अर्गानिक भर्सेस डिजिटल प्रेम : राजेश अधिकारी (कविता )
लजाई लजाई भेट्ने गथ्र्यौ गाई गोठालामा
कर्के नजर लगाई हेर्थ्यौ मेला–खेतालामा ।।१।।
पानी भर्ने बहानामा भेट्थ्यौं पँधेरोमा
ईशाराले नै बोल्ने गर्थ्यौ साँझको अँधेरोमा ।।२।।
मट्याङ्रामा बाँधी पत्र फाल्थ्यौं खोलापारी
परेवाले ल्याउथ्यो चिठी माई खोलावारी ।।३।।
लुकी–चिहाई हेर्ने गर्थ्यौ नाच्दै रोधिघरमा
माया प्रीति बसिहाल्थ्यो ख्यालठट्टाकै भरमा ।।४।।
बैंशालु तन रमाई डुल्यो लेक र बेशीमा
अर्गानिक माया जवान दिल बेहदखुशीमा ।।५।।
घाँसदाउरा गर्दा बेशीमा झर्दा जोडिन्थे दुई मन
सुसेली सुसाई मुसुक्क मुस्काई डुलिन्थे रनबन ।।६।।
गोठालो जाँदा बनफल खाँदा मिल्दथे दुई दिल
दोहोरी गाउँदा पिरती लाउँदा हुन्नथ्यो मुस्किल ।।७।।
खेल्दथें गुच्चा,पाङ्रा र गट्टी बालककालमा
कान्छीको मनमा गुलेली ताकी पार्दथें जालमा ।।८।।
दोबाटो ढुकी झ्याङमा लुकी कुर्दथें उनीलाई
प्रतिज्ञा गरी लगाएँ माया अनन्त जुनीलाई ।।९।।
निस्छल प्रेम पवित्र माया बाजेको पालाको
अर्गानिकप्रीति पुरानो थिती मौलिक चालाको ।।१०।।
गर्देऊ सेभ यो मेरो माया दिलको मेमोरीमा
नफालीदेऊ न डिलिट गरी रद्दीको टोकरीमा ।।११।।
राखेको छु तिम्रो त्यो फोटो दिलको कम्प्युटरमा
भगाई लान्छु चढी तिमीलाई मनको मोटरमा ।।१२।।
तिम्रो माया मेगाबाइट भए मेरो गिगाबाइट
मेरो ल्यापटपमा बस्ने खेल्ने तिम्रै मात्रै राइट ।।१३।।
प्रेम प्रस्ताव स्वीकार गरी ईमेल पठाऊ सानी
म हुँ तिम्रो दिलको राजा तिमी मेरी रानी ।।१४।।
मोनिटरमा तिमी हाँस्छौ मधुर मुस्कान छरी
स्क्रीन सेभरमा तिमी नाच्छौ छम छम गरी ।।१५।।
यो छातीको मोबाइलमा राख्छु म तिम्रो फोटो
कुल्चिएर मेरो मायानबनाऊ है खोटो ।।१६।।
रिप्लाई देऊ प्रेम प्रस्तावको कुरीबस्या छु म
एसएमएसमा उत्तर पाउनब्याकुलभया छु म ।।१७।।
मेरो दिलको वाइफाईले तिमीलाई नै खोज्छ
तिम्रो मनको म्यासेन्जरले कहिले मलाई रोज्छ ?।।१८।।
मोबाइल फोनमा भाइबर–इमो तिम्रै निम्ती राखें
वाट्सएप–फेसबुक सर्फिंग गरी तिमीलाई ताकें ।।१९।।
नभेटिकनै भिडियो च्याटमा बस्छ गहिरो प्रेम
विज्ञानको आशिर्वाद यो प्रिय डिजिटल प्रेम ।।२०।।
सहयात्रा : कपन बानेश्वर साहित्यिक साप्ताहिक