पश्चिममा नेपाल बन्दको प्रभाव

दाङ, २८ साउन । आ–आफ्ना मागसँगै विभिन्न पार्टी र सङ्गठनले आयोजना गरेको बन्दका कारण दाङ, रुकुम र जाजरकोटको जनजीवन प्रभावित बनेको छ । पश्चिमको कञ्चनपुरदेखि पूर्वको चितवनसम्मलाई सम्मिलित गरेर ‘थरुहट प्रदेश’ बनाउनु पर्ने माग गर्दै थरुहट संयुक्त सङ्र्घष समितिले आह्वान गरेको बन्दका कारण आज दोस्रो दिन पनि दाङको जनजीवन ठप्प रह्यो ।

बन्दका कारण यातायातका कुनै पनि साधन चल्न सकेका छैनन् । तुलसीपुर, घोराही, लमही र नारायणपुर बजार पूर्ण रुपमा बन्द छन् । शिक्षण संस्था, उद्योगधन्दा र सरकारी कार्यालय समेत खुलेका छैनन् ।

यस्तै, रुकुमलाई टुक्र्याएर छुट्टाछुट्टै प्रदेशमा राखिएको भन्दै यहाँका नागरिकले विगत ५ दिनदेखि गर्दैआएको बन्द आज पनि जारी छ । बन्दका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । यस्तै, ६ नम्बर प्रदेशमा राखेको विरोधमा सल्यानवासीले पनि जिल्ला बन्द गरेका छन् । यसैगरी, ६ नम्बर प्रदेशको राजधानी सुर्खेत हुनुपर्ने तथा अहिलेको सीमाङ्कन खारेज गर्नुपर्ने माग गर्दै थालिएको अनिश्चितकालीन बन्द बिहिबार पनि जाजरकोटमा जारी रह्यो ।
प्रदर्शनकारीले आज जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना समेत दिएका छन् । ‘मध्यपश्चिम छाड्दैनौँ, सुदूरपश्चिम जाँदैनाँैं’ भन्ने नारा लगाउँदै उनीहरुले अहिले सदरमुकाम खलंगामा प्रदर्शन गरिरहेका छन् ।

लगातारको बन्दले खलङ्गा बजारमा दैनिक उपभोग्य वस्तुको अभाव देखिन थालेको छ । अहिलेको सीमाङ्कन खारेज नभएसम्म आन्दोलन जारी रहने उद्योग वाणिज्य सङ्घ जाजरकोटका कोषाध्यक्ष वसन्तप्रसाद शर्माले बताउनुभयो ।

तपाइँको प्रतिक्रिया ।