होमवर्क :परशुराम पराशर (बालकथा)

होमवर्क :परशुराम पराशर (बालकथा)

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक १९।

“दादा, चौतारामा पिङ् खेल्न जाने हो ?” राकेशले बिहानको खाजा खाएपछि हिमेशलाई भन्यो ।
“नाइँ, जान्नँ म कतै । यहाँ मेरो कत्ति होमवक गर्नुछ ।” हिमेशले भन्यो ।
“हा हा हा ! दसैँमा मावल आउँदा पनि होमवक !” राकेशले हाँस्दै भन्यो ।
राकेश र हिमेश दुवै दाजुबैनीका छोरा हुन् । उनीहरू एकै वर्षमा जन्मेका । बहिनी हिमा विवाह गरेदेखि काठमाडौँ बस्दै आएकी थिइन् भने दाइ रमेश गाउँमै खेतीकिसानी गरेर बसेका थिए । राकेश गाउँको सरकारी स्कुलमा कक्षा छमा पढ्छ । हिमेश चाहिँ काठमाडौँमै अङ्ग्रेजी बोर्डिङ स्कुलको कक्षा पाँचमा । राकेश पाँच वर्षको हुँदा एक कक्षामा भर्ना भएर सरासर पास हुँदै अहिले कक्षा छमा पुगेको छ तर हिमेश तीन वर्षको हुँदा नर्सरीमा भर्ना भई बल्ल कक्षा पाँचमा पुगेको छ । राकेशभन्दा हिमेश चार महिना जेठो छ ।
“किन हाँसेको भाइ ? यहाँ तिमीहरूलाई होमवक दिँदैनन् र ।” हिमेशले छक्क पर्दै सोध्यो ।
“दिनुहुन्छ नि तर यसरी गरेरै नसकिने चाहिँ हुँदैन । पहिलो दिनमा नै सकियो । दसैँमा यसरी होमवक दिने हो भने दसैँ दसैँ जस्तो नै हुँदैन नि । लेख्नेपढ्ने गर्ने कि टिका लगाउन मावल जाने ?”
“हामीलाई त सबै विषयको होमवक दिन्छन् । अनि सबै किताब र कापी बोक्नै पर्छ । सबैको गरेर कत्ति हुन्छ कत्ति ।”
“होमवक न सोमवक छाडिदिनुस् । रमाएर पो दसैँ मनाउने हो त । यसरी होमवकको पीडाले दसैँ लाई दुःखदायी बनाउनुहुँदैन । जाऊँ दाइ ! पिङ खेल्न । अहिले दश बजेतिर खाना खान आउनुपर्छ क्या ।”
“नाइँ नजाने । मलाई त पिङ खेल्न पनि आउँदैन । स्कुलको जस्तो सानो पिङ होइन होला ।”
“नाथे साङ्लाले बानेको पिङ ! त्यो त पिङ पनि होइन । यहाँको छओटा लिङ्गा भएको पिङ हेर्नु न कस्तो छ । खेल्न कत्ति मजा आउँछ ।”
“नाइँ, मलाई खेल्न डर लाग्छ । तिमी एक्लै जाऊ । म जान्न । म यहीँ होमवक गरेर बस्छु ।”
“नखेले पनि हेर्नमात्र भए पनि जाऊँ न, प्लिज ! म खेल्छु । तपाईं हेर्नुहोला ।” राकेशलाई आफ्नो क्षमता देखाउनु पनि थियो ।
राकेशले ढिपी गरेपछि भने हिमेश खेल्न होइन, हेर्नमात्रै जाने भयो । दुवै दाइभाइ खोलाछेउको चौतारातिर लागे । बाटामा गाईगोरु बाँधेका थिए ।
“नाइँ राकेश, गाईगोरुले हान्छन् । मलाई डर लाग्यो । म जान्नँ । म यहीँबाट फर्किन्छु ।”
