सिनेमा भवन : दिवाकरप्रसाद आचार्य (कविता )
लुब्धक र धीवरहरुले ती मृदुमत्स्य र मृगहरुलाई
बंशी र जालमा पारे जस्तै
तँपनि संगीतरुपी तीक्ष्ण बाण बर्साएर
ती इन्द्रियाधिन दुनियाँलाई घायल पार्दैछस् ।
उग्र तपस्याखर्चेर मार्कण्डेय ऋषि नरनारायणको
उदरभित्र पसे जस्तै गरी ती मन्दबुद्धि मानवहरु पनि
द्रव्य खर्च गरी तेरो उदरभित्र पस्दैछन् ।
दुर्वासाले श्रीकृष्णको नाकबाट भित्रपसी वर्षाैंसम्म घुमी
मोह भई चौद्घभुवनहरु देखे जस्तै् मनुष्यहरु पनि
तेरा द्वारबाट घुसेर नवनव लोकहरु हेर्दैछन् ।
ती मुक चातकहरु चन्द्रमाको सौन्दर्यमा मोह भएझैं
ती नरहरु पनि तेरो जठरभित्र पडीहरुको
छायामा व्यर्थ मोह भै रहेका छन् ।
धर्म क्षीण हुँदा धार्मिक जनहरु अमरावतीदेखि
पलभर नटिकी पृथ्वीमा ओर्लिए जस्तै गरी
द्रव्यरुपी धर्म क्षीण भएका मानवहरु पनि
तेरा नवद्वारबाट बाहिर निस्कदैछन् ।
संय मनीका कर्मचारीहरु जस्तो टिकट विक्रेताहरु पनि
दमणि मुताविक वस्ने ठाउँ तोक्दैछन् साथै,
थोरै धनले राम्रो आसन ताक्ने ती धृष्ठहरुलाई
यमदूतरुपी निरीक्षक रोक्दैछन् ।
कृपणि बनि वित्तसाठ्य गर्ने ती दम्भिहरु स्वर्गरुपी
हलमापनि मुण्टोठाडो गरी नरकयात्रा भोग्दैछन् ।
व्यासासनको सट्टा जिपासनमा बस्दै ती मूर्षखहरु हरि
कीर्तनको बदला तेरो मोहवर्धक किर्तन गर्दछन् ।
धार्मिकजनले तीर्थ यात्रा गरेझैं गरी ती पाखण्डीहरु
कोपरा बेची बेची तेरो धामको यात्रागर्दैछन् ।
कलो बजारीयाहरु टिकटको भाऊ बढाइ बेचेर
पण्डाले जस्तै करकाप गरी खल्तीभर्दैछन् ।
सौदामिनीको झिल्का जस्तो तेरो पेटको तेजले दृष्टिशक्ति
घट्दा प्रतिदिन पावरदार चश्मा लगाउने
चलन बढ्दा छन् ।
सहयात्रा : कपन बानेश्वर साहित्यिक साप्ताहिक