बन्दका कारण जाजरकोटका नब्बे हजार बालबालिका पढाइबाट वञ्चित

जाजरकोट, २९ साउन । जाजरकोटमा सोमबारदेखि भएको अनिश्चितकालीन बन्दका कारण ९० हजार विद्यार्थी बढ्नबाट वञ्चित भएका छन् ।

मध्यपश्चिमको प्रादेशिक राजधानी सुर्खेत हुनुपर्ने, ६ नं को सीमाङ्कन खारेज हुनुपर्ने मागसहित सोमबारदेखि भएको बन्दका कारण यहाँका २७८ प्रावि, नौवटा संस्थागत प्रावि, ७९ निम्नमावि, चार संस्थागत निमावि, ४४ मावि र २० वटा उच्चमाविका विद्यार्थी पढ्नबाट वञ्चित भएका हुन् ।

स्वाइनफ्लु रोगका कारण र यार्सागुम्बा टिप्न विद्यार्थी जाँदा बन्द भएको पठनपाठन अहिलेको आन्दोलनले पूर्ण बन्द हँुदा विद्यार्थी मर्कामा परेका छन् । सदरमुकाम, दल्ली, कालीमाटी, थलह, मोर्क, चौखालगायतका मुख्य बजारमा दैनिक नाराबाजी हुनुका साथै बन्द हँुदा यहाँको जनजीवन प्रभावित भएको छ । सदरमुकामका सरकारी, सङ्घसंस्था र काम पूरै ठप्प भएको छ ।

माग पूरा नभएसम्म आन्दोलन जारी रहने नागरिक आन्दोलनका संयोजक राजेन्द्रविक्रम शाहले बताउनुभयो । शुक्रबार आज पनि बन्द जारी रहँदा यहाँको जनजीवन प्रभावित भएको छ । विद्यालय खुलेमा तोडफोड हुने डरले बन्द गर्न बाध्य भएको त्रिभुवन उच्चमाविका प्राचार्य हेरम्बबहादुर शाहले बताएनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।