दुःख: कुमार काफ्ले (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,असोज २७।
चाडपर्व आउँदा देवीराज त्यसैत्यसै बिरक्तिन्छन् । पहिलेपहिले साथमा धनसम्पत्ति थियोे, सबै साथ थिए । श्रीमती रोगले थलिएपछि रोगको निदान, उपचारमा थुप्रै पैसा सकियो । र, पछि मिर्गौला फेल भएको थाहा भएपछि हप्तैपिच्छे डायलासिस गर्नुपर्दा कमाएको, भएको श्रीसम्पत्ति सब स्वाहा भयो । त्यसपछि उनले प्यारी जीवन– सङ्गिनीको डायलासिस गर्न सकेनन् । अन्तमा श्रीमतीले संसार छोडेर गईन् । त्यसलगत्तै सरकारले डायलासिस निःशुल्क गरिदियो । उनलाई ठूलो पछुतो भयो । अहिले पनि छँदैछ ।
दशैंमा आफन्तहरू कमै आए । तीन तिहार भए बहिनी टीका लगाउन नआएकी अनि उनको गला र निधार रित्तै भएको । उमेरले तीन वर्षले कान्छी बहिनीको नाम हीरा भएपनि उनी सधैं ‘सानी’ भनेर बोलाउँथे । सानैदेखि दाजुबहिनीको खुबै मिल्ती थियोे । हुन त तिहारमा ऊ आफैं चेलीकोमा जानुपर्ने हो तर खल्च्याङ खल्च्याङ खोचिने खुट्टोले रोगी ज्यान धानेर तीन डाँडापरि बहिनीकोमा जाने उसको हिम्मत भएन । सक्दाहुँदी गएका पनि हुन् ।
नौं दश वर्षअघि बहिनीले टीका लाइदे’को फोटो हेर्दै टोलाइरहेका थिए । फोटो हेर्दाहेर्दै बेलाबेला
मुस्कुराउँथे । पोहोर झैँ यो साल पनि आफ्नो निधार र गला रित्तै हुने भो भन्ने सोच्दै टोलाउँथे घरिघरि । देउसी भैलो खेल्ने टोलीले पनि आफ्नो घर छुट्याउँदा उनको मन नराम्ररी कुँडिन्थ्यो । उनलाई बेलाबेलामा यस्तो विचार आउँथ्यो, ’सुख पा’कि बैनी, यो दुःख पा’को दाइकोमा किन पो आउँथी !’
मनमा अनेक कुरा खेलेकाले होला ! उनलाई राति राम्रो निद्रा परेन । खासै बिसञ्चो नभएपनि देवीराज दिउँसै ओछ्यानमा ढल्किए । ’दाजु, दाजु’ भनेर कसैले बोलाए जस्तो लाग्यो । यसो टाउको उठाएर हेर्दा त आफ्नै बहिनी पो रहिछे ! दिन ढल्नै लागेको रहेछ ।
‘म त यसपनलि नि तँ आउँदिनस् होला भन्ठानेर सुतेको थेँ, भुसुक्कै निदा’छु ।’ भन्दै उठे । उनको मुहारमा छुट्टै आभा देखिन्थ्यो ।
‘के गर्नु दाजु ! परार साल मै थलामा परें, बल्लतल्ल तीन महिनामा उठें । पोहोर साल ज्वाईं बिते, यसपालि सकिनसकी आइपुगें ।
‘मलाई त मेरै दुःख ठूला लाग्थे तर तेरा पनि कमका रैनर’छन् सानी !’
सहकार्य : कपन बानेश्वर साहित्यीक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।