“केही हुन्न, दाइ । म छु नि नडराउनुस् न । बरु तपाईं एक्लै फर्कनुभयो भने चाहिँ नयाँ मान्छे देखेर हान्छन् नि ।”
अब भने हिमेश कसैगरी पनि राकेशसँगै जानुपर्ने भयो । त्यहाँ राकेशले मज्जाले पिङ खेल्यो । ‘चचहुई सरर…’ भन्दै उठेर पनि मच्चायो । साथीहरूले पनि उसलाई हल्लाइदिए । सबैले रमाएर पालैपालो खेले तर हिमेश भने पर बसेर हेरिमात्र रह्यो । पिङमा खुट्टा पनि हालेन ।
पिङ खेलिसकेर राकेश खोलातिर लाग्यो । त्यो देखेर हिमेशले डराउँदै भन्यो– “ए, त्यहाँ त एनाकोन्डा र व्रmोकोडायल हुन्छ । ए भाइ नजाऊ ।”
“यहाँ पानी त यति थोरै छ । केको हुनु एनाकोन्डा ।” ऊ चप्पल खोलेर खोलामा पस्यो ।
“ए भाइ, मलाई डर लागिसक्यो । घर जाऊँ न । मेरो होमवक पनि गर्नुछ ।” –हिमेश घरीघरी घर जान जोड गरिरहन्थ्यो ।
“दाइ ! घर गएर खाना खाने अनि बजार जानुपर्छ है । त्यहाँ आज मेला लाग्छ । सतारको नाच हुन्छ । कस्तो रमाइलो पो हुन्छ त । हामी त सधैँ हेर्छौं । कत्ति मजा आउँछ ।” राकेशले भन्यो ।
“नाइँ नाइँ, आज कतै नजाने म त । खाना खाएर दिनभरि होमवक गर्छु । तीनचार दिन गरेर पनि नसकिने पो छ त ।” –हिमेशले लामो सास तानेर दुःख व्यक्त ग¥यो ।
“बल्ल बल्ल मावल आएको दादालाई केके देखाऊँ भनेको त होमवककै कुरा । दसैँमा त हामी घुम्ने हो । रमाइलो गर्ने हो । मेला हेर्ने हो । जिलेबी खाने हो । आज त कति सस्तो जिलेबी पनि किन्न पाइन्छ । साँझ परेपछि साथीहरूसँग गयो अनि सस्तोमा किन्यो खायो । कस्तो मज्जा आउँछ । जाऊँ न दादा, ल ।” राकेशले मुख मिठ्याउँदै रमाइलो कुरा ग¥यो ।
“राकेश भाइ, तिमीमात्र जाऊ म जान्नँ । सबै होमवक नगरे मिसले कुखुरा बनाउने भनेको छ । ममीले पनि गाली गर्नुहुन्छ ।” हिमेशले आफ्नो व्यथा बतायो ।
राकेशले हाँसेर भन्यो– “जिन्दगीमा रमाइलो चाहिँ नगर्नु रे ? । दिदीलाई भन्नू नि । वहाँले गाली गर्नुहुन्न र मिसलाई पनि त्यसो नगर्नु भनेर भनिदिनुहुन्छ ।”
गफ गर्दागर्दैै उनीहरू घरै आइपुगेछन् ।
घरमा आउनेबित्तिकै राकेशले भन्यो– “दिदी, ए दिदी ! म र हिमेश खाना खाएर बजार जाने है । सतारे नाच हेर्न ।”
“ए राकेश ! म पनि जान्छु । मैले पनि यो मेला नहेरेको आठ–नौ वर्ष भयो होला । तिमीहरू मात्र गयौ भने हराउन सक्छौ । फेरि यो हिमेश डर छेरुवा छ ।” दिदीले सहमति व्यक्त गर्नुभयो ।
“हुर्रा ! दिदी पनि जाने रे । दादा, कस्तो राम्रो नाच पो हुन्छ त । तपाईं र म जिलेबी पनि खाने है ।” राकेश रमायो ।
हिमेश भने अघि नै भित्र पसेर होमवक गर्न थालिसकेको थियो ।
बिहानको खाना खाएर एघार बजेतिर नै राकेश लुगा लगाएर ठिक्क प¥यो । उसले दिदीलाई भन्यो– “छिटो जाऊँ न दिदी । बजारमा साथीहरू पनि आउँछन् । उनीहरूसँग हिमेशको पनि परिचय गराइदिन्छु ।”
दिदीले हाँस्दै भन्नुभयो– “ल, अब जाने । म ठिक परिहाल्छु । हिमेश कता गयो । उसलाई पनि ठिक पर् भन् है भाइ । मेरो भाइ बाठो छ ।”
हिमेश, राकेश र हिमा दिदी बजार गए । त्यहाँ मेला लागेको थियो । एउटा खुला ठाउँमा सतारहरू मादल र अरू केके बजाएर समूहमा नाचिरहेका थिए । राकेशले भित्रै पसेर हे¥यो । हिमेश चाहिँ डरले भित्रे पसेन । उसको मन सन्थाल नाचले त्यत्ति तानेको जस्तो लागेको थिएन ।
“हेर्नू दादा, यहाँ त कति राम्रो रहेछ । अहिले भरे जादु पनि देखाउँछन् । साँझसम्म हेर्नुपर्छ है ।” राकेशले भन्यो ।
हिमेशले आमालाई भन्यो– “ममी हामी घर जाऊँ न । मेरो होमवक कत्ति छ । आधा पनि गरेको छैन ।”
“केको होमवक होमवक मात्र भनेको नि दादा ! कत्ति ठाउँमा नाच्छन् । भरे बेलुकासम्म बसेर सबै नाच हेर्नुपर्छ ।” राकेशले हिमेशलाई भन्यो ।
“हेर्न यहाँ कत्ति राम्रो नाच रहेछ । म भिडियो बनाउँछु । तँ पनि राकेशको जस्तै उनीहरू नाचेकै ठाउँमा जा त हिमेश ।” हिमाले भनिन् ।
“नाइँ ममी म जान्न । डर लाग्छ । बरु घर जाऊँ न । नभए मलाई घर पु¥याएर आइज भन्नू न राकेशलाई । म उहीँ होमवक गर्दै बस्छु ।”
हिमेशका कुरा दुःख लाग्दा थिए । ‘कसैलाई के धन्दा, घरज्वाइँलाई खानकै धन्दा’ भने झैँ यस्तो रमाइलो हेर्नुपर्ने अवस्थामा पनि ऊ चाहिँ हरपल होमवक नै सम्झिरहन्थ्यो ।
हिमाले भनिन्– “म स्कुलमा भनिदिउँला । हिमेशले मावल जाँदा किताब लान बिर्सेछ र होमवक गरेन भनेर । अहिले चाहिँ यहाँका नाच हेरौँ न ।”
“साँच्चै हो त ममी ! नत्र मलाई पनि यहीँ राकेश पढ्ने स्कुमा भर्ना गरिदिनू न त । यहाँ त थोरै होमवक दिँदा रैछन् ।” हिमेश खुसी हुँदै बोल्यो ।
“म आफैँ स्कुलमा गएर प्रिन्सिपल सरलाई नै भनिदिन्छु । तँ यहाँको स्कुलमा पढ्ने कुरै नगर् ।”
उनलाई पनि दिक्क लागेछ कि क्या हो फेरि भनिन्– “स्कुलले पनि कत्ति गृहकार्य दिएको ? बिचरा ! यस्तो रमाइलो गर्नुपर्ने ठाउँमा पनि गृहकार्यकै चिन्ता लिनुपर्ने ।” हिमाले यसो भनिरँहँदा हिमेश खुसी भइसकेको थियो । ऊ पनि राकेश सँगसँगै रमाउँदै सतारनाच हेर्न थाल्यो ।

तपाइँको प्रतिक्रिया ।