अरे म त कवि मात्र हुँ : तिलक पोखरेल (कविता )
कपन अनलाइन
काठमाण्डौ ,पुस २८।
काममा व्यस्त भएको बेला
साहुजीले सोधे
भविष्यमा के गर्ने योजना छ
म त किताबका पाना पानामा
उत्सवको यात्रि बनेको
चिन्नु भएन क्यार
अर्को प्रश्न आयो
मन चाहेजति पैसा मिले
के गर्छौ त
कलमको जङ्गलमा
कविताको औषधी खोज्ने
यात्री हुने थिएँ
चिन्नु भएन क्यार
जीन्दगी कस्तो बितोस् लाग्छ
कताबाट आउँछन् प्रश्न मेरो लागि
उपन्यास भित्रका
पात्रहरूसँग
भट्टीमा बसेर कविता सुनाउने चिसो रहर
बोकेर न्यानोमनले वर्तमानमा
बाँचिरहेको छु
चिन्नु भएन क्यार
मर्नुभन्दा अघि के इच्छा छ
यो प्रश्म मन नपरे पनि परे झै त लाग्छ
मेरो घरको कुनामा
भव्यसँग उभिरहेको
सानो पुस्तकालय भित्रा
दुइ कोठा खाली छ
त्यहाँ पात्र पनि मेरै
विषय पनि मेरै अनि
लेखकको नाम पनि मेरै भएका
आभूषणहरूले सजाउने रहर भएको कुरा
जान्नु भएन क्यार
संसारलाई केही न केही छोडेर जालास् नि
म मुस्कुराएँ
अझै पनि साहुजीले बुझ्नु भएन क्यार
पैसा नकमाए सन्तानलाई के दिने त ?
मैले लक्ष्मी प्रसाद सम्झेँ
सिद्धिचरण सम्झेँ
भूपिलाई देखेँ
पारसमणीलाई याद गरेँ
भैरव अर्यालको पनि याद नआएको हैन
बीचमा बी.पि.लाई भुलेको पनि हैन
यी भाषीक अस्तिहरूका
भाषिक पिताले
के दिएर गए
साहुजीले पत्तो पाउनु भएन क्यार
समाजले के भन्ला जाबो
एक दुइ अक्षर लेख्नेलाई
यो प्रश्न तितो लाग्यो मलाई
सोही बखत
साहुजीको छोरो आयो
मेरो अगाडी हात जोडेर प्रणाम गर्यो
पछि साहुजीलाई
मेरो प्रश्नको जवाफ साहुजीलाई मिल्यो
तर साहुजीले पाउनु भएन क्यार।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक