पलङ : छायाँदत्त न्यौपाने (कविता )
हो नि !
नपत्याए हेर न ऐना
कति राम्रो मान्छे तिमी
हात काटेर मलाई स्वाभिमान दिन्छौ
मेरै शिर दिएर बिदेसिन अनुमति किन्छौ
खै किन खेत बेचेर कोदालो थमाउँछौ
बाटो भत्काएर यात्रामा पठाउँछौ
साथ छुटाएर मित्रता गाढा भो भन्छौ
बजार उसलाई दिएर उत्पादन गराउँछौ
आमा–मन दुखाएर धनी बन्छौ तिमी
साँच्चै !
कति जाती छौ तिमी
मेरो झोपडी बालेर आगो ताप्छौ
आयातीत संस्कृतिसित मलाई साट्छौ
आँगन दिएर भोज खान्छौ
युवा दिएर रेमिटेन्स लिन्छौ
घर अँध्यारो पारी खेतबारी बझ्याउँछौ
सस्तोमा पसिना पोख्न उतै पठाउँछौ
घरमा सिन्को भाँच्दा इज्जत जाने मेरो
शव दहनको आगो तपाउन उतै पु¥याउँछौ
है !
कति मजाको मान्छे छौ तिमी
ढाँटछल गरी गरी अवधि पु¥याउँछौ
मत माग्नु छ नयाँ नयाँ भाषण जुराउँछौ
हो के साँच्चै सुन्दर छौ तिमी
तिमी मागी मागी घर चलाउँछौ
माग्न अनि मगाउन सिपालु छौ
तिम्रै सङ्गतले बानी परेको मान्छे
माग्नुमै त पुरुषार्थ देख्छु म पनि
हो, माग फाराम भरी भरी स्वाभिमान
बाँचेको सपना देखेर रमाउँछु उस्तै
तिमीले सिकाएको सिप मगन्तेजस्तै
यही हो जीवन निर्वाहको उत्तम विकल्प
म मागी खाने बहादुर सन्ततिको पगरी गुत्छु
तिमी तिम्रै देन रेमिटेन्स खाऊ
म श्रम सिप सस्तै बेचेर बहादुर बन्छु
परिवार भन्दा पर पुगेर केकेन गर्छु
उर्वर भूमि बाँदरलाई छाडेर
पराधीन दैनिकीसँग स्वाधीन बाँच्छु
यस्तो सुखद अवसर दिने तिमी र
तिम्रा नन्दीभृङ्गी सबै, सबैलाई सलाम छ
म आमा छलेर रमाउँछु
तिमी मलाई छलेर रमाऊ
आखिर छलमै त छ विलासी पलङ
टन्न खाऊ र पलङमै सन्च सुत
पालो मिलाई मिलाई ढुक्कले सुत !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक