मुक्तककार त्रिलोचनको ‘विनासर्त’ अवलोकन : ठाकुर शर्मा भण्डारी (समिक्षा )

मुक्तककार त्रिलोचनको ‘विनासर्त’ अवलोकन : ठाकुर शर्मा भण्डारी (समिक्षा )
कपन अनलाइन
काठमाण्डौ ,असोज २७।
१. विषयप्रवेश
नेपाली साहित्यमा मुक्तकको इतिहास हेर्दा प्राथमिक कालदेखि सुरु भएर आधुनिक कालसम्म अर्थात् १८२६ सालदेखि वि.सं. २०१० सम्म लामो इतिहास बनेको छ । विविध उतारचढाव व्यहोर्दै आएको मुक्तकले तीन हरफदेखि सात/आठ पङ्तिसम्मका मुक्तक लेख्ने गरेको पाइन्छ । वि.सं.२००९ सालतिर प्रगति पत्रिकामा मुक्तककार भीमदर्शन रोकाले चतुष्पदीको सुरुवात गरेको स्मरणीय रहेको छ । कविताको लघु रूपलेखनमा भीमदर्शन रोका, टेकबहादुर वीन, रत्नशमशेर थापा, कृष्णप्रसाद पराजुली, भूपि शेरचन, हरिभक्त कटुवाल, मोहनहिमांशु थापा, चेतन कार्की, यादव खरेललगायतले अगाडि बढाएको मुक्तकलेखन हाल आएर यसमा वहार नै आएको छ र यसमा पनि मुक्तक प्रतिष्ठानले पोखरा सम्मेलनमा चतुष्पदी मुक्तकको अवधारणालाई प्राथमिकताका साथ अग्रगति दिने प्रयास गरेको छ । अहिले मुक्तकसम्बन्धी संस्थाहरू, अनेक गोष्ठीहरू हुँदै आएका छन् । चतुष्पदी मुक्तकमा पहिलो हरफमा विषयवस्तुको उठान, दोस्रो हरफले त्यसको समर्थन र गतिदिने काम, तेस्रोमा अभिव्यञ्जकताका साथै विषयवस्तुको उद्देश्यपरिपूर्तिका लागि वातावरणको सृजना गर्दछ भने चौथो हरफले चोटिलो अभिव्यक्तिद्वारा चट्यााङ परे भैmँ गरी झड्का दिई जिज्ञासाको अन्त्य गर्नु मुक्तकको विशेषता मान्न सकिन्छ । अहिले छन्दमा पनि मुक्तकलेखन प्रारम्भ भएको छ र यस पङ्क्तिकारको पनि २०७३ सालमा पद्यमुक्तक शीर्षकमा शस्त्रीयछन्दमा मुक्तकसङ्ग्रह आएको थियो, जसमा राष्ट्रकवि माधव घिमिरेको आशीर्वचन रहेको छ । त्यस्तै शास्त्रीयछन्दको प्रयोग गरेर चतुष्पदीय मुक्तकहरूको सँगालो छन्दलाई निरन्तरता दिने प्रसिद्ध कवि त्रिलोचन आचार्यको ‘विनासर्त’ शीर्षकको मुक्तकसङ्ग्रह (२०७९) नेपाली साहित्यको फाँटमा आएको छ ।
२. स्रष्टाको सङ्क्षिप्त परिचय
पिता बलभद्र आचार्य, माता टङ्ककुमारी आचार्यका सुपुत्र कवि त्रिलोचन आचार्यको जन्म २०२१ साल चैत्र १० गते इन्द्रावती गाउँपालिका वडा नं. १०, सिपाबडरे सिन्धुपाल्चोकमा भएको हो । हाल ः बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ कपन सुनगाभाटोल काठमाडौँमा बसोवास रहेको छ ।
ताता हुन्नन् दिन यदि भने घामको काम छैन
खस्छन् छाना खुरुखुरु भने थामको काम छैन ।
होला ठान्छन् सकल धनले दर्बिलो योगदान
अर्बौंवाला पनि खुप सुते दामको काम छैन ।   (पृष्ठ ६७÷श्लोक १९९)
यस्तो सुन्दर कविता सृजना गर्ने कवि त्रिलोचन आचार्यद्वारा आजसम्म प्रकाशित कृतिहरू हुन् ः माटाको बास्ना (कवितासङ्ग्रह, २०५६), छायाछवि (कवितासङ्ग्रह, २०५९), आमाविनाको घर (खण्डकाव्य, २०६०), सोह्र सौगात (निबन्धसङ्ग्रह, २०६३), समयलाई सम्बोधन (कवितासङ्ग्रह, २०६६), धर्ती र म –खण्डकाव्य, २०७०), छन्दका सय थुँगा (कवितासङ्ग्रह, २०७६) र ‘विनासर्त’ (मुक्तकसङ्ग्रह २०७९) ।
नेपाली साहित्यको सेवा गरेवापत विभिन्न सङ्घ÷संस्थाहरूबाट प्राप्त पुरस्कार÷सम्मानहरूमा ः सिन्धुमिलन कविता प्रतियोगितामा प्रथम (२०५३), निजामती कर्मचारी निबन्ध र कविता प्रतियोगितामा पुस्कृत, भानुभक्त काव्य पुरस्कार (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय), राष्ट्रिय कविता महोत्सवमा तृतीय (२०७३), महाकवि देवकोटा पुरस्कार (संस्कृति मन्त्रालय, २०७७) आदि रहेका छन् ।
३. ‘विनासर्त’ कवितासङ्ग्रहभित्रको अग्रलेखमा द्र्रष्टादृष्टि
नेपाल प्रज्ञाप्रतिष्ठानका तत्कालीन कुलपति श्री गङ्गाप्रसाद उप्रेतीद्वारा दिइएको ‘शुभकामना’मा भनिएको छ ः मुक्तकका विशेषताहरूलाई आत्मसात गर्दै सुन्दर मुक्तक रचना गर्ने काम सृजनात्मक दृष्टिकोणबाट सहज कार्य होइन । त्यसमाथि छन्दमा मुक्तक रचना गर्ने काम झन् जटिल र चुनौतीपूर्ण नै हुन्छ । यस अर्थमा ‘विनासर्त’ मुक्तकसङ्ग्रहको रचना र प्रकाशन आफैमा प्रशंसनीय कार्य हो । स्रष्टा आचार्य नेपाली मुक्तकलेखनका दरिलो खम्बा भएको कुरा यसले पुष्टि गरेको छ । (पृष्ठ ग)
साहित्यकार श्री नारायण नेपालद्वारा लेखिएको ‘मनसाँगु’ शीर्षकमा भनिएको छ ः विषयबोध, सन्दर्भ संयोजन, भाव, विम्ब र लयको तुकले रसदार सिर्जना पस्कने कार्य लर्तरो भने होइन । यस परिप्रेक्ष्यमा हजजलगायत केही औँलाभर बहरमा लेखिने गरेको प्राचीन रुवाईको स्वाद मुक्तकिला चस्काहरूमा फिजाउने कृतिकार त्रिलोचन आचार्यको यो छान्दिक कृति मननयोग्य एवं स्तुत्य छ । (पृष्ठ घ)
“छन्दमा कविता लेख्ने प्रयासहरू गरिरहेको  भए तापनि छन्दमा मुक्तक लेख्ने यो मेरो पहिलो प्रयास हो ।” भन्ने त्रिलोचन आचार्यको मुक्तकीय लीला प्रशंसनीय छ । किनकि –
आकाश टेकेर प्रकाश आओस्÷बास्ना सजाएर बतास आओस्
बान्की खुली आउनुपर्छ पर्छ÷आओस् जताबाट, सुवास आओस् (पृष्ठ २१÷श्लोक ६२)
यमकीय शैलीका कविता लेख्ने कविप्रति उपर्युक्त द्रष्टादृष्टिमा पनि उनको लेखनको विशेषतालाई स्पष्टतया उजिल्याउने काम गरिएको छ भने कृतिलाई आद्योपान्त अवलोकन गर्दा छन्दमा यस्ता सुन्दर अभिव्यक्ति दिनु महनीय कार्य भएको छ । नेपाली साहित्यको फाँटमा नवीनतम कृति आएको छ ‘विनासर्त’ ।
४. ‘विनासर्त’ मुक्तकसङ्ग्रहको विषयसन्दर्भ
त्रिलोचन आचार्यद्वारा लिखित ‘विनासर्त’ कृतिभित्र २०७७ साल भाद्र महिनाको १ गतेदेखि २० गतेसम्म लेखिएका रचना हुन् भनिएको छ कविद्वारा । यति छोटो समयावधिभित्र छन्दमा मुक्तकलाई ढालेर लेखिएको यो कृतिमा पाँच अक्षरको चरणदेखि एक्काइस अक्षरसम्मको चरण भएका छन्दहरूको प्रयोग गरिएको छ । प्रत्येक छन्दका छ÷छवटा पद्यहरू समाविष्ट गरिएको छ । दुई सय चालिस मुक्तकीय पद्यहरू यसमा राखिएका छन् ।
