा नगर प्रमुख पदको शशक्त दावेदारका रुपमा देखीएका भट्टराईलाई जिल्ला सदस्य पदको ललिपप देखाउदै नगर कमिटीबाट बहिर्गमन गराउने प्रयास हुन् थालेको भेउ उनले पाएका छन कि छैनन् त्यो भने आउने समयले देखाउने एक बुद्दिजिबि बताउछन।

निकै रोचक र प्रतिस्पर्धा हुने अनुमान गरिएको जिल्ला कमिटीको निर्वाचनमा सदस्य बन्न नसकेमा आउने निर्वाचनमा उपाध्यक्ष भट्टराईको दावी कमजोर हुने आँकलन गरेका स्थानीय नेताहरुले अहिले धुप हालेरै उनलाई माथिल्लो कमिटीमा जान उचाल्ने प्रयास गरेको ति बुद्दिजीवीको भनाइ रहेको छ।

निर्वाचन क्षेत्रीय मुद्दा उचालेर स्थायी गुट सृजना गर्ने प्रयास 

नगर अधिवेसनलाई मेलो बनाएर बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेका गुट निर्माण गर्ने प्रयास गरिएको भन्दै कार्यकर्ताहरुमा चरम निराशा र असन्तुस्टी देखिएको छ।

क्षेत्र नं ४ र क्षेत्र नं ५ भन्दै अधिवेसनको सन्निकटमा समुह निर्माणको प्रयास हुन् थालेपछि कार्यकर्ता पंक्तिमा यसले निकै ठुलो संसय समेत पैदा गरेको छ भने अझ डा. भट्टराईको नाम जोडिएर आउँदा यसले राजनीतिक वृतलाई थप तरंगित समेत पारेको छ।

यो तरंगको छाल बुढानिलकण्ठ नगरपालिकाको निर्णायक मत बोकेको कपनमा तीव्र बनेको छ भने यसले कपनमा विभाजनको रेखा प्रस्ट रुपमा कोर्ने सम्भावना समेत बढेको छ।

विगतमा सिमित घेरामा रहेर फराकिलो राजनीतिक विश्लेषण गर्न नसक्दा डा. राजन भट्टराई पराजित बनेको अवस्थालाई यस्ता हल्लाले थप मलजल गर्ने बताउदै एक जिल्ला कमिटी सदस्यले आगामी नगर अधिवेसनमा डा. भट्टराईले अभिभावकीय भूमिका निर्वाह गर्नु क्षेत्रको राजनीतिलाई निकै हितकर हुने धारणा व्यक्त गरेका छन।

डा . राजन भट्टराईले श्रेष्ठलाई नगर अध्यक्षका लागि ग्रिन सिग्नल दिएको विषय सत्य हो वा बजार हल्ला मात्र त्यो केहि दिनमा प्रस्ट हुनेनै छ।

 

 

 

तपाइँको प्रतिक्रिया ।