आलेख समाचार ः व्यावसायिक कुरिलो खेतीतर्फ किसानको आकर्षण बढ्दो

आलेख समाचार ः व्यावसायिक कुरिलो खेतीतर्फ किसानको आकर्षण बढ्दो

(वासुदेव पौडेल/रासस )

काठमाडौँ, २८ साउन । बजारमा कुरिलोको माग बढ्न थालेसँगै यसको व्यावसायिक खेतीतर्फ किसानको आकर्षण बढेको छ लगानीअनुसारको प्रतिफलका साथै बजारमा दिनप्रतिदिन माग बढेपछि किसान कुरिलोको व्यावसायिक खेतीतर्फ लोभिएका हुन् । पछिल्ला समयमा काठमाडौँका विभिन्न स्थानमा कुरिलोखेती गर्ने क्रम बढेको जिल्ला कृषि विकास कार्यालय काठमाडौँका बागवानी विकास अधिकृत रेवतीराज शर्माले बताउनुभयो ।

Kurilo-Kheti.jpg-in-nepalaawaj

शर्माका अनुसार काठमाडौँको दक्षिणकाली, फर्पिङ, थानकोट, नाङ्लेभारलगायतका स्थानमा यसको व्यावसायिकखेती सुरु गरिएको छ । काठमाडौँ बाहिर धादिङ, ललितपुर, काभ्रे, सिन्धुपाल्चोकलगायतका जिल्लामा पनि यसको व्यावसायिक खेती बढ्दो छ । विशेष गरी मध्यपहाडी क्षेत्रको भिरालो जमिनमा कुरिलोखेती गर्ने गरिन्छ । घाम पर्ने पारिलो पाखोमा लगाइने कुरिलोलाई बहुवर्षीय खेतीका रुपमा लिइन्छ । विशेषतः वैशाख, जेठ र असार महिना कुरिलोखेती गर्ने उपयुक्त मौसम मानिन्छ ।

कुरिलो एकपटक लगाएपछि त्यसबाट करिब २० वर्षसम्म उत्पादन लिन सकिन्छ । त्यसैले यो खेती दिगो आयआर्जनको माध्यम बनेको कृषि सेवा केन्द्र दक्षिणकालीका प्रमुख रघुनाथ खड्काले बताउनुभयो । नेपालमा राणाकालीन समयदेखि नै यसको खेती थालिएको बताइन्छ । यसको व्यावसायिक खेती २०३०÷३१ सालदेखि सुरु गरिएको हो । राणाकालीन समयमा जापानबाट मेरी वासिङ्टन जातको कुरिलो ल्याइएको प्रमुख खड्काले बताउनुहुन्छ ।

व्यावसायिक खेती गर्न मेरी वासिङ्टन, क्यालिफोर्निया ६६, क्यालिफोर्निया ७११, क्यालिफोर्निया ५०० र भाइकिड जातलाई किसानहरु बढी रुचाउँछन् । “यसको खेती न्यानो र समशीतोष्ण हावापानीयुक्त मध्यपहाडी क्षेत्रमा गर्न सकिने भएकाले मध्य पहाडी क्षेत्रका सामुदायिक, निजी वन तथा किसानले आफ्ना पाखापखेरामा कुरिलो लगाएर अतिरिक्त आम्दानी गर्न सक्छन्” – खड्काले थप्नुभयो । तरकारीसँगै आयुर्वेदिक औषधि बनाउन कुरिलोको प्रयोग हुने गर्दछ । जमिनबाट निस्केको कलिलो टुसालाई तरकारीका रुपमा प्रयोग गरिन्छ ।

कुरिलो १५० भन्दा बढी जातका हुन्छन् । कुरिलोको भाले र पोथी फूल भिन्दाभिन्दै बोटमा हुन्छ । पराग सेचन गर्न भाले र पोथी बिरुवा एकै ठाउँमा पर्ने गरी मिलाएर लगाउनुपर्छ । पोथी बोट भाले बोटभन्दा कम उत्पादनशील र छोटो आयुको हुन्छ । भाले बोटमा धेरै टुसाहरू पलाउँछन् तर तिनीहरूको मोटाइ भने कम हुन्छ । कुरिलो लगाएको तीन वर्षपछि मात्र उत्पादन लिनु उपयुक्त हुन्छ । एक पटक लगाएपछि हेरचाह, गोडमेल, मलजल गरे लगातार १५÷१६ वर्षसम्म राम्रो उत्पादन लिन सकिने लामो समयदेखि व्यावसायिक खेती गर्दै आएका फर्पिङका किसान श्यामकृष्ण बस्नेतको अनुभव छ ।

