मजाको तरिका : त्रिलोचन आचार्य (कविता )

मजाको तरिका : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,पुस २८।

१. “नाता समातीकन माथि जानू
जो मिल्छ त्यो चट्ट मिलेर खानू”
यो पो मजाको तरिका रहेछ –
आएर को मार्ग चिनेर छेक्छ ?
२. “आलो र पालो त कुरातिरै हुन्
कुर्सी नडाड्ने म कुरा यिनै हुने”
यो पो मजाको तरिका रहेछ –
पाइन्न पत्तो तल को रुँदैछ ।
३. “दारिद्रता पर्छ लखेट्नु भन्दै
नारा लगाइन्छ विशुद्ध बन्दै”
यो पो मजाको तरिका रहेछ –
सत्ता र भत्ता यसले दिँदैछ ।
४. “बाटो र पानी ढलको कुरामा
पत्त्याइहाल्छन् मलको कुरामा”
यो पो मजाको तरिका रहेछ –
संसार फुच्चेसरि देखिँदै छ ।
५. “ढाँटेर टेके नि लिने धनै हो
आँटेर रेटे नि लिने धनै हो”
यो पो मजाको तरिका रहेछ –
त्यो लाज त्यागेपछि को छुनेछ ?
६. “निर्धक्क खाए सुनसम्म पच्छ
त्यो सात पुस्ता तक टम्म बच्छ”
यो पो मजाको तरिका रहेछ –
यैँ शान्ति यैँ सुख्ख समेटिँदै छ ।
७. “पेशा छ के ? हो बुझ राजनीति
व्यापार भन्दा गतिलो छ वृत्ति”
यो पो मजाको तरिका रहेछ –
भै कामधेनू दुध यो दिँदैछ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।