पाँच अक्षरका ‘सम्मोहा’ ‘यमक’ छन्द रहेका छन् । उदाहरणस्वरूप मुक्तक हेरौँ –
नालापानीमा÷बैरीघानीमा÷लड्ने हामी हौँ÷ताताखानीमा । (पृष्ठ १÷श्लोक ३)
यस्तै छ अक्षरको ‘सोमराजी’ छन्द छ भने सात अक्षरको ‘मालिका’ आठ अक्षरका ‘प्रमाणिका’ र ‘अनुष्टुप्’ छन्द रहेका छन् । सत्यको मार्ग छाड्नुहुन्न भन्ने धारणमा मुक्तक यस्तो छ ः
हिमाल बस्छ बस्न द्यौ÷पहाड धस्छ धस्न द्यौ
नछोड सत्यको पथ÷आकाश खस्छ खस्न द्यौ ।  (पृष्ठ १०÷श्लोक २८)
नौ अक्षरका ‘मणिमध्य’ र ‘रूपामाली’ दश अक्षरका ‘चम्पकमाला’ ‘हंसी’ र ‘सारवती’ छन्द रहेका छन् । समाजमा भएको विकृतिलाई कविले यसरी उतारेका छन् ः
धूर्तहरू जति चर्नु चरे÷झेल कुरा अति गर्नु गरे,
भो अभियान यता ननिको÷भै अभिमन्यु त मर्नु मरे ।  (पृष्ठ २०÷श्लोक ५९)
एघार अक्षरका ‘इन्द्रबज्रा’ ‘उपेन्द्रबज्रा’ ‘उपजाति’ र ‘शालिनी’ बाह्र अक्षरका ‘इन्द्रवंशा’ ‘उपजाति’ ‘वंशस्थ’ ‘भुजङ्गप्रयात’ ‘विभावरी’ ‘द्रुतविलम्बित’ ‘कुकुमविचित्रा’ ‘ललना’ ‘ललिता’ ‘स्रग्विणी’ आदि छन्द रहेका छन्, जसमा कविले सामाजिक विषयवस्तुमा पनि मूलतः देशको विषयलाई लिएर मानिसले केवल आफैलाई मात्र हुने काम गरेको र लुट, मस्तीलाई प्रश्रय दिएको कुरा उठाएका छन् । यस सन्दर्भमा कवि यसरी व्यक्त गर्छन् ः
आगो बनेर उठ यो धरा उठोस्
धागो बनेर बस यो धरा बसोस् ।
जस्तो गरे मनुजले हुने भए
राँको बनेर कुद यो धरा कुदोस् ।     (पृष्ठ ४६÷श्लोक १३७)
तेह्र अक्षरका ‘कन्द’ र ‘मञ्जुभाषिणी’ दुई छन्द रहेका छन् र चौध अक्षरका ‘वसन्ततिलका’ ‘नान्दीमुखी’ छन्द रहेका छन् । राजनीतिको विषय बनाएर गरेका कामहरूको सङ्केत गर्दै सरकारप्रति व्यङ्ग्य यसरी गरिएको छ ः
आयो बनेर सरकार चुनावबाट
छायो असाध्य दमदार चुनावबाट ।
गायो खुल्यो सकल रङ्ग तरङ्ग फैल्यो
भ्यायो किनेर दरबार चुनावबाट ।   (पृष्ठ ५२÷श्लोक १५९)
यसैगरी पन्ध्र अक्षरका ‘लीलाखेल’ ‘मालिनी’ दुई छन्द छन् भने सोह्र अक्षरका ‘पञ्चचामर’ ‘विधाता’ दुई छन्द, सत्र अक्षरका ‘मन्दाक्रान्ता’ ‘शिखरिणी’ दुई छन्द रहेका
छन् । यस सन्दर्भमा कविको दृष्टिकोण यस्तो रहेको छ ः
खाडी पुग्दै कतिकति फँसे, थेग्न सर्कार छैन
सीमा नाघी कतिकति पसे, छेक्न सर्कार छैन ।
छाती कुल्ची पर जन हिँडे छैन चिन्ता र चासो
गाईजात्रा अटुट छ यहाँ देख्न सर्कार छैन ।    (पृष्ठ ६८÷श्लोक २०३)
अठार अक्षरको ‘कुसुमितलतावेल्लिता’ एक र उन्नाइस अक्षरका ‘छाया’ ‘मेघविस्पूmर्जिता’ ‘शार्दूलविक्रीडित’ तीन छन्दको प्रयोग भएको छ भने एक्काइस अक्षरको ‘स्रग्धरा’ एक छन्दको मात्र प्रयोग गरेर यस मुक्तकसङ्ग्रहलाई सजाइएको छ । यीमध्ये कविको भावनालाई उद्बोधन गर्ने एउटा उदाहरण हेरौँ ः
सक्छौ क्यै गर किन्तु गर्न नसके हाँसेर जाऊ तिमी
जानै पर्छ परन्तु प्रेम सरिता गाँसेर जाऊ तिमी ।
यो संसार अपार पार नहुँदै जानै छ टाढा कतै
फोटा सुन्दर कामले घरघरै टाँसेर जाऊ तिमी ।  (पृष्ठ ७८÷श्लोक २३३)
यसरी संरचनागत दृष्टिकोणबाट कठिन छन्दको प्रयोग गरेर मुक्तकमा कवितालाई ढाल्नु नै यसकोे मुख्य विशेषता हो । विषयवस्तु नेपाली समाज हो तापनि कतिपय कविताले वैश्विक परम्परालाई पनि उद्बोधन गर्दछन् । यस्ता अनेकौँ उदाहरण छन् कविताका बान्कीहरूमा । यसको भिन्न भिन्न भाव मुक्तताको परिधि अर्थात् एक चतुष्पदीको अर्को चतुष्पदीको भाव–शृङ्खला फरक पारेर रचिएका पद्यमय मुक्तकहरू यहाँ राखिएका छन् । अत्यन्त परिष्कृत भाव र शैलीमा विविध विम्ब–प्रतीकहरूको प्रयोग गरेर मुक्तक आएका छन् । मुक्तकको मुख्य विषय राजनीतिक चेतनाको कमी ल्याएको समाजको विसङ्गत अवस्थालाई शालीन तरिकाबाट व्यङ्ग्यप्रहार गरिएको छ । मानवीय स्वभावलाई विशेष गरेर लक्ष्य गरिएका यी मुक्तकहरूले आशावादिताको ढोका उघार्न सहयोग अवश्य पनि पु¥याउनेछन् ।
५. कवितात्मक अभिव्यक्ति
‘विनासर्त’ कवितासङ्ग्रहका यी मुक्तकहरूले अवश्य पनि पाठकवर्गलाई आकर्षण गर्नेछन् । विशेष गरेर कविता, काव्यमा निरन्तर लागिरहेका प्रसिद्ध कविको पद्यमय मुक्तकहरूले नेपाली समाज, मानवीय प्रवृत्ति, देशको सौन्दर्य, देशप्रतिको प्रेमलाई अत्यन्त राम्रोसँग सजाइएको छ । यसै सन्दर्भलाई लिएर कवितात्मक भावना व्यक्त गर्ने प्रयासका साथै यो सङ्क्षिप्त लेखनबाट विश्राम लिन्छु ।
स्रष्टा हिँड्छन् ‘विनासर्त’ मुक्तकमा त्रिलोचन
अनेकौँ द्वन्द्वका साथ रमाउँछन् त्रिलोचन ।
मुक्तमाला बनाएर काव्यात्मक स्वरूपमा
समाजभित्रको कथ्य गाउँछन् ती त्रिलोचन ।१।
धेरै छन् छन्दका बान्की विचारी हुन् त्रिलोचन
भाव–गम्भीरताभित्र प्रेम बाँड्छन् त्रिलोचन ।
देशको सभ्यताचित्र विचित्रता सजाउँदा
वार्णिक–शब्द–तात्त्विक–वाक्यमा छन् त्रिलोचन ।२।
व्यञ्जनात्मक सौन्दर्य प्रत्येक छन्द–सारमा
सम्झना–योग्य चातुर्य भावुक छन्द–सारमा ।
सृजना–श्रुति–माधुर्य बनेका पद्य छन् सबै
शालीन–धारणा–धार–मुक्तक–नाद–सारमा ।३।
पाँचौँ वर्ण रहोस् चाहे होस् एक्काइस छन्दको
पदलालित्य ल्याएर आकर्षण छ छन्दको ।
काव्यिक सिर्जनाभित्र ‘त्रिलोचन’ रमाउँछन्
‘विनासर्त’ चलेको छ फर्माइस छ छन्दको ।४।
यस्तो सुन्दर यात्रामा लागेका छन् त्रिलोचन
सबै सर्जकलाई नै डो¥याउँछन् त्रिलोचन ।
अन्तर्हृदयले भन्छ– वन्दना छ सधैँभरि
बधाई छ बधाई छ बधाई छ त्रिलोचन ! ।५।
तपाइँको प्रतिक्रिया ।