लामखुट्टे महिमा : भोलानाथ सुबेदी (कविता )
कपन अनलाइन
काठमाण्डौ,फागुन ५।
बास खोज्दै घरभित्र लामखुट्टे आए
केटाकेटी बुढाबुढी सबैलाई सताए
बाजागाजा लावालस्कर लिई आउने
भात भान्सा नखोज्ने हामीलाई सताउने ।
मैले पनि स्वागत गरेँ ताली बजाएर
कति छिटो भाग्दो रैछ लात्ती बर्साएर
भरुोलि फेरि आउलास् भनी गाली बर्साएँ
तँ मोरालाई के पो गर्छु भनी तर्साएँ ।
नेता जस्तो अटेरी यसको जात रैछ
जति पटक नआ भन्यो उति आउँदो रैछ
म मोरालाई झोक चली लाठी बर्साएँ
उसलाई डराउँछु भन्दा आफैं डराएँ ।
झुलभित्र सुत्छु भन्छु हल्ला गरि आउँछ
सयौँ आउँछ कयौं आउँछ किन यति आउँछ
रगतमात्र खाई यसले कसको गीत गाउँछ
खाए अघाए भन्दै कानमै फूर्ति गाउँछ ।
न त जनता न त नेता न त कर्मचारी
झाडीभित्र लुकी बस्छ मेरो मेख मारी
यस पटक छोडीदिएँ जे जे गरिस् गरिस्
अर्को पटक आउन दिन्न पक्कै तँ मरिस् ।
मंसिरमा चुनाव भई अर्को सरकार आउँछ
त्यो सरकारले पक्कै पनि लाम्खुट्टे त मार्छ
सबै मिली लाम्खुट्टे मार्ने नेतालाई भोट हालौँ
जे पर्ला पर्ला अब लामखुट्टे दिवस मनाउँ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक