काठमाडौं बिक्रीमा छैन : भोलानाथ सुबेदी (कविता )

काठमाडौं बिक्रीमा छैन : भोलानाथ सुबेदी (कविता )
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर १६।
तिमीले घर बेचेका हौला
तिमीले जग्गा बेचेका हौला
किनबेचको मामला मलाई थाहा छैन
काठमाडौं बिक्रीमा छैन ।

बाटो बेचेर फुटपाथ हडप्नेहरु
अस्तव्यस्तमा लामो हात गर्नेहरु
अलिक ति तिम्रा सपनामा पानी छर्क
दायाँ फर्क बायाँ फर्क
स्वार्थले पैतला चाट्नु छैन
काठमाडौं बिक्रीमा छैन।

सडक वरिपरि फुलेका फूलहरु
माक्स बिना दौडेका पैतलाहरु
पुर्खाको दीर्घ साधना
मैलो पार्ने अधिकार कसैलाई छैन
काठमाडौं बिक्रीमा छैन
आफैं आहार खोजेर
भोको पेट भर्छ काठमाडौं
आफैं घन्टी बजाउँदै
सबैलाई बिउँझाउँछ काठमाडौं
बासना छर्दै फुलेको
सुगन्धितफूल बनेपछि
गौरवले मुस्काउन भएपनि
बिक्रीमा छैन काठमाडौं ।

कुकुरहरुलाई पनि कुटिनु परेको छैन
पैतलालाई पनि ठेस लागेको छैन
राँको बालेर निस्कननिहुँ छैन
अब किन विरोध हुन्छ महोदय
काठमाडौं बिक्रीमा छैन ।

सहयात्रा : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।