केही वर्षयता कुरिलोको प्राङ्गारिक खेती पनि सुरु गरिएको जानकारी गराउँदै बस्नेतले बजारमा थोक मूल्य सामान्यतः रु ३०० रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो –“बजारमा कुरिलोको माग अत्यधिक छ । अझै पनि मागअनुसारको उत्पादन हुन सकेको छैन । स्वदेशमै कुरिलो जस्ता धेरै व्यावसायिक खेती गर्न सकिए पनि रोजगारीको खोजीमा युवा विदेसिने क्रम बढिरहनु आश्चर्यजनक छ ।” कुरिलोलाई भिटामिन ‘ए’ तथा ‘सी’ प्रशस्त मात्रामा भएको पोषिलो खाद्य पदार्थका रुपमा लिइन्छ । यसमा कार्बोहाइडे«ड, प्रोटिन, क्याल्सियम, पोटासियम, म्याग्नेसियम, आइरनजस्ता पौष्टिक तत्व पाइन्छ । यसको प्रयोग सुप तथा तरकारीका रुपमा र हरियो तथा बफाइएको कुरिलो सलादका रुपमा प्रयोग ल्याउने चलन छ ।

तुषारो पर्ने क्षेत्र यसको खेतीका लागि उपयुक्त मानिँदैन । सामान्यतः माटोको तापक्रम १० डिग्री सेन्टिग्रेडभन्दा कम हुनु राम्रो मानिन्छ । हिउँदमा बिरुवा सुषुप्त अवस्थामा जानै पर्छ । खासगरी १५ डिग्रीदेखि २५ डिग्री सेन्टिग्रेड तापक्रममा कुरिलोको टुसा राम्रोसँग पलाउँछ । कुरिलोको जरा धेरै गहिराईसम्म जाने भएको हुँदा प्राङ्गारिक पदार्थयुक्त, गहिरो, खुकुलो, निकासको राम्रो व्यवस्था भएको बलौटे माटो यसका लागि राम्रो मानिन्छ । खुकुलो माटोमा कुरिलोको जरा आठ फिट गहिराईसम्म पुग्छ । कुरिलोको जमिनमुनिको भागमा गानो चिल्ला र रेसादार जरा हुन्छन् । रेसादार जराले माटोबाट लवण र पानी सोस्ने र चिल्ला जराले खाद्य पदार्थ सञ्चित गर्ने गर्दछन् ।

गानो र चिल्लो जरामा खाद्य पदार्थ सञ्चित भई कुरिलोको बहुवर्षीय अङ्ग बन्ने र त्यहाँबाट मुना उत्पादन हुने गर्छ । कुरिलोको टुसा खानयोग्य भाग हो । कसिलो मोटो तथा कम रेसादार भएको टुसा राम्रो मानिन्छ । टुसाहरु समयमा टिपिएन भने ४–५ फिट अग्लोसम्म बढ्छ र हाँगाहरु विकसित हुन्छन् । कुरिलोका लागि गहिरो खुकुलो निकासको राम्रो व्यवस्था भएको बलौटे माटोका साथै प्राङ्गारिक पदार्थ प्रशस्त भएको माटो राम्रो मानिन्छ । लवणलगायत पौष्टिक तत्व बढी हुने भएकाले कुरिलो बिरामीका लागिसमेत अत्यन्त उपयोगी पौष्टिक तत्वका रुपमा प्रयोग हुँदै आएको अर्का किसान राजाराम पौडेलले बताउनुभयो ।

पौडेलका अनुसार किसानले उत्पादन गरेको कुरिलो घरघरबाटै बिक्री हुनाका साथै काठमाडौँको बल्खु, कालिमाटी, टुकुचालगायतका प्रमुख तरकारी बजारमा बिक्री वितरण हुने गरेको छ ।

तपाइँको प्रतिक्रिया ।