गणतन्त्र तैंले खोइ के नापिस् ? राम आचार्य ‘पुष्पप्रेमी’ (कविता )
कपन अनलाइन
काठमाण्डौ,फागुन ५।
ओ… गणतन्त्र !
बालापनको खास्टो ओडेर
तँ १७ वर्षे लक्का जवान
भइसक्दा पनि
गठबन्धनको नामसंकिर्तन जप्दै,
सहानुभूतिको कमण्डलू बोकेर
कहिले अचानोसँग त
कहिले खुकरीसँग
मितेरी लगाइस्
कहिले आलुसँग
मुला भएर मिसिइस्
त कहिले मुलासँग
आलु भएर मिसिइस्
अनि
समृद्ध नेपाल, सुखी नेपालीको
आस्थालाई निर्लज्जपूर्वक
बध गर्दै
शान्ति र समृद्धलाई
संघियताको पिताम्बरमा बेरेर
आर्यघाटतिर हिँडाइस्
ओ… गणतन्त्र !
साँच्चै भन त
तँ आएर खोइ के नापिस ?
परिवर्तनको सपनाको
झरी बर्साइस
कर्णालीमा लुकेर
मेचीलाई तर्साइस,
रोल्पामा ढुकेर
दाङलाई पड्काइस्,
गोर्खामा डुक्रिएर
माडीमा चिहान खनिस्,
रातभरी त्रासको
ज्वाला दन्काइस बगरे झुप्राहरुमा
राक्षसी मुस्कान छर्दै
सफलताको ताली पड्काइस
जङ्गल र झाडीहरुमा ।
तेरो आस्वशनको फाँको मारेर
बन्दुकको सिराने लाएर
युद्धको मोर्चामा उभिएको
रोल्पाली कान्छो मगर
आज खाडीको तातो बालुवामा
सापना सिला खोज्दैछ,
तँसँगै परेड खेलेको
गोर्खाली ठुले
अझै घर फर्किएको छैन
नानीलाई लाम्टो चुसाउदै
बाबू खोज्न निस्केकी
गोर्खाली जेठी
बम्बाईको कोठीमा
नारकीय जीवन बिताइ रहेकी छिन,
खोई के पाए त तिनले ?
फुट…?
झुट….?
लुट…..?
तँ जस्ता उपल्लो
वर्गलाई छुट…..?
ओ…. गणतन्त्र
खोई तैँले
ल्याउछु भनेको
समाजवाद खोइ ?
वर्गीय समान्ता
सामजिक न्याय
र समामुलक
समाज रुपान्तरण कहाँ छ ?
स्वदेशी रितीमा
बिदेशी प्रिती मिसाइस,
नेपाली संस्कृतिमा
पश्चिमेली बिक्रिति घोलिस्,
आफुले गाडी किनिस्
श्रीमतिलाई साडी किन्दिइस्,
तेरो कागताली प¥यो
जनताको अपुताली भयो
ओ…. गणतन्त्र !
साँच्चै छातीमा हात
राखेर भन त
तँ आएर के नापिस्?
लालीगुँरासको वाटीकामा
रमाएको रोल्पाली कान्छो
१७ वर्ष पछि
आफ्नो गाउँको
आफ्नै देशको
अनगिन्ति यादहरू
छातीभरी बोकेर फर्किदैछ
के दिन्छ ओ गणतन्त्र उसलाई ?
जनवादी कृषि क्रान्तिका लागि
तैले अर्जाप्न लाएका
ती गैँती, झम्पल,
कुटो र कोदालोमा
खिया लागेको छ,
के इलम दिन्छस उसलाई ?
थाहै नपाई सिँन्दुर पुछिएकी
गोर्खाली जेठी
आँसुको आहालमा डुबेकी
पनि १७ वर्ष भएछ
कसरी पुस्छस् तिनका आँसु ?
रुकुमको पखेरीमा हुर्केका
कयौँ बचेराहरु आज
गास र बासको अभावमा
मृत्युपत्रमा हस्ताक्षेर गर्न
विवश छन
कहाँ राख्छस उनहरूलाई ?
तँ
टुँडीखेलमा सैनिक मञ्चमा
विरामान भएर
गणतन्त्र दिवशमा
ब्यग्र छस्
हरूवा र छेरुवाहरूलाई
डाइफर लगाएर
कहिलेसम्म सुताउँछस्
काखमा ?
ओ… गणतन्त्र !
तँ आफै नढाँटी भन् त
तँ आएर के नापिस ?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक